मन्त्रिमण्डल पुनर्गठन हुने प्रचण्डको संकेत, केही मन्त्री फेरिने (भिडिओ) – Nepal Press

मन्त्रिमण्डल पुनर्गठन हुने प्रचण्डको संकेत, केही मन्त्री फेरिने (भिडिओ)

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिनमा मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।

धनुषाको जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने विषयमा गठबन्धनको नेतृत्व तहमा छलफल भएको बताए ।

हाल रक्षा मन्त्रालय र उद्योग मन्त्रालय राजनीतिक नेतृत्वविहीन अवस्थामा छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममै मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने प्रचण्डले बताए ।

‘मन्त्रिपरिषद् विस्तार र हेरफेरको कुरा चलेको छ । सम्भावना पनि छ । केही मन्त्रीहरू हेरफेर हुन्छन्, केहीमा नयाँ आउँछन् । माओवादी केन्द्रले आफ्नो हैसियतअनुसार थप मन्त्रालय पाउनुपर्ने दाबी पनि गरेको छ’, प्रचण्डले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी बनाएका कारण माओवादी लचिलो हुँदै आएको उनले बताए ।

‘पहिले प्रधानमन्त्रीले पनि मेरो पार्टीको महाधिवेशनसम्म हेर्दिनुस् भन्नुभयो । माधवजीले पनि मेरो पार्टी नयाँ छ भन्नुभयो । हामीले सबैको अप्ठ्यारो बुझ्यौं । अब चाहिँ मन्त्रिपरिषदमा हामीलाई सम्मानजनक हैसियत चाहिन्छ’, प्रचण्डले भने ।

उनले चुनावी तालमेलबारे गठबन्धनको नेतृत्व तहमा कुनै तिक्तता नभएको बताए । एक्लै चुनाव लड्न र जित्नसक्ने संगठन माओवादीसँग भएपनि सत्ता गठबन्धनलाई बचाएर लैजान चाहेको उनको भनाइ थियो ।

‘माओवादी केन्द्रले चुनाव नजित्ने भएकाले गठबन्धन गरेको पनि होइन । हामी आफ्नै खुट्टामा उभिएर , आफ्नै तागतमा चुनाव लड्न सक्षम छौं । गठबन्धन संविधानको रक्षाको उद्देश्यले बनाएको हो, चुनावका लागि बनाएको पनि होइन । यद्यपि चुनावमा गठबन्धन गर्न हामी सकरात्मक छौ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर