धेरै विवाद भएका ठाउँमा पार्टी सदस्यबीच चुनाव गराएर उम्मेदवार टुंग्याउन एमालेमा प्रस्ताव – Nepal Press

धेरै विवाद भएका ठाउँमा पार्टी सदस्यबीच चुनाव गराएर उम्मेदवार टुंग्याउन एमालेमा प्रस्ताव

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा वडा सदस्यदेखि महानगरका मेयरसम्मका उम्मेदवारको सिफारिसका लागि मापदण्ड तय गरे पनि कुन प्रक्रियाबाट टुंग्याउने भन्नेबारेमा पोलिटव्युरो बैठकमा प्रश्न उठेको छ ।

एमालेले वडा सदस्य र अध्यक्षको टिकट गाउँपालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले दिने, गाउँ तथा नगरपालिकाका प्रमुख उपप्रमुखको टिकट जिल्लाको सिफारिसमा प्रदेश कमिटीले दिने र उपमहानगर तथा महानगरको टिकट प्रदेशको सिफारिसमा केन्द्रले दिने मापदण्ड बनाएको छ ।

सोमबारको पोलिटव्युरो बैठकमा केही नेताहरुले धेरै दाबेदार भएर विवाद हुने तथा पार्टीलाई निर्णय गर्न समस्या हुने ठाउँमा लोकतान्त्रिक प्रक्रियाबाट उम्मेदवारको चयन गर्ने नयाँ प्रस्ताव राखेका छन् ।

स्थायी कमिटी सदस्य हिक्मत कार्की, पोलिटव्युरो सदस्य महेश बस्नेत लगायतका नेताहरुले धेरै विवाद भएको ठाउँमा पार्टीले केन्द्रबाटै एउटा कार्यदल बनाएर समाधान गर्ने र त्यस क्रममा आवश्यक पर्दा लोकतान्त्रिक प्रक्रियाबाट दाबेदारबीच चुनाव गराउने प्रस्ताव राखेका छन् ।

बैठकमा सहभागी एक नेताले भने- कतिपय ठाउँमा समस्या छन् । जस्तो कि इटहरीका मेयर द्वारिकलाल चौधरीजस्ता पनि छन् । त्यस्ता ठाउँमा सम्बन्धित पालिकाभित्रका पार्टीका संगठित सदस्यहरुले मतदान गरेर जो रुचाउँछन् उसैलाई टिकट दिने विधि पनि अपनाउन सकिन्छ ।त्यसले गर्दा मलाई कार्यकर्ता र जनताले रुचाएका थिए तर नेताले दिएनन् भन्ने गुनासो पनि रहदैन ।

यसअघि पनि एमालेले कास्की, मकवानपुर लगायतक जिल्लाम यो विधि अपनाएको थियो । तर त्यसबेला कमिटीका सस्यहरुबीच मात्र मतदान भएको थियो । यसपटक भने धेरै विवाद र उस्तै दाबेदार भएको ठाउँमा पार्टी सदस्यहरुबाट उम्मेदवार छान्ने विधि पनि समेट्न बैठकमा सुझाव आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर