तमोर जलाशययुक्त आयोजना प्राथमिकतामा राख्न प्रभावित क्षेत्रका सांसदको ध्यानाकर्षण (भिडिओ) – Nepal Press

तमोर जलाशययुक्त आयोजना प्राथमिकतामा राख्न प्रभावित क्षेत्रका सांसदको ध्यानाकर्षण (भिडिओ)

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी को नेपाल भ्रमणका समयमा तमोर जलाशययुक्त आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

आयोजना प्रभावित क्षेत्रका जनताको तर्फबाट प्रतिनिधिसभाका सांसदहरू योगश भट्टराई, विजय सुब्बा, भवानीप्रसाद खापुङ, वसन्त नेम्वाङ र राजेन्द्र राईले विहीबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै एमाले नेता तथा प्रतिनिधिसभाका ताप्लेजुङका सांसद योगेश भट्टराईले यसअघिको सरकारलाई पनि उक्त आयोजना अघि बढाउन ध्यानाकर्षण गर्दै आएपनि सोचे अनुरूप काम अघि बढ्न नसकेकाले पुन: ध्यानाकर्षण गरिएको बताए । उक्त आयोजना निर्माण भए प्रदेश १ का साथै सिंगो मुलुकको आर्थिक समृद्धि लागि दिर्घकालीनरूपमा ढोका खुल्ने सांसद भट्टराईको भनाइ छ ।

प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा हुँदै बहने तमोर नदीमा २०५ मिटर अग्लो बाँध बाँधेर ७६३ मेगावाट विद्युत उत्पादन गर्न चीनका राष्ट्रपति सी जिनपिङ नोभेम्बर २०१९ मा भएको नेपाल भ्रमणका क्रममा लगानी बोर्ड र पावर चाइना कर्पोरेशनबीच सम्झौता भएको थियो ।

सम्झौताको समयमा दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरेर ८ वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म लगानीको मोडल निश्चित हुन नसकेको ज्ञापनपत्रमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर