चितवन कांग्रेसको एकस्वर- लादेको निर्णय मान्दैनौं, भरतपुरको मेयर छाड्दैनौं – Nepal Press

चितवन कांग्रेसको एकस्वर- लादेको निर्णय मान्दैनौं, भरतपुरको मेयर छाड्दैनौं

चितवन । सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको विषय निर्णायक चरणमा प्रवेश गर्दा चितवनका कांग्रेसीहरूले भने केन्द्रबाट लादिने तालमेल अस्वीकार गर्ने निर्णय गरेका छन् । भरतपुर महानगरपालिकामा यसअघिको स्थानीय निर्वाचनमा कांग्रेसले माओवादीसँग तालमेल गरेको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल कांग्रेससँगको तालमेलबाट भरतपुरमा मेयर बनेकी थिइन् । संघीय निर्वाचनमा पनि चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकलाई मैदान छाडेको थियो ।

यसपटक भने केन्द्रले लादेको तालमेल अस्वीकार गर्ने निर्णय चितवनका कांग्रेस नेताहरूले गरेका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, पूर्व जिल्ला सभापतिसहित चितवन कांग्रेसले बुधबार गरेको बैठकले तालमेलको नाममा भरतपुर महानगरपालिकाको मेयर कुनै पनि हालतमा नछाड्ने निर्णय समेत गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू अञ्जनी श्रेष्ठ, दिनेश कोइराला, शान्ति परियार, पूर्व जिल्ला सभापतिहरू जितनारायण श्रेष्ठ, कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे, तोपमान गुरुङ, पूर्व सांसद सावित्री बोगटी, भरतपुर महानगर सभापति चित्रसेन अधिकारी , जिल्ला पदाधिकारीहरू लगायतको उपस्थिति थियो । भेलामा बोल्ने सबैजसो नेताहरूले चितवनमा स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने र तालमेल नै गर्ने भए भरतपुर महानगरको मेयर नछाड्ने गरी हुनुपर्ने धारणा राखेका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड विहीबार बिहानै चितवन पुगेर जिल्लाका नेताहरूले भन्दैमा नहुने र केन्द्रबाटै तालमेलको निर्णय हुने बताएका छन् । यसै सन्दर्भमा चितवनका कांग्रेस नेताहरूलाई हामीले चुनावी तालमेलबारे तपाईको धारणा के हो भनी सोधेका छौं । प्रस्तुत छ उनीहरूको धारणा, जस्ताको तस्तै –

दिनेश कोइराला, केन्द्रीय सदस्य

चितवनमा नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्षम छ । अघिल्लो स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा मेरै टिकट खोसेर कांग्रेसले माओवादीलाई सहयोग गरेको हो । त्यतिबेला हामीले स्थानीय निर्वाचनमा माओवादी जितायौं तर संसदीय निर्वाचनमा माओवादीले एमालेसँग तालमेल गर्‍यो । अघिल्लोपटक नै माओवादी गद्दारी गरेर गठबन्धनको माहोल बिगारिसकेको छ । अहिले यदि गठबन्धन गर्नै पर्ने आवश्यकता हो भने माओवादीले निशर्त हामीलाई सहयोग गर्नुपर्छ । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसलाई निशर्त समर्थन गरेपछि मात्रै माओवादीसँग सहकार्यको वातावरण बन्छ । म माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गर्छु, आफ्नो पद जोगाउन धेरै धम्कीको भाषा नबोल्नुहोला । माओवादीलाई चुनाव जिताइदिनुपर्ने बाध्यता कांग्रेसका मतदातालाई छैन । यदि तालमेल गर्ने नै हो भने हैसियतका आधारमा गरौं । चितवनका कांग्रेस नेतालाई छलेर केन्द्रीय नेतृत्वसँग मात्रै कुरा मिलाउँछु भनेर माओवादीले सोचेको छ भने हामीलाई स्वीकार्य हुँदैन । त्यसको परिणाम राम्रो आउँदैन ।

राजेश्वर खनाल, चितवन सभापति

स्थानीय सरकार निर्माणमा पार्टीको स्थानीय समिति नै निर्णायक हुनुपर्छ भन्ने चितवन कांग्रेसको पहिलो धारणा हो । चितवनको धरातलीय यथार्थ, मतदाताको मनोभावना बुझेर निर्णय लिन चितवन कांग्रेस सक्षम छ । हामीले जिल्लाका सबै सिनियर नेताहरूसँग छलफल गरेका छौं । चितवनमा कांग्रेसको ग्राउण्ड बलियो भएकाले पार्टी र मतदातालाई धक्का पुग्ने कुनैपनि निर्णय केन्द्रले लिनुहुँदैन भन्ने सबैको धारणा छ । निर्वाचनमा एक्लै जानुपर्छ र गठबन्धनबाट कांग्रेसलाई कुनै फाइदा छैन । कांग्रेसजस्तो पार्टीका लागि चितवन जस्तो जिल्लामा चुनाव हार्ने वा जित्नेभन्दा जनतामा जाने कुरा महत्वपूर्ण हो । विगतमा गठबन्धन गर्दापनि कांग्रेसका लागि लाभदायी हुन सकेन । यदि राष्ट्रिय राजनीतिका कारण गठबन्धन गर्नु नै पर्ने हो भनेपनि स्थानीय निर्वाचनको सन्दर्भमा पार्टीको स्थानीय संयन्त्रबाटै टुंगो लगाउन पाउनुपर्छ । केन्द्रबाट लादिएको निर्णयले परिणाम दिएन भने त्यसको जवाफदेहिता चितवन कांग्रेसले लिदैन । जहाँसम्म भरतपुर महानगरपालिकाको विषय छ, भरतपुरमा कांग्रेस पहिलो शक्ति हो । भरतपुरको मेयर छाडेर अरु विषयमा छलफल गर्नै सकिँदैन ।

जितनारायण श्रेष्ठ, चितवन निवर्तमान सभापति

चितवन भनेको कांग्रेसको बलियो संगठन भएको जिल्ला हो । पटक-पटक अरु पार्टीलाई भोट हाल्नुपर्ने बाध्यता चितवनका कांग्रेसीलाई छैन । चुनावी तालमेलको कुरा गर्ने हो भने त्यो न्यायोचित हुनुपर्छ । पटक-पटक माओवादीलाई भोट हाल्नुपर्ने हो भने त्यो कसरी तालमेल भयो र ? विगतमा भरतपुर महानगरमा कांग्रेसले माओवादीलाई मेयर दिएकै हो । यसपटक माओवादीले भरतपुरको मेयरमा दाबी गर्न जरुरी छैन । यदि चुनावी तालमेल चाहेकै हो भने ग्राउण्डको तागतका आधारमा हुनुपर्‍यो । आजपनि चितवनमा कांग्रेस सबैभन्दा बलियो शक्ति हो । त्यसैले कांग्रेसको तागतलाई कमजोर पार्ने गरी हुने तालमेल हामीलाई स्वीकार्य छैन । गठबन्धन गर्ने हो भने न्यायोचित हुनुपर्‍यो । कांग्रेसका मतदाता धेरै भएका स्थानीय तहको नेतृत्व कांग्रेसले नै पाउने गरी हो भने तालमेलबारे सोच्नुपर्छ । अन्यथा हामीले सधैँ त्याग गर्नुपर्ने तालमेलको औचित्य छैन । कांग्रेसको केन्द्रीय नेतृत्वले स्थानीय नेता कार्यकर्ताको भावना बुझ्नुपर्छ, अन्यथा परिणामको भागीदार आफै बन्नुपर्छ ।

रामकृष्ण घिमिरे, चितवन पूर्वसभापति

चितवनमा हामीले अघिल्लो स्थानीय निर्वाचनमा माओवादीलाई भरतपुर महानगरको मेयर दियौं । हामीले मेयरमा माओवादीलाई भोट हाल्दा कतिपय वडामा भने माओवादीले एमालेसँग तालमेल गर्‍यो । माओवादी गठबन्धनमा इमान्दार देखिएको थिएन । अर्कोतिर संघीय निर्वाचनमा पनि कांग्रेसले क्षेत्र नम्बर ३ छाड्यो । यहाँका मतदाताले बारम्बार अरु पार्टीलाई मत दिनु परेकाले आक्रोश बढेको छ । धरातलमा उठेका विषयहरू सम्बोधन नगरी चुनावी तालमेल गर्दा प्रत्युत्पादक हुनसक्छ । हामीले ठाउँपनि छाड्ने जिताउन पनि नसक्ने हुनसक्छ । भरतपुरमा कांग्रेस पहिलो शक्ति हो भने एमाले दोस्रो र माओवादी तेस्रो शक्ति हो । चुनावी तालमेल जरुरी छ तर भरतपुरमा मेयर कांग्रेसले पाउनुपर्छ । चुनावी तालमेल राजनीतिक आवश्यकताको विषय हो तर त्यो स्वभाविक हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर