चल्तीका कुन स्टारका टिम विश्वकपमा पुगे, को असफल भए ? – Nepal Press

चल्तीका कुन स्टारका टिम विश्वकपमा पुगे, को असफल भए ?

काठमाडाै‌ं । फिफा विश्वकप फुटबल २०२२ मा सहभागी हुने ३२ मध्ये २७ टोलीको टुंगो लागेको छ। महादेशीय छनोटबाट सोझै पुग्ने २९ मध्ये २६ टोलीको टुंगो लागिसकेको छ।

एसियाबाट ४, दक्षिण अमेरिकाबाट ४, युरोपबाट १३ मध्येबाट १२ र अफ्रिकाबाट ५ टोलीको टुंगो लागेको छ। उत्तर, मध्य तथा क्यारेबियन क्षेत्रबाट सोझै छनोट हुने तीनमध्ये एक टोलीको मात्र टुंगो लागेको छ। कतार आयोजकका रुपमा छनोट भइसकेको छ।

एसियाबाट इरान, दक्षिण कोरिया, साउदी अरब र जापानले विश्वकपमा स्थान बनाएका छन्। अब यूएई र अस्ट्रेलियाबीच हुने खेलको विजेताले विश्वकपमा स्थान बनाउन दक्षिण अमेरिकी टोली पेरुसँग प्रतिस्पर्धा गर्ने छ।

यसैगरी युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल र पोल्यान्ड विश्वकप पुगेका छन्। अब युक्रेन र स्कटल्यान्डबीच हुने खेलको विजेता र वेल्सबीच हुने खेलको विजेता विश्वकप पुग्ने अन्तिम युरोपियन टोली बन्ने छ।

यता अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरुन विश्वकप पुगेका छन्। दक्षिण अमेरिकाबाट शीर्ष चार टोलीका रुपमा ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडरले स्थान बनाएका छन्। उत्तर, मध्य तथा क्यारेबियन क्षेत्रबाट क्यानडाले मात्र स्थान पक्का गरेको छ।

तेस्रो चरणको छनोटमा ८ टोलीबीच डबल राउन्ड रोबिन लिग भइरहेका बेला क्यानडाको १३ खेलबाट २८ अंक छ। समान खेलबाट २५ अंक भएको संयुक्त राज्य अमेरिका दोस्रो र मेक्सिको तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको कोस्टारिकाको १३ खेलबाट २२ अंक छ। लिग चरणको अन्तिम खेलमा संयुक्त राज्य अमेरिकाले कोस्टारिका र मेक्सिकोले एल साल्भाडोरसँग खेल्ने छ।

तालिकाको चौथो स्थानमा रहने टोलीले ओसियाना क्षेत्रको विजेतासँग विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्ने छ। ओसियाना क्षेत्रको फाइनलमा न्युजिल्यान्ड र सोलोमन आइसल्यान्ड्स पुगेका छन्।

यसपटक युरोकप विजेता इटालीले विश्वकपमा स्थान बनाउन सकेन। युरोपको महादेशीय छनोटअन्तर्गत समूह उपविजेताबीच भएको प्ले अफ सेमिफाइनलमा नर्दन मेसेडोनियाले इटालीलाई हराएको थियो। नर्दन मेसेडोनियालाई प्ले अफ फाइनलमा पराजित गर्दै पोर्चुगलले विश्वकपमा स्थान पक्का गरेको छ। क्रिस्टियानो रोनाल्डोको यो पाचौँ विश्वकप सहभागिता हुने छ। उनी सन् २००६ देखि लगातार विश्वकप खेलिरहेका छन्।

रोनाल्डोले सन् २०१६ मा पोर्चुगलका लागि युरो कप जितेका थिए। यता पछिल्ला लगातार दुई संस्करणका फिफा वर्ष खेलाडी रोबर्ट लेवान्डोस्कीले पनि पोल्यान्डलाई विश्वकप पुर्‍याएका छन्। पोल्यान्डले लगातार दोस्रोपटक विश्वकपमा स्थान बनाएको हो। लेवान्डोस्की पछिल्ला वर्षहरुमा सबैभन्दा बढी लयमा रहेका फुटबलर हुन्।

लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना महादेशीय छनोटमा दोस्रो भएर विश्वकप पुगेको छ। मेस्सीको पनि यो पाचौँ विश्वकप सहभागिता हुने छ। गत वर्ष महादेशीय प्रतियोगिता कोपा अमेरिका जितेका मेस्सीले अर्जेन्टिनालाई सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुर्‍याएका थिए।

७ पटकका फिफा वर्ष खेलाडी मेस्सी र ५ पटकका फिफा वर्ष खेलाडी रोनाल्डो दुवैका लागि विश्वकप उपाधिको सपना देख्ने यो सम्भवत अन्तिम अवसर हुने छ। केलियन एमबाप्पे आबद्ध फ्रान्स र नेमार आबद्ध ब्राजिल यसपटक सजिलै विश्वकप पुगेका छन्। फ्रान्स विश्वकपको साविक विजेता पनि हो। हामेस रोड्रिगुएजको कोलम्बिया, मोहम्मद सलाहको इजिप्ट भने यसपटक विश्वकप पुग्न सकेनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर