धानुक, सिंह र पन्त एआईजीमा बढुवा – Nepal Press

धानुक, सिंह र पन्त एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षकमा वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुक बढुवा भएका छन्।

मन्त्रिपरिषद्को विहीबार बिहान बसेको बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि बढुवा समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

लोक सेवा आयोगले वरिष्ठताका आधारमा सिफारिस नगरेको भन्दै आयोगमा परेको उजुरी खारेज गर्दै उनीहरूको बढुवा सिफारिस सदर गरेको थियो ।

कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीलगायतले लोकसेवा आयोगमा उजुरी दिएका थिए ।

उजुरी सुन्ने समितिको सिफारिस सदरसँगै सरकारले आज उनीहरूलाई बढुवा गरेको हो ।

सरकारले एआईजीका तीनवटा दरबन्दी थप गरेपछि बढुवा समितिले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा भएकामध्ये पन्तले आगामी वैशाख १८ गते अवकाश पाउँदैछन् भने धानुक र सिंहको सेवा अवधि २०७९ चैतसम्म छ ।

अब नेपाल प्रहरीमा एआईजीको दरबन्दी ८ पुगेको छ । एआईजीहरु हरि पाल, प्रधुम्न कार्की, निरज शाही र पन्तले आगामी वैशाख १८ मा अवकाश पाउँदैछन् । धानुक, सिंहसहित वर्तमान एआईजीहरू सहकुल थापा र विश्वराज पोखरेलमध्येबाट एकजना आईजीपी नियुक्त हुने छन्

यीमध्ये पोखरेल ज्येष्ठता र वरिष्ठतामा अगाडि छन् । यसअघि दुईजना एआईजीबीच प्रतिस्पर्धा देखिएकामा सरकारले अचानक तीनवटा दरबन्दी थपेर सिंह र धानुकलाई पनि प्रतिस्पर्धामा ल्याएको छ । प्रहरी नियमावलीमा उपलब्ध एआईजीहरूमध्येबाट एकजनालाई आईजीपी नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर