पीएनजीविरुद्ध पाँच विकेट लिएका करण भन्छन्- आजको खेल करिअरकै स्पेशल – Nepal Press

पीएनजीविरुद्ध पाँच विकेट लिएका करण भन्छन्- आजको खेल करिअरकै स्पेशल

काठमाडौं । पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका बलर करण केसीले आजको खेल अहिलेसम्मकै ‘स्पेशल’ भएको प्रतिक्रिया दिएका छन् । यस्तो सफलताको अपेक्षा कहिल्यै नगरेको उनले बताए ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार नेपालले पिएनजीलाई ३७ रनले हराउँदा करण एक्लैले पाँच विकेट लिएका थिए । उनले २०औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए ।

म्याचपछि आफ्नो उत्कृष्ट प्रदर्शन बारेमा बोल्दै करणले आफु यत्तिको सफल हुने अपेक्षा नगरेको बताएका छन् ।

उनले भने, ‘क्रिकेट करिअर सुरु गर्दा म यहाँ पुग्छु भनेर सोचेको थिइनँ । खेल्दै जाउँ के हुन्छ भन्ने थियो । तर मिहिनेतले यो सम्भव भयो ।

करणले थपे, ‘ह्याट्रिक र पाँच विकेट मेरो लागि असाध्यै स्पेसल थियो । यो टि-२०मा मेरो अहिलेसम्मकै बेस्ट फिगर हो त्यसैले खुसी छु । भविष्यमा अझै ४/५ वटा खेलहरुमा यस्तै प्रदर्शन गर्न चाहन्छु ।’

ह्याट्रिक लिने बेलामा फास्ट बल फाल्यो भने ब्याट्सम्यानले डिफेन्स गर्छ भन्ने लागेर स्लो बल फ्याकेको उनले बताए ।

‘फिल्डीङ प्लान थियो, कतातिर ब्याट्सम्यानले हान्न सक्छ भन्ने अनुमान लगाएका थियौं,’ उनले भने, ‘ह्याट्रिक बलमा ब्याट्सम्यानले सट हान्नेबित्तिकै मैले सेलिब्रेट गरेको थिएँ, किनकी फिल्डमा दिपेन्द्र थियो । अरु कोही भएको भए क्याच नहुन सक्थ्यो । तर उस्ले क्याच मिस गदैन भन्नेमा विश्वस्त थिएँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर