बुटवलमा नाटुको सातौं राष्ट्रिय अधिवेशन सुरु, सरकार श्रमिकको पक्षमा नरहेको गुनासो – Nepal Press

बुटवलमा नाटुको सातौं राष्ट्रिय अधिवेशन सुरु, सरकार श्रमिकको पक्षमा नरहेको गुनासो

रुपन्देही । नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) को सातौं राष्ट्रिय अधिवेशन शनिबारदेखि बुटवलमा सुरु भएको छ ।

जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले सम्मेलनको उद्घाटन गर्दैे श्रम बजारमा धेरै ठूलो परिवर्तन आएपनि सरकार श्रमिकको पक्षमा नरहेको बताए । संगठन स्वतन्त्रता, न्युनतम ज्यालामात्र नभई अब जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको अधिकार प्राप्तिसम्म पुगेको उनको भनाइ थियो ।

साथै उनले जिफन्ट जडसुत्रवादी भयो वा एनजीओका रुपमा काम गर्यो भन्ने गलत भ्रम फैलाउने काम भएकोमा दुःख व्यक्त गरे । सरकार श्रमिकहरुको पक्षमा नरहेको उनको भनाइ थियो । केवल सवारी साधन बनाउनेमात्र नभई अब देश बनाउने दिशामा पनि अटोमेकानिक्सहरु अगाडि आउनुपर्ने उनले बताए ।

मजुदर संगठन फुटेकोतर्फ संकेत गर्दै केही झुण्डहरु चोइटिएर जाँदैमा संगठन कमजोर नभई अझ बढी सशक्त भएको बताउँदै श्रेष्ठले नाटुजस्ता श्रमिकसँग प्रतिस्पर्धा गर्नुभन्दा पनि एक वर्षसम्म संस्था टिकाइराख्न समेत चुनौती दिए ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले प्रविधिमार्फत श्रमशक्तिलाई जोड्ने गरी सफ्टवेयर बनाएर अगाडि बढेको बताए । यसैगरी श्रमिक नेताको स्मृतिमा पार्कदेखि विभिन्न अभियानसंग जोड्ने गरी काम गरिएको उनको भनाइ थियो ।

अधिवेशनमा लामोसमयदेखि मेकानिक्स क्षेत्रमा योगदान दिएका जेष्ठ मेकानिक्सहरु सुदूरपश्चिमका भक्तबहादुर थापा, बलजित सिह, कर्णाली प्रदेशका मिलन अन्सारीलाई जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठ, नाटुका अध्यक्ष जीवन अधिकारी, पूर्व जिफन्ट महिला राष्ट्रिय अध्यक्ष गुमादेवी आचार्यले दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेका थिए ।

नाटुका अध्यक्ष जीवन अधिकारीले बदलिँदो प्रविधिलाई आत्मसाथ गर्दै श्रमिकहरु पनि अब प्रविधिमैत्री बनेर काम गर्नुको विकल्प नरहेको बताए । अधिकारीले अहिले अटोमेकानिक्स क्षेत्रमा प्रविधिकै कारण धेरै सेवा सर्भसुलभ र विश्वासिलो भएको भन्दै प्रविधिलाई पछ्याएर सवै श्रमिक अघि बढ्नुपर्ने र आफू मात्र स्वरोजगार नभई अरुलाई पनि स्वरोजगार बनाउने गरी लाग्न श्रमिकलाई आग्रह गरे ।

देशभर ७ प्रदेशमा नाटुमा ७ हजारभन्दा बढी सदस्यहरु आवद्ध छन् । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर