टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको २५ जित पूरा, कति खेलमा ? – Nepal Press

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको २५ जित पूरा, कति खेलमा ?

काठमाडौं । नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २५ जित पूरा गरेको छ ।

घरेलु मैदानमा सुरु भएको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा सोमबार पपुआ न्युगिनी (पीएनजी)लाई १५ रनले पराजित गर्दै नेपालले २५ औँ जित हात पारेको हो । नेपालले ४८ खेलमा यो सफलता हात पारेको हो ।

सन् २०१४ मा आयोजित विश्वकपमा नेपालले खेलेका सबै खेललाई टी-२० अन्तर्राष्ट्रियको मान्यता दिइएको थियो ।

त्यति बेला नेपालसँग एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता नरहे पनि विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विशेष सम्मान स्वरुप नेपाललाई उक्त मान्यता पनि दिएको थियो ।

सन् २०१८ मा आईसिसीले आफ्ना सबै सदस्यलाई टी-२० अन्तर्राष्ट्रियको स्थायी मान्यता दिने निर्णय गरेको थियो । नेपालले हालसम्म मलेसियाविरुद्ध ५, नेदरल्यान्ड्सविरुद्ध ४, ओमानविरुद्ध ३ तथा यूएई, मालदिभ्स र हङकङविरुद्ध २/२ पटक जित हात पारेको छ ।

अफगानिस्तान, भुटान, क्यानडा, कुवेत, फिलिपिन्स, सिंगापुर र थाइल्यान्डविरुद्ध एक एक जित हात पारेको छ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले खेलेका खेलमध्ये हालसम्म कतार, बङ्गलादेश, आयरल्यान्ड र जिम्बावेलाई भने हराउन सकेको छैन । पहिलो शृङ्खलाका रुपमा सन् २०१९ मा यूएईविरुद्ध तीन खेलको शृंखला २-१ ले जितेको थियो ।

सोही वर्ष मलेसियासँग भएको दुई खेलको शृंखला पनि क्लीन स्विप गरेको थियो । गत वर्ष घरेलु मैदानमा आयोजित मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक शृंखला पनि नेपालले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर