सलमान खानका लागि सरकारसँग दुई हजार सुरक्षाकर्मी माग, ३० हजारले कन्सर्ट हेर्ने दावी ! – Nepal Press

सलमान खानका लागि सरकारसँग दुई हजार सुरक्षाकर्मी माग, ३० हजारले कन्सर्ट हेर्ने दावी !

काठमाडौं । भारतीय अभिनेता सलमान खान आउँदो जेठ १४ गते एउटा कन्सर्टका लागि काठमाडौं आउँदैछन् । एक निजी कम्पनीले निकै ठूलो धनराशी खर्चेर सलमानलाई नेपाल ल्याउन लागेको हो ।

आयोजक ओडीसी इन्टरनेटमेन्टका अनुसार दशरथ रंगशालामा हुने कन्सर्टका लागि कुल १८ करोड खर्च हुने अनुमान गरिएको छ । त्यसमध्ये सलमान एक्लैले ३ करोड भारु (४ करोड ८० लाख रुपैयाँ) पारिश्रमिक लिनेछन् ।

सलमानसँग करिब १०० जनाको टोली नेपाल आउँदैछ । उनीहरुमध्ये नौ जना सेलिब्रिटी हुन् भने अन्य ब्याक डान्सर र वाद्यवाधकहरु हुन् । सलमानको टोलीमा ज्याकलिन फर्नान्डिस, सोनाक्षी सिन्हा, प्रभू देवा, गुरु रान्धवा, सहीद मन्जेरकर, मनिष पल, कमाल खान र अर्का एकजना छन् ।

सोनाक्षीले ५२ लाख र ज्याकलिनले ४० लाख भारु पारिश्रमिक लिएका छन् । अन्य कलाकारहरुको १०–१५ लाखको हाराहारी छ । कुल मिलाएर ४ करोड ८० लाख भारु कलाकारको पारिश्रमिकमा खर्च हुने छ ।

सबै कलाकारसँग बेग्लाबेग्लै सम्झौता गरेर उनीहरुको खातामा पैसा गइसकेको ओडीसी इन्टरनेटमेन्टका प्रमुख सीमान्त गुरुङले जानकारी दिए । यसअघि २०७४ सालमा नै यो कन्सर्ट गर्न खोजिएको थियो । त्यसबेला सबै कलाकारहरुलाई पारिश्रमिक बैंकबाट पठाइसकिएको थियो, तर अन्तिम समयमा विप्लव माओवादीको थ्रेटका कारण कार्यक्रम स्थगित भयो ।

लामो समयसम्म कन्सर्ट हुन नसकेपछि ओडीसीले सलमानसँग अग्रिम भुक्तानी भएको पैसा फिर्ताका लागि ताकेता गर्यो । तर सलमानले फिर्ता गर्न चाहेनन् । बरु आफू नेपाल आउन इच्छुक रहेको भन्दै उपयुक्त समयमा कन्सर्ट गर्न सुझाए । त्यसैबमोजिम पहिले भुक्तानी भएको पैसामा केही थप गरेर अहिले उनलाई ल्याउन लागिएको गुरुङले बताए ।

उनले भने, ‘हामीले चार वर्षअगाडि नै साढे दुई करोड आईसीभन्दा बढी पेमेन्ट गरिसकेका थियौं । अहिले थपिएका केही कलाकारका लागि थप पैसा पठाउनुपर्यो । अरु पहिल्यै भुक्तानी गरिएको पैसा हो ।’

कलाकारहरुको पारिश्रमिक बाहेक उनीहरुको आउजाउ र नेपालमा बस्ने–खाने खर्च पनि आयोजकले व्यहोर्नुपर्ने छ । यस्तै स्टेज तयारी, प्रचारप्रसार र अन्य व्यवस्थापकीय कामहरुमा गरी कुल १८ करोड खर्च हुने अनुमान गरिएको गुरुङले बताए । कार्यक्रम हुने दिनभन्दा एक हप्ताअघि देखि टिमका सदस्यहरु आउन थाल्ने र सलमान भने अघिल्लो दिन आउने उनको भनाइ छ ।

अघिल्लोपटक कार्यक्रम स्थगित हुँदा ओडीसीलाई ठूलो आर्थिक क्षति भएको थियो । त्यसबेला आफूहरुलाई करिब ४ करोड घाटा लागेको गुरुङले बताए । कार्यक्रमका लागि केही हजार टिकट पनि विक्री गरिएको थियो । तर, कार्यक्रम हुन नसकेपछि ती सबै टिकट फिर्ता गरिएको उनको भनाइ छ ।

२ हजार सुरक्षाकर्मी माग

सलमानको कन्सर्टका लागि आयोजकले सरकारसँग कडा सुरक्षाको माग गरेको छ । अहिलेसम्म कतैबाट प्रत्यक्ष ‘थ्रेट’ नआएको भए पनि धेरै संख्यामा दर्शकहरु उपस्थित हुन सक्ने अनुमान गर्दै आयोजकले आवश्यक सुरक्षाको प्रवन्ध गर्न सरकारलाई आग्रह गरेको हो ।

गुरुङका अनुसार १५ सयदेखि २ हजार प्रहरी कन्सर्टस्थलमा परिचालन गर्न माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएको छ ।

‘हामीले १५ सयदेखि २ हजार मागेका छौं, अब उहाँहरु के निर्णय गर्नुहुन्छ थाहा छैन,’ गुरुङले भने ।

सीडीओ कार्यालय स्रोतका अनुसार आयोजकले मागेको आधारमा भन्दा पनि आवश्यकताका हिसाबले सुरक्षाको बन्दोबस्त गरिनेछ । यस विषयमा प्रहरीलाई पत्राचार गरिसकिएको जिप्रका काठमाडौं स्रोतले बतायो ।

सरकारले दिने सुरक्षासँगै आफ्नो तर्फबाट पनि ७–८ सय जनाको ‘सेक्यूरिटी’ र २–३ सय जना स्वयम्सेवक परिचालन गरिने गुरुङको भनाइ छ । प्रहरीले खटाउने जनशक्तिलाई खाजा खर्च कम्पनीले उपलब्ध गराउने उनले जानकारी दिए ।

अघिल्लोपटक विप्लव माओवादीले कार्यक्रम रोक्न थ्रेट दिएको थियो । यसपाली अहिलेसम्म सो पार्टीका तर्फबाट कुनै प्रत्यक्ष चेतावनी आएको छैन । तर, पार्टीनिकट जनसांस्कृतिक संगठनका नेताले यो कार्यक्रम गर्न नदिइने बताएका छन् ।

नेपाली कलाकार को–को ?

सलमान खानको कन्सर्टमा नेपाली कलाकारहरुलाई पनि समावेश गर्ने तयारी गरिएको छ । यद्यपि, अहिलेसम्म कलाकारको टुंगो लागि नसकेको गुरुङ बताउँछन् ।

‘नेपाली कलाकार त राख्नैपर्छ । हामी नेपालका २–३ जना पुरुष र २–३ जना महिला कलाकारहरुलाई कन्सर्टमा सामेल गराउँछौं । नेपाली कलाकारले एक–डेढ घन्टाको प्रस्तुति दिनुहुनेछ,’ गुरुङले भने ।

नेपाली कलाकारलाई दिइने पारिश्रमिकबारे उनले बताउन चाहेनन् ।

बिक्ला टिकट ?

सलमानको कन्सर्टका लागि टिकटको मूल्य निकै महंगो छ । न्यूनतम पाँच हजारदेखि २५ हजार रुपैयाँको टिकट राखिएको हो । आयोजकले टिकट विक्रीबाट मात्रै ३०–३५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।

‘३० हजार जतिले टिकट काटेर हेर्नुहुुन्छ भन्ने हाम्रो अनुमान हो, त्यसो भयो भने ३०–३५ करोड टिकटबाट उठ्छ र ८–१० करोड रुपैयाँ प्रयोजकहरुबाट उठाउछौं,’ उनले भने ।

उनले अघिल्लोपटक ठूलो घाटा लागेको भन्दै सधै घाटा खाएर चल्न नसकिने बताए ।

 

 


प्रतिक्रिया

One thought on “सलमान खानका लागि सरकारसँग दुई हजार सुरक्षाकर्मी माग, ३० हजारले कन्सर्ट हेर्ने दावी !

  1. He is just like an actor . Our country does not see any benefit from him. I am just taking money by promoting the film here. Entertainment is also provided by Nepali cinema. You have to save your culture, I understand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर