प्रधानमन्त्री देउवा आगामी साता भारत जाने, रेलसेवाको संयुक्त उद्घाटन तयारी – Nepal Press

प्रधानमन्त्री देउवा आगामी साता भारत जाने, रेलसेवाको संयुक्त उद्घाटन तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २१ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाको भ्रमणबारे अहिले दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको बताइन्छ ।

यसअघि भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री देउवा गत जनवरीमै भारत जाने तय भएको थियो । कोरोनाको तेस्रो लहरका कारण सो सम्मेलन स्थगित भएपछि देउवाको भ्रमण पनि रोकिएको थियो ।

लामो समयदेखि भारतमा नेपाली राजदूत रिक्त रहँदै आएको थियो । हालै डा. शंकरप्रसाद शर्मा भारतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । शर्मा छिट्टै नयाँ दिल्ली पुगेर प्रधानमन्त्रीको भ्रमण तयारी जुट्ने जनाइएको । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत रेलसेवाको संयुक्त उद्घाटन गर्नेछन् । रेल सेवासम्बन्धी अध्यादेश हालै राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।

प्रधानमन्त्रीको भ्रमण तालिका र भ्रमण दलका सदस्यबारे औपचारिक निर्णय हुन भने बाँकी नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर