लुम्बिनीमा विद्युतीय बस : सरकारको अलपत्र योजना, निजीले देखाए चासो (भिडिओ) – Nepal Press

लुम्बिनीमा विद्युतीय बस : सरकारको अलपत्र योजना, निजीले देखाए चासो (भिडिओ)

उद्घाटन गर्दै अध्यक्ष ओलीले गरे ६० किलोमिटर यात्रा

रुपन्देही । संघीय राजधानी भन्दा बाहिर पहिलो पटक निजी क्षेत्रले विद्युतीय बस सञ्चालनमा ल्याइएको छ । सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो । विद्युतीय बसको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मङ्गलवार मङ्गलवार उद्घाटन गर्दै ६० किलोमिटर यात्रा पनि गरे ।

रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड होटेलमा रिबन काटेर विद्युतीय बसको शुभारम्भ गरेका ओली यही बसमा चढेर लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भएर भैरहवा एयरपोर्टसम्म करिब ६० किलोमिटर यात्रा गरेको कम्पनीका सञ्चालक डिआर घिमिरेले बताए ।

लुम्बिनीमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पनि एमाले अध्यक्ष ओली वातावरणीय प्रदूषण कम गर्नका लागि सुन्दर यातायातले सुरु गरेको यो अभियानमा सबैले साथ दिन आग्रह गरेका थिए ।

‘पेट्रोलियम पदार्थमा बढ्दै गइरहेको मूल्यवृद्धिलाई यस्ता साधन सञ्चालन गरेपछि हामीलाई धेरै राहत हुनेछ । बढ्दै गएको प्रदूषण कम गर्न यसले ठूलो मद्दत गर्नेछ, म आफै अहिले चढेर आएँ धेरै राम्रो छ’ लुम्बिनीमा आयोजित कार्यक्रममा उनले भने ।

एमाले अध्यक्ष ओलीले लुम्बिनीको सौन्दर्यता बढाउन विद्युतीय सवारी साधनको सञ्चालनले पर्यटकको आकर्षण बढ्ने भएकाले यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका थिए ।

नेपालको पहिलो सार्वजनिक विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा परीक्षणका लागि सञ्चालन गर्नका लागि दुई वटा बस ल्याएको हो । रुपन्देही र कपिलवस्तुमा यी बसहरू सञ्चालनमा हुनेछन् ।

हाल काठमाडौंमा मात्र सञ्चालित विद्युतीय बसहरू वातानुकूलित भएकोले तराईको गर्मीमा असाध्यै लोकप्रिय हुने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए ।

नेपाली सडकमा विद्युतीय कारहरू प्रशस्तै गुडिरहँदा पनि बिजुली बसहरू नदौडिएकाले अब अब यसमा सुधार आउने उनको भनाइ छ । छिमेकी मुलुक चीन र भारतका ठूला सहरमा विद्युतीय बसहरू चल्न थालिसके पनि नेपालमा यस्ता बसहरू नगण्य मात्रामा छन् । नेपालमा सुन्दर यातायातले मात्रै सीमित विद्युतीय बस सञ्चालन गरेको छ ।

सुन्दर यातायातले चिनियाँ बीओके ब्रान्डका बस ल्याएर राजधानीमा सञ्चालन गरिरहेको अवस्थामा अब युरो ब्राण्डका बसहरू चलाउने भएको छ ।

थापाकाअनुसार हाल भैरहवा–बुटवल र बुटवल–सालझण्डी हुँदै कपिलवस्तुको ४ नं. सम्म विद्युतीय बसहरू चल्नेछन् ।

कम्पनीले बुटवलको कालिका नगर, भैरहवामामा चार्जिङ स्टेसन राख्ने गरी तयारी गरेको छ भने प्रदेश सरकारको योजनामा सैनामैनाको सालझण्डीमा चार्जिङ स्टेसन बनेको छ । यो रुटमा चल्ने विद्युतीय सवारी साधनका लागि चार्जिङ गर्न भैरहवा, बुटवल र सालझण्डीमा स्टेसन तयार भएपछि सजिलो हुने कम्पनीका सञ्चालक डिआर घिमिरेले बताए ।

‘एक पटक चार्ज भएपछि २ सय किलोमिटर चल्ने भएकाले यो रुटमा तीन स्थानमा चार्जिङ स्टेसन भएपछि तत्कालका लागि काम चल्छ, लुम्बिनीमा पनि तयार भएको छ, अब बिस्तारै विद्युतीय यातायातले बजार लिनेछֹ’ घिमिरेले भने ।

लुम्बिनीमा थन्काइएका विद्युतीय गाडी पनि छिट्टै चलाउने तयारी

डेढ वर्षयता बुद्ध जन्मस्थल लुम्बिनीमा अलपत्र विद्युतीय बस र ट्याक्सीले दर्तासँगै नम्बर प्लेट पाएपछि अब सञ्चालनको बाटो खुलेको छ ।

लुम्बिनीको वातावरण प्रदूषण कम गर्न गत वर्ष लुम्बिनी ल्याइएका १९ विद्युतीय बस र ट्याक्सी सञ्चालनका लागि यो प्रक्रियासँगै सञ्चालनमा सहज भएको हो । ती सवारीसाधन संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत आएका छन् । अब मन्त्रालयले कोषलाई दिएपछि सञ्चालनको प्रक्रिया सुरु हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

संघीय मन्त्रालय र लुम्बिनी विकास कोसबिच समयमै समन्वय नहुँदा रोकिएका ती साधनले १६ महिनापछि मात्रै ती सवारीसाधनले नम्बर पाएका हुन् । लुम्बिनी प्रदेश यातायात व्यवस्था कार्यालय बुटवलले सवारीसाधन दर्ता गरेर ब्ल्यु बुक दिएसँगै नम्बर प्लेट लगाइएको हो । लामो समय खुला आकाशमुनि थन्किएका १४ ट्याक्सी र ५ विद्युतीय बस अब सञ्चालन हुन नसक्दा बिग्रने चिन्ता बढेको थियो ।

विश्व सम्पदा स्थलमा सूचिकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न र पर्यटकलाई सुविधा दिन भन्दै भित्र्याइएका बस र ट्याक्सी सञ्चालनको छाँटकाँट नै नदेखिएपछि पर्यटन व्यवसायीहरू चिन्तित बनेका थिए ।

केही समयअघि नम्बर प्लेट जडानसँगै सबै लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले अबको दुई–तीन सातामा मन्त्रालयले लुम्बिनी विकास कोषको नाममा सवारीसाधन नामसारी गर्ने बताए  ।

लुम्बिनीका लागि आएका बस र ट्याक्सी संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले टेन्डर गरेर ल्याएको हुँदा सुरुमा उसको नाममा आएको र सवारीसाधन कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने छलफल थालेको उनले बताए । उनले प्रदेश सरकारसँग समन्वय गरेर छिटै सञ्चालनको मोडालिटी बनाउने जानकारी दिएका छन् ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड रुपैयाँ लागतमा ट्याक्सी र बस भित्रिएका हुन् ।

सरकारले साढे ३ करोड भन्सार शुल्क व्यहोरेको छ । सवारीसाधनका लागि लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेसन सञ्चालनमा आइसकेको छ । उक्त प्रोजेक्ट अन्तर्गत १५ करोड लागतमा बनाइएको चार्जिङ स्टेसन गत डिसेम्बरमै सञ्चालनमा आएको हो  ।

विश्वलाई लुम्बिनीसँग जोड्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन÷लैजान प्रयोग गरिनेछ । त्यस्तै लुम्बिनीलाई विभिन्न बुद्ध स्थल तिलौराकोट, रामग्राम र देव दहसँग जोड्न र त्यहाँ पर्यटक आवतजावत सजिलो बनाउन बस सञ्चालन गर्न पठाइएको हो । बस र ट्याक्सी अत्याधुनिक छन्  ।

ठूलो बसमा १९ सिट छन्  । साना भ्यान ५ सिटे हुन्  । एक पटक फुल चार्ज गरे ४ सय किमीसम्म गुड्न सक्ने क्षमताका रहेका छन् ।

मुलुकको प्रमुख पर्यटकीय गन्तव्य रहेको लुम्बिनीमा यस खालका यातायात सञ्चालन हुने खबरले उत्साही भएका यस क्षेत्रका बासिन्दालाई यो खबरले निराश बनाएको थियो । खुल्ला आकाशमुनि थन्काएर राखिएका यी सवारी साधन नचलाई राख्दा छिटो बिग्र नसक्ने यातायात क्षेत्र प्राविधिकहरूले बताउँदै आएका छन् ।

यसका लागि आवश्यक चार्जिङ स्टेसन करिब–करिब तयार भए पनि सञ्चालनको मोडालिटी तयार नहुँदा लुम्बिनीमा लामो समयदेखि खुल्ला आकाश मुनी सवारी थन्काएर राखिएको हो ।

पर्यटन व्यवसायीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्व पर्यटकीय स्थल लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन/लैजान बस र ट्याक्सी प्रयोग गरिने योजना सार्वजनिक भएपछि पर्यटक आकर्षण गर्न सकिने भन्दै खुसी व्यक्त गरेका थिए ।

तर लामो समय नचलाएर खुला आकाश मुनी राख्दा बिग्रने, पाट पुर्जामा समस्या आउने र टुटफुट हुने जोखिम बढेको छ । सुरुमा जाँच गरिए पनि अहिले ती सवारी प्राविधिक रूपमा ठिक छन्÷छैनन् भनेर जाँच पास पनि गरिएको छैन ।

सवारी साधन यत्तिकै थन्काएर राख्दा समस्या आउने यातायात क्षेत्रका प्राविधिक बत्ताउँछन् । विद्युतीय सवारी साधन यहाँ ल्याइएपछि विकास कोषले सञ्चालनको योजना बनाउन थालेको थियो ।

तर सञ्चालनको ठोस मोडालिटी अझै बनाइसकेको छैन । विकास कोष आफैँले विद्युतीय सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउँदै आएको छ । कोषले टेण्डर आह्वान गरी सवारी सञ्चालन गर्न निजी कम्पनीलाई दिने मनसाय बनाएको छ ।

प्रदेश सरकारको योजना अलपत्र

लुम्बिनीमा विद्युतीय बस सञ्चालनका लागि साढे ४ वर्ष अघिदेखि प्रदेश सरकारले बजेट छुट्टाउँदै आए पनि कुनै प्रगति हुन सकेको छैन ।

प्रदेश सरकारले पहिलो वर्षदेखि नै विद्युतीय बस सञ्चालनका लागि योजना बनाएर बजेट विनियोजन गरे पनि अहिलेसम्म चार्जिङ स्टेसनसमेत बनाउन सकेको छैन तर निजी कम्पनी आफैले चार्जिङ स्टेसन बनाउने गरी विद्युतीय बस ल्याएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको बेला रुपन्देहीमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्न लागेका विद्युतीय बस आइपुगेका छन् ।

नेपालको पहिलो सार्वजनिक विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा परीक्षणका लागि सञ्चालन गर्नका लागि ल्याएका बस सुनौली भन्सारमा आएका हुन् ।

योजना भाषणमा सीमित

अघिल्लो सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले २०७५ असार १ गते आर्थिक वर्ष २०७५÷०७६को बजेटमा विद्युतीय बस सञ्चालनको पूर्व सम्भाव्यता अध्ययनको लागि ५ करोड ५० लाख विनियोजन गरेका थिए ।

बजेटमा बुटवल–भैरहवा, नेपालगन्ज–कोहलपुर र घोराही–तुलसीपुरमा विद्युतीय बस सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न ५ करोड ५० लाख विनियोजन गरिएको थियो ।

पछिल्लो आर्थिक वर्षमा समेत प्रदेश सरकारले निरन्तर बजेट विनियोजन गर्दै आए पनि अहिलेसम्म कुनै प्रगति छैन । इन्धनको मूल्य बढेको समयमा यस्तो विषयमा चर्चा भए पनि अन्य समयमा वास्ता नहुँदा यसले प्रगति लिन नसकेको हो । सरकार आफैले विद्युतीय बस सञ्चालन गर्ने चर्चा हुन थालेको ५ वर्ष पुग्न लागेको छ ।

नेकपा एमालेका शङ्कर पोखरेल नेतृत्वको प्रदेश सरकार होस् वा वर्तमान गठबन्धनको माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वको सरकारले बजेट भाषणमा विद्युतीय बस सञ्चालन गर्ने कुरा छुटाउँदैनन् ।

अघिल्लो पटक शङ्कर पोखरेल नेतृत्वको सरकारले पनि विद्युतीय बस सञ्चालन गर्नको लागि निश्चित बजेट विनियोजन गरेका थिए ।
जसअनुसार प्रदेशको प्रदेश विकास प्राधिकरणमार्फत विद्युतीय बस सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) समेत तयार गरिएको छ । गत वैशाख महिनामा प्रतिवेदन समेत सार्वजनिक भए पनि पछि कुनै पनि काम अगाडि बढाउन सकेको छैन ।

आउँदो आर्थिक वर्ष प्रदेशका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको भए पनि यसको ठोस पहल हुन सकेको छैन । लुम्बिनी प्रदेशको रुपन्देही र बाँके जिल्लाका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

बाँकेको नेपालगन्ज–कोहलपुर सडक र रुपन्देहीको बुटवल–भैरहवा सडक खण्डमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरिएको थियो । बढ्दो इन्धनको कारण भाडा दर उच्च भइरहेको सन्दर्भमा विद्युतीय बस उपयुक्त साधन बन्न सक्ने स्थानीयको अपेक्षा रहेको छ ।

विद्युतीय बस सञ्चालनका लागि पालिकाहरूले जग्गा छनोट गर्ने, प्रदेश सरकारले बसहरू चार्ज गर्नका लागि चार्जिङ स्टेसन निर्माण गर्ने र सम्बन्धित ठाउँका व्यवसायी समितिहरूलाई नै बस सञ्चालनको जिम्मा दिने गरी काम अघि बढाइएको भए पनि हालसम्म यो काम अगाडि बढ्न सकेको छैन ।

लुम्बिनी प्रदेशका ४ स्थानमा विद्युतीय बसको लागि चार्जिङ स्टेसन स्थापना गर्ने आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा उल्लेख गरिएको छ । बुटवल, भैरहवा र कोहलपुर र नेपालगन्जमा विद्युतीय बस चलाउन सम्भाव्यता अध्ययन भइसकेको ले दुवै रुटको ४ स्थानमा चार्जिङ स्टेसन बनाउने बजेटमा उल्लेख छ ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता तिलकराम शर्माले चार्जिङ्ग स्टेसनको निर्माणको काम हालसम्म पनि सुरुवात हुन नसकेको बताए । उनले नेपाल विद्युत् प्राधिकरणले लुम्बिनी क्षेत्रमा र यता प्रदेश सरकारले निर्माण गर्ने भनिएको विद्युतीय बस चार्जिङ्ग सेन्टरको एकै पटक गर्ने गरी समन्वय भएको कारण ढिला भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर