स्थानीय तहमा गठबन्धन : कांग्रेस प्रदेश सभापति र प्रधानमन्त्रीपत्नीकै कुरा बाझियो – Nepal Press

स्थानीय तहमा गठबन्धन : कांग्रेस प्रदेश सभापति र प्रधानमन्त्रीपत्नीकै कुरा बाझियो

कैलाली । केही दिन पहिले नेपाली कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले डोटीमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा आगामी स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा गठबन्धन नहुने दाबी गरे । गठबन्धनमा रहेका दलहरूले नेपाली कांग्रेसलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराएको भन्दै सुदूरपश्चिममा गठबन्धन नरहेको र आगामी दिनमा पनि नहुने स्पष्ट पारेका थिए ।

‘सुदूरपश्चिम सरकारमा अहिले गठबन्धन छैन । हामीलाई गठबन्धनका दलहरूले पाखा लगाएका छन् । आगामी निर्वाचनमा पनि गठबन्धन हुँदैन’ उनले कार्यक्रममा भनेका थिए ‘नेपाली कांग्रेसका कार्यकर्ताले रुखमा भन्दा अर्को चुनाव चिन्हमा भोट हाल्ने छैनन् ।’

प्रदेश सभापति बलायरले नै गठबन्धन नहुने बताएपछि सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ताहरू पनि गठबन्धनको सम्भावना न्यून रहेको बताउँदै आएका थिए । तर, कांग्रेस प्रदेश सभापति बलायर र कांग्रेस नेतृ तथा प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाको कुरा बाझिएको छ । उनलेले पाँच दलीय गठबन्धन निर्वाचनमा पनि हुने दाबी गरेकी छन् ।

‘पाँच दलीय गठबन्धन निर्वाचनमा पनि हुन्छ । पार्टीको लाइन पनि गठबन्धन भएर जाने भन्ने हो बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन् ‘एक्ला एक्लै लड्न त्यति सजिलै पनि छैन । बिचका अरू पनि पार्टी छन् । ’

प्रदेश सभापतिले सार्वजनिक कार्यक्रममै कांग्रेसले गठबन्धन गर्न नहुने र नगर्ने भन्दै आइरहेका बेला प्रधानमन्त्री पत्नीले गठबन्धनको दाबी गरेकी हुन् । सुदूरपश्चिममा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा चर्चा चाहिरहेका बेला बुधबार सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावलले समेत पाँच दलीय गठबन्धनको वकालत गरेका थिए ।

रिपोर्टस क्लबले वुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा रावलले अहिले पनि पाँच दलीय गठबन्धनको आवश्यकता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताएका थिए । गठबन्धन गरेपछि विश्वासका साथ सबै दल अघि बढ्नुपर्नेमा रावलको जोड थियो । रावलकै नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भने माओवादी र एकीकृत समाजवादीले सहभागी गराएको छैन ।

गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अहिलेसम्म कांग्रेसले कुनै निर्णय गर्न सकेको छैन । तर, कांग्रेसनिकटका नेताहरू भने आफू अनुकूल व्याख्या गर्दै आइरहेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन गरेर निर्वाचनमा होमिन चाहेको उनीनिकट नेताहरू बताउँछन् । देउवापत्नीले दिएको अभिव्यक्तिलाई पनि धेरैले यसरी बुझेका छन् । गठबन्धन हुने वा नहुने भन्ने विषयमा देउवा निकट नै नेताहरू विभाजित भएका हुन् ।

नेपाली कांग्रेस कैलालीका उपसभापति भीम बडुवालले भने गठबन्धन नगरेरै आफूहरुले कैलालीका सबै स्थानीय तह जित्ने दाबी गरेका छन् ।
‘हामी गठबन्धन नगरेरै कैलालीका १३ वटै स्थानीय तह जित्छौँ’ उनले भने ‘पार्टी हार्छ कि भन्ने डरले नेताहरूले गठबन्धनको कुरा गरिरहनु भएको छ हामी पार्टीलाई जितेर देखाउँछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर