लुम्बिनीका दुर्गममा डाक्टर पठाउन ७० हजार विशेष सुविधा – Nepal Press

लुम्बिनीका दुर्गममा डाक्टर पठाउन ७० हजार विशेष सुविधा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले दुर्गम तथा पहाडी जिल्लामा स्वास्थ्यकर्मीहरुलाई पठाउन विशेष सुविधाको कार्यक्रम ल्याएको छ । ती क्षेत्रहरुमा चिकित्सकहरुको धेरै अभाव भएका खबर निरन्तर सार्वजनिक भएपछि स्वास्थ्य, जनसङख्या तथा परिवार कल्याण मन्त्रालयले ती क्षेत्रमा जाने चिकित्सकलाई अतिरिक्त सुविधा दिएर पठाउने प्रस्ताव ल्याएको हो ।

प्रदेश सरकारले प्रदेश सरकार अन्तर्गका १२ जिल्लास्थित अस्पतालहरु ५० शैयामा स्तरोन्नति गरी सोही बमोजिम अस्थायी जनशक्ति तथा दरवन्दी स्वीकृत गरेको भएतापनि ती अस्पतालहरुमा दरवन्दी बमोजिमको जनशक्ति नभएपछि यस्तो ब्यबस्था गर्न लागिएको हो । लुम्बिनी प्रदेशमा १ हिमाली, ५ पहाडी र ६ तराईका जिल्ला रहेका छन् ।

यस सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी प्रदेश सरकार मन्त्रिपरिषदमा स्वीकृतिको लागि प्रस्ताव पेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चिकित्सकहरु शहर केन्द्रित भएर गाउँमा जान नमानेपछि स्वास्थ्य मन्त्रालयलले यस्तो व्यवस्था ल्याएको मन्त्रालयका अधिकारीको भनाइ छ ।

प्रदेश अन्तर्गतका प्रादेशिक अस्पताल तथा प्रदेशभित्र सञ्चालित मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सकलाई दुर्गम तथा विशेषज्ञ चिकित्सक नभएको अस्पतालमा परिचालन गरी प्रदेशको स्वास्थ्य सेवालाई सुलभ, गुणस्तरीय र प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकहरुलाई प्रोत्साहन गर्न आवश्यक देखिएकोले उक्त प्रस्ताव गरी कार्यन्वयनमा लगिने भएको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस कार्यको लागि यसै आर्थिक बर्ष प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ जनिशक्ति परिचालन सम्बन्धी कार्यक्रमनै राखी उक्त कार्यक्रम कार्यान्वयन गर्न एक करोड बजेट बिनियोजन गरिएको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए ।

मन्त्रालयले तयार गरी स्वीकृतिको लागि मन्त्रीपरिषदमा पेश गरिएको मस्यौदा स्वीकृत भएमा विशेषज्ञ चिकित्सक नभएका अस्पतालमा कम्तिमा तीन महिना खटिएर जाने चिकित्सकहरुले खाईपाई आएको सुविधाको अतिरिक्त मासिक अधिकतम ७० हजार थप सुविधा प्राप्त गर्ने गरी प्रस्ताव पेस गरिएको डा. देवकोटाले बताए ।

पहाड तथा दुर्गमजाने चिकित्सकलाई मासिक रुपमा प्रोत्साहन भत्ता २५ हजार, यातायात खर्च १० हजार, सञ्चार सुविधा २ हजार, आवास सुविधा १० हजार, खाजा/ खाना तथा अतिथी सत्कार खर्च १० हजार, दुर्गम भत्ता– रुकुम पूर्वको लागि १३ हजार, रोल्पाको लागि ८ हजार र पाल्पा, प्यूठान, अर्घाखाची, र गुल्मीको लागि ५ हजार प्रस्ताव गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

यो प्रस्तावमा आर्थिक मामिला तथा सहकारी मन्त्रालयले सहमति दिएको छ । यस कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पतालहरुमा कार्यरत विशेष सिप र क्षमता भएका कम्तिमा एम.डि वा सो भन्दा माथिल्लो तहको उपाधी हाँसिल गरी प्रदेशमा समायोजन भएका, कामकाजमा खटिएका, छात्रवृति करारमा कार्यरत रहेका, समिति अन्तर्गत नियुक्त भएका तथा करार सेवामा रही जुनसुकै किसिमले नियुक्त भएका चिकित्सकहरुलाई खटाईने सचिव देवकोटाले बताए ।

लुम्बिनी प्रदेशभित्र सञ्चालनमा रहेका सरकारी, निजी तथा सामुदायिक मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई पनि खटाइने डा। देवकोटाले बताए । मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सकले खटिएको अवधिभरको तलव भत्ता तथा अन्य सुविधा खटिएकै निकायबाट पाउने छ । निजहरुको सो अविधिको तलबभत्ता मेडिकल कलेजहरुले बहन गर्नुपर्ने छैन ।

मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सकको आधारभुत तलब भत्ता नेपाल सरकारले तोकेको सोही तहका सरकारी विशेषज्ञ चिकित्सकको सरह हुने मन्त्रालयले तयार गरेको कार्यविधिको मस्यौदामा उल्लेख गरिएको छ ।

मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई खटाउँदा नेपाल सरकार, स्वास्थ्य तथा जनसङख्या मन्त्रालयसंग समन्वय गरिने मन्त्रालयले जनाएको छ।मन्त्रालयलेको प्रस्ताव बमोजिम खटिएर जाने चिकित्सकको विशेष मूल्याङ्कन समेत मन्त्रालयले गर्ने शाखा अधिकृत कृष्णप्रसाद पराजुलीले बताए ।

दुर्गम तथा विशेषज्ञ सुविधा उपलब्ध नभएका अस्पतालहरुमा खटिएर जाने चिकित्सकले सम्बन्धित अस्पतालबाट आफ्नो विज्ञता अनुसारको स्वास्थ्य सेवा प्रदान गरी अस्पतालबाट प्रदान हुने सेवालाई प्रभावकारी बनाउने, विशेषज्ञ चिकित्सकको अभावमा सञ्चालन हुन नसकेका स्वास्थ्य उपकरणहरु सञ्चालनमा ल्याउने, अस्पतालमा आकस्मिक बनाउने  उनकाे भनाइ छ ।

यस्तै उपचारात्मक तथा प्रर्वद्धनात्मक सेवा प्रदान गर्ने, गंभिर रोग लागेका तथा आफू कार्यरत अस्पतालमा उपचार संभव नहुने बिरामीहरुलाई आफ्नो पहलमा विशिष्टिकृत अस्पतालमा रिफर गर्ने, आफ्नो विज्ञता अनुसार स्वास्थ्य जीवनशैली बारेमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, अस्पतालको आयोजना तथा स्थानीय तहहरुसंगको समन्वय र सहयोगमा खटिएको अवधिभर कम्तिमा एकपटक विशेषज्ञ सेवा सहितको घुम्ती स्वास्थ्य शिविर वा स्वास्थ्य शिविर सञ्चालन गर्ने,अस्पतालको सेवालाई गुणस्तरीय बनाउन मेडिकल सुपरिटेन्डेन्टप्रति उत्तरदायी रहने लगायतका जिम्मेवारीहरु तोकिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर