कांग्रेसमा चुनावी तालमेलको पक्षमा को, विपक्षमा को ? – Nepal Press

कांग्रेसमा चुनावी तालमेलको पक्षमा को, विपक्षमा को ?

काठमाडौं । स्थानीय तह निर्वाचन आउन डेढ महिनामात्रै बाँकी छ । सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको चर्चा भए पनि तार्किक निष्कर्षमा पुगिसकेको छैन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ठोस निर्णय नगरेका कारण स्थानीय निर्वाचनमा तालमेल हुने वा नहुने यकिन भइसकेको छैन ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको बैठकसम्म धैर्य गर्न गठबन्धनका नेताहरुलाई भनेका छन् । यद्यपि कांग्रेसभित्र चुनावी तालमेलबारे साझा धारणा बनिसकेको छैन ।

सभापति देउवाले स्थानीय निर्वाचनलगायतका विषयमा छलफल गर्न शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएका छन् । सोही बैठकबाट ‘गठबन्धन जोगाउन चुनावी तालमेल गरेर जाने निर्णय’ गराउने देउवाको तयारी छ । यद्यपि संस्थापन इतरपक्ष चुनावी तालमेलको पक्षमा छैन ।

डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतले निरन्तर चुनावी तालमेल गर्न नहुने मत राख्दै आएका छन् । सभापति देउवाले गठबन्धनको पक्षमा सके सहमतिमा नसके बहुमतबाटै भए पनि निर्णय लिने तयारी थालेका छन् । ‘गठबन्धन अहिलेको आवश्यकता पनि हो बाध्यता पनि हो । कांग्रेसले गठबन्धनका दलहरुलाई साथमा लिएर हिड्न उपयुक्त चुनावी तालमेल गर्नैपर्छ । पार्टीभित्र यसबारे फरक मत भएपनि निर्णय लिन सभापति तयार हुनुहुन्छ’, सभापति देउवानिकट एक नेताले भने ।

अर्कोतिर शेखर पक्ष भने केन्द्रीय समितिको बैठकमा चुनावी तालमेलको विरुद्धमा उभिने तयारी छ । चुनावी तालमेल गर्दा पार्टीले नेतृत्व नपाएका स्थानीय तहमा संगठन बिग्रने, आमनिर्वाचनको तयारीमा असर पर्ने तथा वैचारिक हिसाबले पनि तालमेलको लाभ कांग्रेसलाई नहुने शेखर पक्षको दाबी छ ।

‘चुनावी तालमेल गरेपनि हाम्रो सैद्धान्तिक धरातल मिल्दैन । कम्युनिष्टहरुले कांग्रेसलाई भोट दिदैंनन् । हामी एक्लै लड्नु नै उपयुक्त हो’, शेखर कोइरालाले केहीदिनअघि मोरङमा भनेका थिए ।

को पक्षमा, को विपक्षमा ?

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्नुपर्ने पक्षमा सभापति शेरबहादुर देउवा र उनीनिकट सबैजसो पदाधिकारी रहेका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चुनावी तालमेलको पक्षमा छन् । चुनावी तालमेलको विपक्षमा डा।शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्व महामन्त्री डा. शशांक कोइराला लगायत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर