स्थानीय तहमा गठबन्धन कसरी ? दलहरूका आ-आफ्नै ‘मोडालिटी’ – Nepal Press

स्थानीय तहमा गठबन्धन कसरी ? दलहरूका आ-आफ्नै ‘मोडालिटी’

कैलाली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दलबीच गठबन्धन हुने निश्चित भएसँगै यसको मोडालिटीबारे चर्चा सुरू भएको छ । नेपाली कांग्रेसको हिजोको वैठकले स्थानीय आवश्यकता अनुसार गठवन्धन गर्ने निर्णय लिएको थियो ।

निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुने भएको हो । गठबन्धनको सैद्धान्तिक निर्णय भए पनि यसबारे दलहरूबीच मुर्त छलफल भने सुरू भएको छैन ।

नेपाली कांग्रेस र माओवादीले स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्नुपर्ने बताउँदै आइरहेका छन् । एकीकृत समाजवादीले भने सबै स्थानीय तहको वडास्तरसम्मै गठबन्धन गर्नुपर्नेमा जोड दिएको छ ।

एकीकृत समाजवादीका सचिवसमेत रहेका प्रमुख सचेतक जीवनराम श्रेष्ठले वडास्तर सम्मै गठबन्धन गर्नुपर्ने पार्टीको धारणा रहेको बताए । तर, यस विषयमा गठबन्धनमा छलफल हुने र साझा धारणा बन्ने उनको विश्वास छ ।

‘गठबन्धन गर्ने कुरामा हाम्रो पार्टीमा नीतिगत निर्णय भइसकेको छ । अब गठबन्धनका उच्चस्तरीय नेताहरू बसेर कसरी गठबन्धन गर्ने भन्ने बारे निर्णय गर्नहुन्छ,’ उनी भन्छन्, ‘पहिले एमालेले जितेका स्थानीय तहमा हामीले पाउनु पर्ने र वडास्तर सम्ममै गठबन्धन गर्नु पर्ने हाम्रो मान्यता हो तर, छलफलमा बसेपछि साझा धारणा बन्छ ।’

काग्रेसबाहेकका दलहरूले गठबन्धन गरेर निर्वाचनमा जानेमा पहिल्यै मनस्थित बनाइसकेको उल्लेख गर्दै उनले भने, ‘काँग्रेसमै कुरा रोकिएको थियो । उहाँहरूको पनि निर्णय भइसकेको छ । अब एक-दुई दिनमै साझा कुरा आउँछ ।’

एकीकृत साजवादीका नेताले ७५३ वटै स्थानीय तह र त्यसको वडा सम्ममै पाँच दलीय गठबन्धन हुनु पर्ने बताए पनि काँग्रेस र माओवादीको भने आफ्नै मोडालिटी रहेको छ ।

माओवादीले स्थानीय आवश्यकताको आधारमा गठबन्धन हुन सक्ने जनाएको छ ।

‘सबै ठाउँमा एकैरूपले गठबन्धन हुँदैन । त्यही भएर हामी (माओवादी) स्थानीय आवश्यकताअनुसार नै गठबन्धन गर्नुपर्ने पक्षमा छ,’ माओवादी नेता हरिबोल गजुरेलले भने, ‘प्रतिगमनकारी शक्तिलाई कमजोर गर्ने गरी हामी गठबन्धन गर्छौं ।’

उनले गठवन्धनका दलहरू एक्लै बलियो रहेको स्थानीय तहमा गठबन्धन नहुनसक्ने संकेत गरे । एमाले बलियो भएका स्थानीय तहमा भने अनिवार्य गठबन्धन हुन सक्ने उनको भनाइ छ । चैत्र अन्तिम सम्ममा गठबन्धनको मोडालिटी र भागबन्डा टुंगिसक्ने गजुरेलले दाबी गरे ।

माओवादीले भने जस्तै काँग्रेसले पनि ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्न सक्ने’ निर्णय गरेको छ ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ’, काँग्रेसको निर्णयमा भनिएको छ ।

कांग्रेस नेता रमेश लेखक गठबन्धनका अन्य दलहरूलाई पनि सहज हुने गरी चुनावी तालमेल हुन सक्ने बताउँछन् ।

‘आवश्यकता र अवस्थाको आधारमा तालमेल हुन सक्छ,’ उनले भने, ‘हाम्रो पार्टीले यस विषयमा निर्णय नै गरिसकेको छ ।’

नेता लेखकले कसरी र कहाँ-कहाँ गठबन्धन गर्ने भन्नेबारे चाँडै गठबन्धनका दलहरूबीच छलफल सुरू हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर