छत्तीस वर्षपछि जग्गाधनी पुर्जा पाउँदै सुर्खेतको भेरीगङ्गाबासी – Nepal Press

छत्तीस वर्षपछि जग्गाधनी पुर्जा पाउँदै सुर्खेतको भेरीगङ्गाबासी

सुर्खेत । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएकोे छ । विसं २०४२ देखि पुर्जाविहिन यो बस्तीलाई राष्ट्रिय भूमि आयोगको कार्यविधि २०७८ ले तोकेबमोजिमका सबै प्रक्रिया पूरा गरी पुर्जा वितरण गर्न लागेको हो ।

आयोगले नापी र मालपोत कार्यालयबाट सबै प्रक्रिया पूरा गरेपछि तयार भएका पुर्जा भेरीगङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने र नगरपालिकाले नै पुर्जा वितरण गर्ने बताइएको छ । आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्यालले कोटमाझखर्कका ६७७ परिवारको आवेदन परेकाेमा पहिलो चरणमा ४१७ जनालाई पहिलो प्राथमिकतामा राखेर पुर्जा वितरण गरिने जानकारी दिए । आयोगले यसअघि सात दिने सूचना जारी गरी थप कागजात, पूरक प्रमाण वा कुनै दाबी विरोध वा उजुरीका लागि जग्गाधनी प्रमाणपत्र पाउने व्यक्तिको नामावली सार्वजनिक गरेको थियो ।

विगतमा बनेका भूमिसम्बन्धी आयोग र समितिले तयार गरेको लगतलाई आधार बनाएर पुर्जा वितरण गर्ने अन्तिम तयारी गरिएको जिल्ला अध्यक्ष पौड्यालको भनाइ छ । निवेदनमाथि छानबिन, मिसिल भिडाउने, नापी र मालपोतमा रुजु गर्नाका साथै निवेदनमा छुटेका कागजात माग गरी कित्ताकाटको प्रक्रिया सुरु भएको उनले बताए । प्राविधिक टोलीले पुर्जा वितरणका लागि सबै तयारी गरिरहेकोले अबको एक हप्ताभित्र पुर्जा वितरणको काम सुरु गर्ने गरी तयारी भइरहेको छ ।

लामो समयदेखि जग्गाधनी पुर्जा नपाउँदा त्यहाँका बासिन्दा बैंकिङ कारोबार, विद्युत्लगायत सेवाबाट वञ्चित थिए । आयोगको जिल्ला कार्यालयका अनुसार कोटमाझखर्कको आठ हजार १५५ रोपनी जग्गाको नक्साङ्कन गरेको  । सुर्खेतमा पाँच हजार ९९४ भूमिहीन घरपरिवारको लगत सङ्कलन गरिएकोमा अव्यवस्थित बसोबास गरिरहेका ४७ हजार ४४१ घरपरिवारले पनि आयोगमा निवेदन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *