सानेपामा देउवाविरुद्ध नाराबाजी, नेवि संघ र तरुण दल अध्यक्ष मनोनयनको विरोध (तस्बिरहरू) – Nepal Press

सानेपामा देउवाविरुद्ध नाराबाजी, नेवि संघ र तरुण दल अध्यक्ष मनोनयनको विरोध (तस्बिरहरू)

काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय अगाडि विरोध प्रदेश गरेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक सुरू हुनै लाग्दा नेताहरूको ध्यानाकर्षण गराउँदै शेखर कोइराला समूहका नेविसंघ र तरुण दलका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

प्रदर्शन गर्ने थाहा पाएर बिहानैदेखि पार्टी कार्यालय आसपास प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनका क्रममा मुख्य सडक नै अवरुद्ध भएको छ ।

उनीहरूले ‘देउवा प्रवृत्ति बन्द गर, एकलौटीपन बन्द गर, हाम्रो घर ( पार्टी कार्यालय ) जान दे, नालायक सभापति मुर्दावाद, प्रहरी हस्तक्षप बन्द गर’ जस्ता नारा लगाएका छन् ।

दुई दिनअघि सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको म्याण्डेटअनुसार भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा परामर्श नगरेको र आफ्नो समूहलाई पेल्न खोजेको भन्दै शेखर कोइराला समूहले देशभरका तरुण विद्यार्थी नेताहरूलाई काठमाडौं बोलाउने निर्णय गरिसकेको छ ।

बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा हिजो बसेको बैठकमा संस्थापन पक्षले पेलेर जान खोजेकोले समानान्तर समिति बनाएर भएपनि प्रतिवाद गर्नुपर्ने आवाज उठेको थियो ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर