रोहितले ‘सेलिब्रेट’ गर्न नसकेको ऐतिहासिक इनिङ – Nepal Press

रोहितले ‘सेलिब्रेट’ गर्न नसकेको ऐतिहासिक इनिङ

त्रिवि मैदानमा १९ वर्षे किशोरको ‘ब्याटिङ क्लास’

काठमाडौं । घरेलु मैदानमा पपुवा न्यूगिनीविरुद्धको खेल नेपालले हार्‍यो । तर, १९ वर्षीय ब्याट्सम्यान रोहितकुमार पौडेलको आजको साहसिक इनिङ नेपाली क्रिकेट फ्यानहरूले लामो समय सम्झिरहने छन् । उनले एक्लो बलबुतामा नेपाललाई जित नजिक पुर्‍याएका थिए ।

पीएनजीले दिएको २९३ रनको लक्ष्य नेपालका लागि सगरमाथा बराबर थियो । नेपालले यति ठूलो स्कोर अहिलेसम्म एक दिवसीय क्रिकेटमा चेज गरेको छैन । नेपालले अहिलेसम्म ओडीआईमा बनाएको ठूलो स्कोर भनेको २५५ रन हो । त्यसैले दोस्रो इनिङमा ब्याटिङ गर्न उत्रिँदा नेपालले जित्ने बलियो आशा थिएन । तर, रोहितकुमार आज खास मुडमा थिए ।

नेपालले ७३ रनको स्थितिमा ४ विकेट गुमाएपछि क्रिजमा रोहितको इन्ट्री भएको थियो । उनले सुरुदेखि नै सकारात्मक ब्याटिङ गरे । उनको ब्याटिङमा कौशल, धैर्य र साहसको सम्मिश्रण थियो । कुनै पनि क्षण उनले संयम गुमाएर गलत सट खेलेनन् । बलको मेरिटअनुसार उचित सट प्रहार गरे । उनको ब्याट खासगरि अनसाइडमा निकै प्रभावशाली देखियो । उनका पुल सट, स्वीप सट, कभर ड्राइभहरू अब्बल थिए । रोहित जुन पुल सटमा आउट भए, यदि युएईका ब्याट्सम्यानले उत्कृष्ट क्याच नलिएको भए, त्यो सहजै बाउन्ड्रीमा परिणत हुन्थ्यो । यदि त्यसो भएको भए आजको म्याचको नतिजा फरक पनि हुन सक्थ्यो ।

अर्को इन्डबाट खासै रन नबनिरहँदा पनि रोहितले नेपालको स्कोर बोर्डलाई गतिशील बनाइराखे । आरिफ शेखसँग उनको शतकीय साझेदारी भयो । तर, आरिफको स्लो ब्याटिङले रोहितमाथि दबाब बढायो । क्रिजमा टिक्नुपर्ने र आक्रामक सटहरू खेल्नुपर्ने दोहोरो दबाबमा थिए रोहित । उनले परिस्थितिको माग बमोजिम ब्याट चलाइरहे । आफ्नो उमेरभन्दा निकै बढी परिपक्वता रोहितको ब्याटिङमा देखिएको छ र पारस खड्कापछि नेपालले एउटा ब्याटिङ स्टार पाएको महसुस भएको छ । आज यदि नेपालले जितेको भए रोहितको इनिङको महत्त्व धेरै गुणा बढ्ने थियो । यसमा उनी अभागी ठहरिएका छन् ।

रोहितका कीर्तिमान

आजको इनिङमार्फत रोहितले व्यक्तिगत कीर्तिमानको वर्षा गरे । उनी नेपालका लागि एक दिवसीयमा सर्वाधिक रन बटुल्ने ब्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड ज्ञानेन्द्र मल्लको नाममा थियो । ज्ञानेन्द्रले १९ खेलबाट ४८० रन बनाएका थिए । त्यसलाई १६ खेलमै रोहितले उछिनेका छन् । उनको खातामा ५८८ रन चढेको छ ।

एउटै म्याचमा सर्वाधिक रनको कीर्तिमान पनि रोहितले आफ्नो नाममा लेखाए । यसअघि पारस खड्काले यूएईविरुद्ध हानेको ११५ रन नेपाली ब्याट्सम्यानको सर्वाधिक स्कोर थियो । त्यसलाई रोहितले पन्छाए । साथै, एक दिवसीयमा शतक हान्ने उनी दोस्रो नेपाली ब्याट्सम्यान बनेका छन् ।

रोहितले आरिफ शेखसँग सर्वाधिक ठूलो साझेदारीको रेकर्ड पनि बनाएका छन् । उनीहरूबिच १०४ रनको साझेदारी भएको छ । आरिफले ३४ रन बनाउँदै रोहितलाई साथ दिएका थिए । यसअघि सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान पनि यही जाेडीकाे नाममा थियाे ।  उनीहरूले पीएनजीविरुद्ध नै १०० रनको साझेदारी गरेका थिए ।

युवा ब्याट्सम्यान रोहितले भर्खरै युएईमा सम्पन्न भएको त्रिकोणात्मक प्रतिस्पर्धामा पनि उच्चस्तरको प्रदर्शन गरेका थिए । विश्वकप लिग २ अन्तरगत यूएई र पपुवा न्यूगिनीविरुद्धको प्रतिस्पर्धामा नेपालले २ जित र २ हारको नतिजा निकाल्दा नेपालका तर्फबाट रोहितको प्रदर्शन सर्वोत्कृष्ट थियो । त्यही फर्मलाई उनले आज घरेलु म्याचमा निरन्तरता दिएका छन् ।

आजको खेलमा नेपालको ब्याटिङ लय कुशल भुर्तेलले सुरु गरेका थिए । उनले आक्रामक अन्दाजमा ब्याटिङ गर्दै नेपाललाई अघि बढाए, तर अर्को इन्डबाट सपोर्ट मिलेन । कुशलको जोडीका रूपमा ओपनिङमा ल्याइएका अनिल शाहले बल धेरै खपत गरे, तर रन बनाएनन् । जसले गर्दा कुशलमाथि भार थपियो । कुशल आउट भएपछि ‘रोहित शो’ सुरु भएको थियो ।

आठौं विकेटका रूपमा रोहित आउट हुँदा नेपालले ४५.२ ओभरमा २५१ रन बनाएको थियो । नेपाललाई २८ बलमा ४२ रन चाहिएको थियो । यो असम्भव थिएन, किनकी नेपालको ब्याटिङ पंति आज ‘पुच्छरविहिन’ थियो । ९, १० र ११ नम्बरमा आएका सोमपाल कामी, कमल सिंह ऐरी र सन्दिप लामिछाने पनि धेरथोर ब्याटिङ गर्न सक्छन् । सोमपाल र कमलले नेपाललाई जितको नजिक पुर्‍याएका पनि थिए । तर अन्तिम ओभरमा पीएनजीका बलर नोर्मान भनुवाले उत्कृष्ट बलिङ गरे । नेपाललाई अन्तिम ओभरमा ९ रन चाहिएको थियो । कसिलो बलिङ गर्दै भनुवाले ३ रन मात्रै खर्चिएपछि नेपाल आफ्नो सर्वाधिक ठूलो रन चेजको किर्तिमानबाट ६ रनले चुक्यो ।

टिम छनोटमा गल्ति

आजको हारको समिक्षा गर्ने हो भने नेपालले टिम छनोटमै गरेको गल्तिको सजाय पाएको भन्न सकिन्छ । सिनियर खेलाडीहरुलाई एकैपटक टिमबाहिर राखेर नेपालले अनुभवहिन युवा ब्याट्सम्यानहरुको लामो पंति बनाएको थियो ।

नेपालले ओपनिङमा कुशलसँग मिलेर राम्रो जोडी बनाएका आसिफ शेखलाई हटाउनु पहिलो गल्ति हो । आसिफले यूएईमा राम्रो प्रदर्शन गर्न सकेनन्, तर घरेलु मैदानमा उनी नेपालका उत्कृष्ट ओपनर हुन् । उनको ठाउँमा ल्याइएका अनिल शाहलाई यो लेभलका क्रिकेटका लागि तयार देखिँदैनन् ।

मध्यक्रममा पनि ज्ञानेन्द्र मल्लको अभाव खट्कियो । नेपालले मध्यक्रममा भीम सार्की, देव खनाल र पवन सर्राफलाई मौका दियो । उनीहरु तिनैजना फेल भए । नेपालको ब्याटिङ गहिरो बन्यो, तर कमजोर । ब्याटिङका लागि अनुकुल पिचमा नेपालले बलिङलाई बढी धारिलो बनाउनुपर्ने थियो । यूएईको बलिङ पीचमा धेरै बलर खेलाउनु र त्रिविको ब्याटिङ पीचमा धेरै ब्याट्सम्यान खेलाउनु प्रशिक्षकको रणनीतिक त्रुटी हो । गर्नुपर्ने ठीक उल्टो थियो ।

आजको म्याचमा नेपालले तीन मात्रै विशेषज्ञ बलर खेलाएको थियो, सोमपाल कामी, कमल सिंह ऐरी र सन्दिप लामिछाने । सोमपाल नराम्ररी चुटिँदा उनको ठाउँमा अर्को फास्ट बलर भएन । सोमपालले २ विकेट त लिए तर निकै महंगो सावित भए । सन्दिप लामिछानेको बलिङलाई पनि पीएनजीले भाउ नदिएपछि ठूलो लक्ष्य निश्चित भएको थियो ।

म्याच हारे पनि आजको प्रदर्शनले नेपालको आत्मविश्वास भने बढाउने छ । खासगरि, रोहितको ब्याटिङ भविष्यका लागि धेरै आशा जगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर