आफ्नो गुट ब्युँताउने रामचन्द्रको कसरत, शशांकले सघाउने संकेत – Nepal Press

आफ्नो गुट ब्युँताउने रामचन्द्रको कसरत, शशांकले सघाउने संकेत

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकअघि ‘आफ्नो टिम’को छलफल भन्दै भेला बोलाए ।

भेलामा पूर्व महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य एवं कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, बलबहादुर केसी, मधु आचार्य सहभागि थिए । उनीसँगै तनहुँ सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावल, र पाल्पा सभापति हिमालदत्त श्रेष्ठपनि उपस्थित थिए ।

उनको यो छलफल कार्यक्रममा नेता केसी ‘ठट्यौली’ पारामा घोचपेचमा उत्रिए । उनले ‘रामचन्द्र दाइकोमा आउँदा शेरबहादुरकोमा पुगिने हो कि शेरखकोमा ?’ भनेर वरिष्ठ नेता पौडेललाई प्रश्न सोधे ।

उनी त्यत्तिमा रोकिएनन् । ‘तपाईं र शेरबहादुरलाई नेता मान्न मलाई समस्या छैन,’ उनले भने,‘तर आज मेरो नेता शेखर कोइराला हो । म उहाँकै टिममा छु ।’

उनको यो भनाई वरिष्ठ नेतामाथि निकै ‘कटु’ थियो । केसीले पौडेलको कोसिसमाथि प्रहार गर्न चाहेको देखिन्छ ।

यस्तो प्रयास पछिल्लो समय शेखर कोइराला समुहका नेताहरूले वरिष्ठ नेता पौडेलमाथि गर्दै आएका छन् । १४ औँ महाधिवेशनमा पौडेल ‘मौन’ बसेकै कारण आफ्नो समुहका कोइराला सभापतिमा शेरबहादुर देउवासँग पराजित हुन पुगेको उनीहरूले तर्क गर्ने गरेका छन् ।

महाधिवेशनमा ‘मौन’, त्यसपछि सक्रिय

वरिष्ठ नेता पौडेल सुशिल कोइरालाको शेषपछि १३ औँ महाधिवेशनमा गिरिजा र सुशिलको विरासत बोकेको समूहबाट सभापतिमा देउवासँग भिडेका थिए । जहाँ उनले पराजय भोग्नुपर्‍यो । त्यसपछि नेता पौडेल १४ औँ महाधिवेशनसम्म सो समुहका साझा नेता थिए ।

गत मंसिरमा सम्पन्न १४ औँ महाधिवेशनमा पनि सो समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्न चाहन्थे । उनको त्यो चाहनामा डा. शेखर कोइराला र पुर्व महामन्त्री प्रकाशमान सिंह बाधक बने ।

अन्तिम अवस्थासम्म पनि आफ्नो नाममा सहमति जुट्न नसकेपछि पौडेल ‘राजनीतिबाट अलग’ हुने भन्दै बोहराटार फर्किएका थिए । जहाँ सभापति देउवा पुगेर ‘राष्ट्रलाई अझैं तपाईको आवश्यकता छ । राजनीतिबाट अलग नहुनुस्, आफ्नो स्वास्थ्य राम्रो बनाएर बस्नुस’ भनेर फर्किएका थिए । त्यसपछि वरिष्ठ नेता पौडेल महाधिवेशनमा ‘मौन’ बसे ।

महाधिवेशनपछि प्रधानमन्त्री समेत रहेका देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा सत्तारूढ गठबन्धन दलका नेताहरू सम्मिलित ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’को संयोजक बनाएर उनलाई राजनीतिक भूमिका दिए ।

त्यसयता उनको राजनीतिक सक्रियता जारी छ । गठबन्धन दलहरूबीचमा समस्या उत्पन्न हुँदा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई सक्रिय बनाउँछन् । एमसीसी विवादका बेला पनि उनको सक्रियता निकै बढेको थियो ।

महाधिवेशनपछि नेता केसीको भनाईको आसयजस्तै प्रधानमन्त्री देउवासँग वरिष्ठ नेता पौडेलको ‘बोली’ पनि मिलिरहेको छ । दुबैजनाको भाषाको तादाम्यता एमसीसी अनुमोदनदेखि लिएर गठबन्धनलाई चुनावसम्म लैजाने कुरामा मिलिरहेको छ ।

१३ औँ महाधिवेशनपछि उनीसँग रहेको समुहको विरासत १४ औँ महाधिवेशनपछि शेखरले हत्याएका छन् । सो समुहले अहिले ‘मौन’ बसेर समुहलाई हराउन भूमिका खेलेको भन्दै वरिष्ठ नेता पौडेललाई लखेटिरहेको छ ।

‘उहाँको त्यो भूमिकाले धेरै साथिहरू हारेका छन्,’ शेखर समुहका एक केन्द्रीय सदस्यले भने, ‘उहाँ मौन नबसेर समुहलाई सहयोग गरेको भए हाम्रो समुह जित्थ्यो, नभएपनि बहुसंख्यक अन्य साथीहरू निर्वाचित हुन्थे । केन्द्रीय समितिमा यति कमजोर स्थिती हुनेथिएन ।’

सो समूहले आक्रोसमात्र पोखिरहेको छैन, आफ्नो समुहका कार्यक्रमहरूमा बोलाउन समेत छाडेको छ । अहिले शेखर समूहले गर्ने कुनैपनि कार्यक्रममा वरिष्ठ नेता पौडेलको उपस्थिती रहँदैन् । जसले सो समूहसँग उनको सम्बन्ध पूर्णरूपमा विच्छेद भएको जनाउ दिइरहेको छ ।

वरिष्ठ नेता पौडेलजस्तै शेखर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पनि सोही व्यवहार दर्शाइरहेको छ । उनी पनि महाधिवेशनमा खुलेका थिएनन् । केन्द्रीय सदस्य लडेका उनको नाम सभापति देउवाको प्यानलमा पनि परेको थियो । उनी पनि नखुलेकै कारण चुनाव हराएको आरोप शेखर समुहले लगाउने गरेको छ । उनलाई पनि शेखर समुहका भेला तथा कार्यक्रमहरूमा बोलाइदैन् । उनी आफै सहभागि हुँदैनन् ।

के चाहन्छन् रामचन्द्र ?

महाधिवेशनबाट कांग्रेसको सभापति हुँने चाहना पुरा हुन नसकेपनि राजनीतिमा कार्यकारी भूमिकाको ‘मोह’ भने पौडेलमा मरेको देखिदैँन । सञ्चारमाध्यमले लिने अन्तरवार्ता र सार्वजनिक समारोहहरूमा उनी अझै मुलुकको कार्यकारी पदमा रहेर काम गर्न चाहेको अभिव्यक्ति दिन्छन् ।

धेरैले महाधिवेशनमा सभापति देउवाले भेटेर राष्ट्रपतिको ‘अफर’ गरेको चर्चा पनि गर्दै आएका छन् । यद्यपी सो कुरालाई पौडेलले आफै इन्कार गर्दै आएका छन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा ‘कामै गर्न नपाउने’ राष्ट्रपतिभन्दा काम गर्न पाउने कार्यकारी पद प्रधानमन्त्री भएर एकपटक काम गर्ने इच्छा रहेको बताएका छन् ।

‘म केही पाउन राजनीतिमा लागेको होइन् । जति पाएको छु सन्तुष्ट छु,’ उनले भनेका छन्,‘तर हामी जे गर्न राजनीतिमा लाग्यौं, त्यो पुरा गर्न सकेनौं÷हुनसकेन् । कैलेकाँही सोच्छु कार्यकारी पदमा पुगेर केही नमूना गर्न पाए कम्तिमा यसमा सुधार गर्नसक्थें ।’

उनी प्रधानमन्त्री बन्ने अवसर पाउलान/नपाउलान् तर पछिल्लो समयको सक्रियताले उनीभित्रको राजनीतिक ‘लालसा’ भने जिवित रहेको संकेत गर्छ ।

हिजोको ‘समूह भेला’को अभ्यासले पनि उनी आफ्नो समूह ब्युँताएर शक्ति हासिल गर्ने प्रयासमा जुटेको टिप्पणी हुनथालेको छ । उनको प्रयासमा शेखर समूहबाट तिरस्कार भोगिरहेका पूर्वमहामन्त्री शशांकको पनि उपस्थितीले यसलाई ‘मलजल’ गरेको छ । शशांकको उपस्थिती रामचन्द्र पौडेल समूहको पुनर्जागरणको एक संकेत रहेको जानकार स्रोत बताउँछ ।

यद्यपी हिजोको बैठकमा छुट्टै समुह बनाउने विषयमा भने कुनै कुरा उठेन् । वरिष्ठ नेता पौडेलले नेता केसीलाई भने दुखेसोपूर्ण जवाफ फर्काएका थिए । उनले भनेका थिए, ‘म र डा. शशांकलाई छुट्याएर टिम चलाउनु हुन्छ भने चलाउनुहोस् । नेता कार्यकर्ताको संरक्षण गर्नुहोस । हामी दुईजनालाई अलग गरेर नै बलियो हुँन्छौ भन्ने लाग्छ भने मेरो शुभकामना छ ।’

शेखरलाई देउवाले महत्व नदिँदा पुग्ने फाइदा

सभापति निर्वाचित भएपछि देउवाले महाधिवेशनमा झण्डैं ४० प्रतिशत मत पाएका शेखरलाई खास्सै महत्व दिइरहेका छैनन् । महाधिवेशनपश्चात शेख र समुहले उनलाई वरिष्ठ नेता बनाइनुपर्ने र दोस्रो वारियता माग गरेको थियो । देउवाले सो कुरालाई महत्व दिएनन् । आफूपछिको दोस्रो वारियतामा पौडेललाई राखेर वरिष्ठ नेता दिए । शेखरलाई पदाधिकारी र पूर्वपदाधिकारीपछिको मर्यादाक्रममा थन्काइदिए ।

त्यसबाहेक पार्टीका आन्तरिक छलफल र नियूक्ति प्रक्रियामा पनि शेखरलाई स्थान दिएका छैनन् । बरु उनको समुहबाट पदाधिकारीमा निर्वाचित गगन थापालाई महत्व दिएको देखिन्छ । यसमा वरिष्ठ नेता पौडेलसँग भने परामर्श गरेर काम गर्ने अभ्यास गर्ने गरेका छन् ।

सभापति देउवाको यो व्यवहारले अन्ततः शेखरसँग असुरक्षित महशुस गरेर केही समयपछि नेताकार्यकर्ताहरू आफूतिर आउने वरिष्ठ नेता पौडेलको बुझाई रहेको निकटस्रोत बताउछ । त्यसैले उनले ‘नेताकार्यकर्ताको सुरक्षा’को मुद्दा स्थापित गर्न खोजिरहेका छन् । शेखर समुहका नेताकार्यकर्ताहरूलाई जवाफ दिँदा उनी सोही कुरालाई अस्त्र बनाइरहेका छन् । हिजोको बैठकमा पनि नेता केसीलाई सोही ‘डायलग’ तेस्र्याएका थिए ।

यसअघिका अन्तरवार्ता र केही अनौपचारिक भेटहरूमा समेत उनले नेताकार्यकर्ताको संरक्षणका लागि आफू अग्रसर हुन तयार रहेको बताउने गरेका थिए ।


प्रतिक्रिया

One thought on “आफ्नो गुट ब्युँताउने रामचन्द्रको कसरत, शशांकले सघाउने संकेत

  1. रामचन्द्रकाे पछि लाग्नु भनेकाे अन्तिममा देउवाकाे पछि लाग्नु हाे । Lead गर्ने क्षमता र गुण नभएकाे र अन्तिममा देउवाकाे पुच्छर हुने भएपछि किन यिनकाे पछि लाग्नु? सिधै देउवाकाे पछि लागे भैहाल्याे नि ।यिनकाे पछि लाग्नु भन्दा त शेखरकाे पछि लाग्नु धेरै राम्राे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर