गठबन्धन हुँदा काठमाडौं महानगरमा नेकपा एसको दाबी, जीवनरामलाई मेयरमा अघि सार्ने तयारी – Nepal Press

गठबन्धन हुँदा काठमाडौं महानगरमा नेकपा एसको दाबी, जीवनरामलाई मेयरमा अघि सार्ने तयारी

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले स्थानीय चुनावमा सत्ता गठबन्धन हुँदा काठमाडौं महानगरपालिकाको मेयर दाबी गर्ने भएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलमध्ये काठमाडौं महानगरमा कांग्रेसपछि आफ्नो शक्ति दोस्रो स्थानमा रहेको नेकपा एसको ठम्याइ छ ।

नेकपा एसका काठमाडौं जिल्ला अध्यक्ष कुसुम कार्कीले गठबन्धनको निर्णय शीर्ष तहबाटै हुने भएकाले अहिले नै काठमाडौंका कतिवटा स्थानीय तह दाबी गर्ने भन्ने टुंगो नलागेको बताए । तर, काठमाडौं महानगरपालिकामा आफूहरुको दावी हुने उनले नेपाल प्रेसलाई बताए ।

अध्यक्ष कार्कीले भने, ‘पार्टीले शीर्ष तहमा कुन महानगर लिने भन्ने टुंगो लाग्ला । तर, हामीले काठमाडौं महानगरपालिकामा सशक्त दाबी गरेका छौं । यहाँ एमालेले जितेको हो । एमालेको जनमत हामीले भत्काइसकेका छौं र हाम्रो पक्षमा लहर बढिरहेको छ । समग्रमै काठमाडौंमा नेकपा एसको पक्षमा मान्छेहरुको आकर्षण बढेको छ ।’

नेकपा एसले गठबन्धनबाट काठमाडौंको मेयर पाएमा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी रहेको छ । श्रेष्ठ २०७४ मा पनि मेयरको दाबेदार थिए । उनी २०४९ मा काठमाडौं महानगरपालिका वडा नम्बर १५ को वडाध्यक्ष थिए ।

गठबन्धन भएमा श्रेष्ठ मेयर उठ्ने र नहुँदा उनी अर्को मन्त्रिपरिषद् हेरफेरमा मन्त्री बन्ने लगभग निश्चित छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठलाई मेयरमा अघि सार्दा खेलाडीहरू र नेवार समुदाय पनि परिचालित हुने र जित सहज हुने आँकलन नेकपा एसको छ ।

यदि गठबन्धन हुँदा मेयर नेकपा एसले नपाएको खण्डमा उपमेयरमा ईश्वर डंगोललाई अघि सार्ने तयारी पार्टीको छ । डंगोल हाल वडा नम्बर १५ का वडाध्यक्ष हुन् । महानगरपालिकाका १८ वडा एमालेले जितेको वडा नम्बर ७ का शुद्ध डंगोल र १५ का इश्वर डंगोल नेकपा एसमा छन् ।

काठमाडौंका ११ नगरपालिकामध्ये नेकपा एसले गठबन्धन हुँदा महानगरसहित कम्तिमा तीनवटामा मेयर दाबी गर्ने भएको छ । नेकपा एसले हालसम्मको अभियानबाट शंखरापुर, कागेश्वरी मनहरा, कीर्तिपुर र बूढानीलकण्ठ नगरपालिकामा आफ्नो शक्ति मजबुत भएको निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर