कांग्रेसप्रति ओलीको टिप्पणी- जमानाको बलियो साँढे अहिले बैशाखीको सहारा खोज्दैछ – Nepal Press

कांग्रेसप्रति ओलीको टिप्पणी- जमानाको बलियो साँढे अहिले बैशाखीको सहारा खोज्दैछ

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले बैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा आइपुगेको टिप्पणी गरेका छन् ।

लुम्बिनीमा आयोजित पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई ‘कुनै जमानाको ठूलो गोरु भएको बलियो साँढे’ भन्दै बैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले गठबन्धन दलहरूको नियम बिजुलीको मूल्य कम बेचेर धेरै मूल्यमा बेचेर सरकारमा रहेकाहरूको नियत प्रस्ट भएको उल्लेख गर्दै उनले भने, ‘उनीहरूलाई कठै बरा बिचराबाहेक केही भन्न आवश्यक नै छैन, कुनै जमानामा ठूलो गोरु भएको बलियो साँढे थियो नेपाली कांग्रेस अहिले बैशाखी खोजेर हिँड्नुपर्ने भएको छ ।’

ओलीले अरू विचारै नभएका दलहरूको विषयमा धेरै कुरा गरेर समय फल्न आवश्यक नरहेको पनि बताए ।

एमालेको शक्तिका बारेमा कांग्रेस सभापतिले नै प्रस्ट भनेको उल्लेख गर्दै ओलीले भने, ‘एमालेको शक्ति कति छ भन्ने कुरा केही दिनअघि प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा आफैले भनेबाट प्रस्ट भएको उनले बताए । अब सबै मिलेर आए पनि एमालेलाई गलाउन सक्दैनन्, एमालेको विजय देशको विकासका लागि, समृद्धिका लागि चाहिएको छ, यसलाई एमाले चाहिएको छ, त्यो जनलहरले प्रस्ट छ ।’

‘चुनाव नजिक आउँछ, जनतामा अनुचित भ्रमहरू मच्चाउन खोजिन्छ, मधेसी पहाडी भनेर, हिन्दु र मुस्लिम भनेर झगडा लगाउने खेलो सुरु हुन्छ यसबाट सचेत बनौँ, हामी नेपाली सबै समान हो सबै मिलेर देश बनाउने हो’ नेता ओलीको भनाइ थियो ।

विभिन्न नेताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले कपिलवस्तु एमालेको लाल किल्ला भइसकेको बताए ।

उनले भने, ‘अब धेरै जना एमालेमा आइसक्नुभयो, तीन महिना पहिले यस्तै उभार आएको थियो, आज उस्तै जनसागर छ, अब कोही छुट्नुभएको छ भने छिटो भित्राऔंं अब ढिलाइ नगरौँ ।’

उनले अगाडि भने, ‘एमाले प्रवेश गर्ने सबैको भविष्य सुनिश्चित, किन एमालेमा आएछु भन्नुपर्नेछैन, एमाले कसैलाई अलमलाउने पार्टी होइन, आफ्ना स्वार्थका लागि होइन देश बनाउनका लागि एमाले बलियो बन्दै छ ।’

ओलीले एमाले प्रवेश गर्नेहरूको देशव्यापी जनलहरले एमालेको शक्ति प्रस्ट भएको बताउँदै तराई मधेसमा हुलाकी राजमार्गको अन्यौलता हटाएको, तराईको विकास र समृद्धि एमालेका अगुवाइ पूर्ण हुँदै गएको र केही पूरा हुने चरणमा रहेको बताए । एमाले नेतृत्वको सरकारले विकासमा गरेको जनलहरले अहिले सबैले साथ दिएको बताउँदै नेता ओलीले नयाँ उत्साहका साथ एमाले अगाडि बढेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर