निर्वाचन आयोगले मतपत्र छाप्ने मेसिन प्रयोग नगर्ने बरु ‘दान’ दिने (भिडिओ) – Nepal Press

निर्वाचन आयोगले मतपत्र छाप्ने मेसिन प्रयोग नगर्ने बरु ‘दान’ दिने (भिडिओ)

काठमाडौं । निर्वाचन आयोगले मतपत्र छपाई लगायतका काम गर्न विगतमा खरिद गरिएको मेसिन ‘दान’ दिने भएको छ ।

२०७४ सालमा खरिद गरिएको मेसिन आयोगका लागि पूर्ण क्षमतामा प्रयोग गर्न असहज रहेकाले मुद्रणसम्बन्धी काम गर्ने सरकारी निकायलाई दिने निर्णय आयोगले गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगसँग रहेका मेसिनलाई मर्मत गरेर आगामी निर्वाचनका लागि आवश्यक सामाग्री छपाउँदा महंगो पर्ने भएकाले ‘आउट सोर्सिङ’ गर्न खोजिएको हो । ‘मतपत्र छाप्न हामीसँग भएको मेसिन मर्म गर्नै डेढ करोड जति लाग्ने देखियो । प्राविधिक जनशक्ति पनि आयोगसँग नभएकोले सो मेसिनबाट छपाइको काम लिदाँ नियमितभन्दा महंगो पर्न जाने भएकोले मेसिन प्रयोग नगरेका हौं’, प्रवक्ता पौडेलले भने ।

आयोगका लागि पूर्णक्षमतामा प्रयोग हुन नसकेको मेसीन पूर्णतया मुद्रणको मात्रै काम गर्ने सरकारी निकायलाई प्रयोग गर्न दिनेबारे आयोगले निर्णय गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

‘आयोगका लागि त्यो मेसिन ५-५ वर्षमा मात्रै काम लाग्ने भयो । त्यसैले पूर्ण म्रुदणको काम गर्ने निकायलाई हामी मेसिन दिन्छौं । हाम्रा लागि अत्यावश्यक केही कागजात छापिदिए हुन्छ । यसबारे निर्णय गरेर सरकारलाई जानकारी गराइसकेका छौं’, आयोगको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने ।

निर्वाचन आयोगले आफैसँग भएका मेसिनको प्रयोग नगरी मतपत्र लगायतका सामाग्री छपाईका लागि टेण्डर आह्वान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर