प्रहरीमा ‘वरिष्ठता’ कायम गर्न एक दिनको अन्तरमा बढुवा सिफारिस – Nepal Press

प्रहरीमा ‘वरिष्ठता’ कायम गर्न एक दिनको अन्तरमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा थप भएका तीनवटा दर्जाका करिब २० हजार दरबन्दीमा यतिबेला धमाधम बढुवा सिफारिसद्वारा पदपूर्तिको प्रकृया अगाडि बढिरहेको छ ।

प्रहरी नियमावली संशोधन गरेर ‘सिनियारिटी’ अर्थात वरिष्ठतालाई मात्र आधार मानेर चैत १० गतेदेखि रिक्त दरबन्दीमा बढुवा सिफारिस भइरहेको हो ।

नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ नायब निरीक्षक (सई) दर्जा थपिएको थियो । प्रहरी प्रवक्ता विष्णुकुमार केसीले वरिष्ठता कायम गर्न विभिन्न चरणमा बढुवा सिफारिस भइरहेको बताए ।

‘एकैपटक बढुवा सिफारिस गर्दा लामो समयको अन्तरमा नियुक्ति र बढुवा भएका प्रहरी कर्मचारीको एक साथ बढुवा हुने अवस्था आयो । यसले गर्दा प्रहरी कर्मचारीमा गुनासो बढ्न सक्ने अवस्थालाई मध्यनजर गरेर अलग अलग मितिमा बढुवा सिफारिस भइरहेको छ’, एसएसपी केसीले भने ।

जनपदतर्फ जवानको दरबन्दीको ३३ प्रतिशत सहायक हवल्दार तथा हवल्दारको २५ प्रतिशत वरिष्ठ हवल्दार र सईको २५ प्रतिशत वरिष्ठ सईमा बढुवा हुँदैछन् । यसरी १५ हजारभन्दा बढी जवान सहायक हवल्दार र एक हजारभन्दा बढी सई वरिष्ठ सईमा बढुवा हुँदैछन् ।

लामो समय एकै दर्जामा रहँदा वृत्ति विकास र कार्यसम्पादनमा असर पुगेको भन्दै प्रहरीका तल्ला दर्जामा तीनवटा दर्जा थप गरिएको हो ।

शनिबार साँझ मात्र १२ सय ५ जना सहायक हवल्दारमा, ७ सय ३२ जना वरिष्ठ हवल्दारमा र ३ सय २२ जना वरिष्ठ सईमा बढुवाका लागि सिफारिस भएका छन् । जनपदतर्फ सहायक हवल्दारमा १४ हजार ५ सय ६७, वरिष्ठ हवल्दारमा ३ हजार ३ सय ८३ र वरिष्ठ सईमा एक हजार एक सय ७१ जनाको बढुवाद्धारा पदपूर्ति हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर