कर्फ्यूपछि लेटाङ सुनसान, यौन दुर्व्यवहारका आरोपी शिक्षक हिरासतमा – Nepal Press

कर्फ्यूपछि लेटाङ सुनसान, यौन दुर्व्यवहारका आरोपी शिक्षक हिरासतमा

काठमाडौं । मोरङको लेटाङस्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५८ वर्षीय मनोज पौडेलविरुद्ध सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया एक छात्राले यौन दुर्व्यवहारको आरोप लगाएपछि सर्वपक्षीय छलफल चलिरहेको थियो । आइतबार विद्यालयमै भइरहेको छलफलमा शिक्षक, अभिभावक र उपमेयरसमेत सहभागी थिए ।

प्रहरीका अनुसार पौडेलले होलीको दिन शिक्षकले आफ्नो घरमै आएर यौन दुर्व्यवहार गरेको छात्राको आरोप छ । त्यसअघि पनि पौडेलले आफूलाई पटक-पटक यौन दुर्व्यवहार गरेको उनले बताएकी छन् । छात्राले घटनाबारे अन्य शिक्षकलाई सुनाएपछि छलफलको स्थितिसम्म पुगेको थियो । आइतबार छलफल चलिरहँदा त्यसबारे प्रहरीलाई जानकारी थिएन ।

तर, छलफलकै क्रममा पौडेलमाथि कुटपिट हुन थालेपछि प्रहरीलाई खबर गरियो । प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुग्यो । तर, प्रहरीसँग सवारीसाधन थिएन । मुद्दा अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिहरूलाई म्याद थपका लागि गाडी विराटनगर लगिएको थियो । त्यसैले प्रहरी निरीक्षकको टोली विद्यालयबहिर प्रदर्शनकारीलाई रोकेर मात्र बस्नुपरेको प्रहरीका केन्द्रीय प्रवक्ता विष्णु केसीले बताए ।

स्थिति असामान्य बन्न थालेपछि सशस्त्र प्रहरी गण, रानी विराटनगरबाट मद्दत टोली साँझ ४ बजेतिर घटनास्थलमा पुगेको थियो । सोही टोलीमा थिइन् २३ वर्षीया जवान उर्मिला श्रेष्ठ ।

प्रदर्शनकारी आक्रामक बनिरहेका थिए । त्यसक्रममा पेट्रोल बमसमेत प्रहार भएको प्रहरीले जनाएको छ । आरोपी पौडेललाई आफूहरूको जिम्मा लगाउनुपर्ने प्रदर्शनकारीको माग थियो । त्यही क्रममा राति ८ बजेतिर सुरक्षा दिइरहेकी उर्मिलामाथि भीडबाट कसैले चक्कु प्रहार गर्‍यो । गम्भीर घाइते भएकी उर्मिलाको राति नै उपचारको क्रममा मृत्यु भयो ।

स्थानीय प्रशासनले सोमबार बिहानैदेखि लेटाङमा कर्फ्यू लगाएको छ । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । यौन दुर्व्यवहारका आरोपी पौडेल पनि मोरङ जिल्ला प्रहरीको हिरासतमा छन् । प्रदेश १ प्रहरी प्रमुख अरुण बिसीले कर्फ्यूपछि स्थिति नियन्त्रणमा रहेको जानकारी दिए ।

तीन वर्षअघि मात्र जागीर सुरू गरेकी उर्मिलाको केही महिनाअघि विवाह भएको थियो । खोटाङको बारपोखरीमा जन्मिएकी उनको उदयपुरमा विवाह भएको हो । उनको अन्तिम दाहसंस्कारका लागि शवलाई उदयरपुर पठाउने तयारी भइरहेको डीआईजी बिसीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर