दुई पूर्वमन्त्रीले छाडे हृदयेश त्रिपाठीको साथ, एमाले प्रवेश गराउन ओली कपिलवस्तु आउँदै – Nepal Press

दुई पूर्वमन्त्रीले छाडे हृदयेश त्रिपाठीको साथ, एमाले प्रवेश गराउन ओली कपिलवस्तु आउँदै

रुपन्देही । हृदयेश त्रिपाठीसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूहमा रहेका पूर्वमन्त्री वृजेशकुमार गुप्ता र धर्मबहादुर लाल श्रीवास्तवले त्रिपाठी समूह छाडेका छन् ।

सुर्य चिन्ह लिएर चुनाव जिते पनि स्वतन्त्र सांसदका रुपमा रहेका प्रतिनिधिसभ सदस्य गुप्ता र प्रदेशसभा सदस्य श्रीवास्तवसहित कपिलबस्तुका घरानीया प्रभावशाली राजनीतिक व्यक्तिहरु सामुहिक रुपमा एमाले प्रवेश गर्ने भएका छन् ।

संघीय र प्रदेश सांसदसहित करिब ५ हजार नेता कार्यकर्तालाई नेकपा एमालेमा प्रवेश गराउन पार्टी अध्यक्ष केपी शर्मा ओली चैत १४ गते कपिलवस्तु आउने निश्चित भएको सो पार्टीका जिल्ला इन्चार्ज बलराम अधिकारीले जानकारी दिए ।

दुई जना पूर्वमन्त्रीहरु तथा सांसदसहित क्षेत्र नं २ र १ बाट ५ हजारभन्दा बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने उनले बताए । यस्तै कृष्णनगरबाट डा. रुद्रप्रताप शाह, शाह परिवारकै प्रभावशाली युवा कुडालप्रताप शाहसहित ३ हजारभन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गर्ने अन्तिम तयारीमा रहेको एमाले नेता भेषराज पाण्डेले जानकारी दिए ।

अध्यक्ष ओली कपिलवस्तु आउने भएपछि कार्यक्रमलाई पार्टी प्रवेश तथा कपिलवस्तुको चुनावी सभा गर्ने तयारी गरेको छ । एमाले नेता अधिकारीका अनुसार यो सभामा ३० हजारभन्दा बढी जनसहभागिता जुटाउने तयारी भइरहेको छ । कपिलवस्तुलाई एमालेको लालकिल्ला बनाउने अभियानमा जुटेको जिल्ला अध्यक्ष डम्मर शर्माले बताए ।

हालसम्म राजमार्गमा मात्र एमाले छ भन्नेहरुलाई एमाले अव सुठौली बैदौली चाकडचौडा र कृष्णनगरमा पनि बलियो छ भन्ने गरी सन्देश दिन १४ चैत्तको जनसभा पार्टी प्रवेशसहित वृहत रहने बताए । रुद्रप्रताप शाह कृष्णनगर क्षेत्रका प्रभावशाली व्यक्ति हुन् ।

अध्यक्ष ओली दोश्रो पटक कपिलवस्तु आउन लागेका हुन् । यसअघि सोही क्षेत्रका प्रभावशाली नेता मंगलप्रसाद गुप्तासहित ४ हजार ५ सयलाई एमाले प्रवेश गराउन अध्यक्ष ओली पुस ६ गते कपिलवस्तु आएका थिए ।

को हुन् गुप्ता ?

वृजेशकुमार गुप्ता कपिलवस्तु क्षेत्र नम्बर २ बाट २०७४ सालमा प्रतिनिधि सभामा विजयी भएका थिए ।

नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई ३५८१ मतान्तरले पराजित गरेर उनी चर्चामा आएका थिए ।

गुप्ताले कुल ३५ हजार १२७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए ।

तमलोपाबाट छुट्टिएको हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट उनले कपिलवस्तु क्षेत्र नम्बर २ बाट गुप्ता सूर्य चिन्ह लिएर चुनाव लडेर विजयी भएका थिए । योसँगै उनी कपिलवस्तुबाटै चौथो पटक सांसद निर्वाचित भएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पृष्ठभूमिबाट आएका उनी २०५६ सालमा राप्रपाबाट निर्वाचित भएका थिए । मधेस आन्दोलनपछि तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेर निरन्तर राजनीतिमा रहेका उनी सोही पार्टीबाट पहिलो संविधानसभा र दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएर २०६१ सालमा भौतिक निर्माण मन्त्री र २०६९ साल कानुनमन्त्री बनेका थिए ।

गत मंसिरमा सांसद् हृदयेश त्रिपाठीले नेतृत्वमा गठन भएको जनता प्रगतिशील पार्टीमा गुप्ता रहेका थिए । त्रिपाठी पनि २०७४ को निर्वाचनमा चुनाव चिह्न सूर्य लिएर विजयी भएका हुन् । उनी सूर्य चिन्ह लिएर प्रतिनिधिसभामा नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

गुप्तासँगै एमालेमा आउन लागेका प्रदेश सभातर्फ धर्मबहादुरलाल श्रीवास्तव कपिलवस्तु क्षेत्र नम्बर २ को ‘ख’ निर्वाचित भएका थिए । लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढल्ने समयमा उनी मन्त्री बनेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर