राप्रपासँग तालमेल गर्न केपी ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगे : माधव नेपाल (भिडिओ) – Nepal Press

राप्रपासँग तालमेल गर्न केपी ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगे : माधव नेपाल (भिडिओ)

एमसीसीमा ओलीसँग मिलेर देउवाले धोका दिनुभएन, आफैं जित्ने ठाउँको पनि हिसाब गर्दै गरौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलबीच चुनावी तालमेलका लागि कांग्रेसको निर्णय पर्खेर बसेको बताएका छन् ।

उनले एमाले पनि गठबन्धनका लागि आतुर रहेको दाबी गरे । केपी ओली राप्रपासँग तालमेल गर्न खोजिरहेको टिप्पणी गर्दै नेपालले भने, ‘हामीलाई कमजोर छ, त्यसैले तालमेल गर्न मरिमेटी लागेको आरोप लगाउँदैछन् तर केपी ओली पनि गठबन्धन गर्दैछन् । सुटुक्क ज्ञानेन्द्रको निवास पुगेका छन्, राप्रपासँग तालमेल गर्न । विदेशीको दलाली गर्ने पार्टीसँग मिल्न खोजेका छन् ।’

पार्टीनिकट महिला संघको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालमेल गर्ने कुरामा देउवासँग विश्वस्त रहेको बताए ।

‘देउवाले एमसीसीका बेला पनि केपी ओलीले कुरा गर्दा म धोकाको राजनीति गर्दिनँ भन्नुभयो । उहाँ सकारात्मक हुनुहुन्छ,’ उनले भने,‘हामी पार्टीको निर्णय के हुन्छ ? पर्खेर बसेका छौ ।’

यद्यपी जुनसुकै अवस्थाका लागि आफू तयार रहनुपर्ने उनले बताए । ‘देउवाको विश्वास छ, तर केही भन्न सकिन्नँ । आफ्नै बलबुताले चुनाव लड्न तयार रहनुपर्छ,’ उनले भने ।

यसका लागि पार्टीपंति तयार रहेर बस्न उनले निर्देशन दिए । उनले भने, ‘हामी एक्लै लड्न नि सक्छौं । आफ्नै बुताले कहाँकहाँ जितिन्छ, त्यसको पनि हिसाब गरेका छौं । आफ्नो स्थानबाट तपाईंहरू पनि गर्नुस् ।’

गठबन्धन दलहरूबीच चुनाव तालमेल हुनु लोकतान्त्रिक पद्धति रहेको उनले बताए ।


प्रतिक्रिया

One thought on “राप्रपासँग तालमेल गर्न केपी ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगे : माधव नेपाल (भिडिओ)

  1. तिमीजस्ताे दिल्ली र पश्चिमाकाे दलाल भन्दा त नागरिक ज्ञानेन्द्र धेरै गुणा ठिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर