रामचन्द्रको भेलामा बलबहादुरले भने- मेरो टिमको नेता शेखर कोइराला हो – Nepal Press

रामचन्द्रको भेलामा बलबहादुरले भने- मेरो टिमको नेता शेखर कोइराला हो

पौडेलको जवाफ- रामचन्द्र र शशांकलाई पाखा लगायौं भन्ने नठान्नुहोला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार बिहान आफ्नै निवासका पार्टीका केही नेताहरू बोलाए । १३ औं महाधिवेशनमा सभापतिको प्रत्यासी रहँदा आफ्नो समूहमा रहेका केन्द्रीय नेता तथा जिल्ला सभापतिहरुलाई पौडेलले बोहराटारस्थित निवासमा बोलाएका थिए ।

बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य एवं कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य मधु आचार्यलगायतका नेता सहभागी थिए । त्यस्तै तनहुँ कांग्रेसका सभापति जितप्रकाश आले, पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, बाजुराका सभापति रामसिंह रावल, धादिङका पूर्वसभापति रमेश धमला, सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामालगायतका नेताहरू बोहोराटार पुगेका थिए ।

बैठकको सुरूमा पौडेलले लामो समयदेखि संवाद हुन नपाएको र स्थानीय निर्वाचन सन्निकट रहेकोले छलफल गर्न बोलाएका बताएका थिए ।

बैठकमा बोल्ने सबैजसो नेताहरूले चुनावी तालमेलबारे केन्द्रबाट निर्णय लाद्न नहुने, स्थानीय आवश्यकताअनुसार निर्णय गर्न स्थानीय समितिलाई अधिकार दिनुपर्ने लगायतका सुझाव दिए । बैठकमा १४ औं महाधिवेशपछि पुरानो समूह झन् कमजोर बन्दै गएको अधिकांशले चिन्ता व्यक्त गरेका थिए ।

बैठकमा ढिलोगरी पुगेका केन्द्रीय सदस्य बलबहादुर केसीको प्रस्तुति भने फरक रह्यो । उनले पौडेललाई ‘मेरै गुट छन् भनेर देखाउन बोलाएको हो ?’ भनी प्रश्न गरेका थिए । केसीले पार्टीभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई नेता मान्न आफूलाई समस्या नभएपनि आफ्नो टिमको नेता भने डा. शेखर कोइराला रहेको बताए ।

‘तपाईं र शेरबहादुरलाई नेता मान्न मलाई समस्या छैन तर आज मेरो नेता शेखर कोइराला हो । म उहाँकै टिममा छु’, केसीले भनेका थिए । उनले छरिएर हिँड्दा तागत घट्दै गएको भन्दै पुरानो टिम फेरि एकैठाउँ उभिनुपर्ने आवश्यकता पनि औल्याए । केसीले ‘पौडेलको भेलामा आउँदा प्रकारान्तरले देउवाकहाँ पुगिने त होइन ?’ भन्ने प्रश्नसमेत राखे ।

केसीको भनाइमा पौडेलले तत्कालै जवाफ दिएका थिए । पौडेलले गुटका लागि भेला नगरेको तर कांग्रेस र मुलुकका लागि के गर्दा उपयुक्त हुन्छ भनेर सल्लाह गर्न खोजेको बताए ।

‘मैले गुटबन्दी गर्न बोलाएको होइन । निर्वाचन नजिकै आएकोले गम्भीर विषयहरूमा छलफल गर्न साथीहरुलाई बोलाएको हुँ’, पौडेलको भनाइ थियो । पौडेलले आफू र डा.शशांक कोइरालालाई ‘पाखा लगायौ’ भनेर खुसी नहुन समेत आग्रह गरे ।

‘रामचन्द्र र शशांकलाई पाखा लगायौं भन्ने सोचेको हो भने के भन्नु छ र ? हामी दुईको साथ चाहिने साथीहरूका लागि हामी हिजो पनि थियौं, आज पनि छौं’, शशांकतिर हेर्दै पौडेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर