बुटवल : १४ बिघा जग्गामा खुल्ला मञ्च निर्माण सुरु, यस्तो बन्नेछ संरचना – Nepal Press

बुटवल : १४ बिघा जग्गामा खुल्ला मञ्च निर्माण सुरु, यस्तो बन्नेछ संरचना

रुपन्देही । सुकम्बासी बस्तीले सकिँदै गएको बुटवल उपमहानगरको १४ बिघा जग्गाको संरक्षण गर्दै आधुनिक सुविधासहितको व्यवस्थित खुलामञ्च निर्माणको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले वडा नं. ११ देविनगरमा रहेको करिब १४ बिघा जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागेको हो ।

बुटवल खुलामञ्चको मंगलबार एक समारोहबिच उपमहानरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन् । सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहु उपयोग गर्ने गरी गुरुयोजना बनाएर दिगो विकासका काम अगाडि बढाइएको र उपमहानगरले यसबिचमा करिब दुई सय बिघा जग्गा संरक्षण गर्दै सार्वजनिक हितमा ल्याएको उनले जानकारी दिए ।

खुलामञ्च बन्ने क्षेत्रलाई समेटेर गुरुयोजना तयार पारि निर्माण कार्य अगाडि बढाइएको छ । गुरुयोजनामा प्राविधिक तथा विषयविज्ञहरुबाट सुझावसमेत लिएर निर्माण कम्पनीलाई कार्यादेश दिइएको उपमहानगर प्रमुख सुवेदीले जानकारी दिए । जनघनत्व, सवारी चाँप र बाक्लो बस्तीका बिचमा रहेको खुला जग्गालाई संरक्षण पनि हुने र बहु उपयोग पनि हुनेरि गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताए ।

जनघनत्व, सवारी चाप र बाक्लो बस्तीका बिचमा रहेको खुला जग्गालाई संरक्षण पनि हुने र बहु उपयोग पनि हुनेरि गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीको भनाइ छ । बुटवल खुलामञ्चलाई कार्यक्रम गर्न, सभा समारोह गर्न, सम्मेलन गर्न मात्र नभई विभिन्न आपतकालिन अवस्थाको उद्धार स्थल रूपमा समेत उपयोग गर्न सकिने गरी गुरुयोजनामा समेटिएको छ ।

उपमहानगरले यसलाई बहु वर्षे योजनाका रूपमा अगाडि बढाएको छ । बुटवलको दीर्घकालीन गुरुयोजनामा परिकल्पना गरिएअनुरुपको यो एउटा खुलामञ्च हो । सुरुमै जग्गा संरक्षण, तारबार र व्यवस्थित बाउण्ड्री निर्माणको काम अगाडि बढाइने र बाँकी कामलाई चरणबद्ध रूपमा अगाडि बढाइने प्रमुख सुवेदीले जानकारी दिए ।

खुलामञ्चमा सार्वजनिक कार्यक्रम गर्न, सभा समारोह गर्न, सम्मेलन गर्न मात्र नभई विभिन्न आपतकालीन अवस्थाको उद्दारस्थल रूपमा समेत उपयोग गर्न सकिने गरी गुरुयोजनामा समेटिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

बुटवलको सबैभन्दा ठूलो र मुलुकमै सबैभन्दा धेरै जनघनत्व रहेको वडा नं. ११ मै खुलामञ्च निर्माण कार्य सुरु भएपछि वडाका बासिन्दा खुसी भएको वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । सोही वडामा रहेको एन्फा एकेडेमी अर्थात् रङ्गशाला नजिकैको जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागिएको हो ।

बुटवल खुलामञ्च निर्माणका लागि शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिले पाँच करोड ३२ लाख लाख ३९ हजार पाँच सय १३ रुपैयाँ बराबरमा ठेक्का सम्झौता गरेको उपमहानगरका सहरी विकास तथा योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । उपमहानगरले भने खुलामञ्च निर्माणका लागि पाँच करोड ५१ लाख ८८ हजार रुपैयाँ लागत अनुमान गरेको थियो । गत फागुन २६ गते कार्यादेश पाएको निर्माण कम्पनीलाई आगामी २०८० को जेठ १५ सम्ममा काम सक्ने सम्झौता भएको छ ।

उपमहानगरका वरिष्ठ इन्जिनियर तथा सहरी विकास योजना महाशाखा प्रमुख सुमन श्रेष्ठ र अर्का वरिष्ठ इन्जिनियर गौतम रौनियार, इन्जिनियर रुक्मागत बस्याल तथा डीपीआर बनाउने काममा खटिएकी आर्किटेक इन्जिनियर प्रभा पाण्डेसहितको प्राविधिकहरूको टोलीले खुलामञ्चको गुरुयोजनामा सुझाव संकलन गरेको थियो ।

यस्तो बन्नेछ बुटवल खुलामञ्च

करिब १४ विगाह क्षेत्रफलमा खुलामञ्च बन्ने र त्यहाँ एक लाख जना एकै पटक जम्मा हुन मिल्ने गरी खुला मैदान बनाइने छ । मैदानलाई विशेष तार जाली र हरियालीले सजाइने छ । मैदान प्रवेश र निकासका अलग अलग द्वार र आपतकालिन द्वार बन्नेछन् । तार जाली पनि पर्यावरणमैत्री र विशेष हुनेछ । खुलामञ्चसम्म पुग्न धेरैतिरबाट पहुँच मार्ग बन्नेछन् । बुटवल चक्रपथले समेत खुलामञ्चलाई जोड्नेछ ।

एकै पटक करिब ८ सय जनाले प्रयोग गर्न मिल्नेसरि सार्वजनिक शौचालय बनाइने छन् । आठ लाख ९३ हजार नौ सय ७७ वर्ग मिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसङै पछाडि भागमा आठ वटा अलग अलग प्रयोजनका कोठा, तीन तहका पार्किङ, प्राथमिक उपचार कक्ष बन्नेछन् ।

खुलामञ्चको दक्षिणमा तिनाउ कोरिडोर रहने छ । कोरिडोर र खुलामञ्चको बिचको भागमा हरियालीसहितको गार्डेन, फुटपाथ रहने छ । खानेपानीका फिल्टरयुक्त ट्याङ्कीसमेत विभिन्न ठाउँमा राखिनेछ । बुटवलका लागि भविष्यमा बहु उपयोग गर्न मिल्ने र शौन्दर्यता झल्काउने विशेष क्षेत्रका रूपमा खुलामञ्च निर्माण हुने इन्जीनीयरहरुको बताएका छन् । एक लाख भन्दा धेरै जना अट्न सक्ने गरी खुला क्षेत्रको चौर रहने छ भने त्यतिको संख्यामा आउने मानिसहरूले प्रयोग गर्ने सवारी साधनलाई समेत तीन तहमा पार्किङ र आवागमनका विशेष रुट बनाइने भएको छ ।

भिआइपीले प्रयोग गर्ने सवारीसहित एक सय ६० वटा चार पाङ्ग्रे र करिब छ सय जति दुई पाङ्ग्रे साना सवारीलाई पार्किङ गर्न मिल्नेछ । पब्लिक बस तथा सवारीहरूलाई पनि खुलामञ्चको दुबईतिरबाट आवागमन मिल्नेसरि रुटको व्यवस्था मिलाइने भएको छ । खुलामञ्चको पहिलो चरणको कामका लागि निर्माण लागत करिब एक करोड अनुमान गरिएको छ । गुरुयोजना अनुसारका सबै कामका लागि करिब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने तीन वर्षसम्ममा सबै चरणका निर्माण कार्य सक्ने लक्ष्य छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *