निर्वाचन आयोग गठबन्धनसँग मिल्यो, मतपेटिकालाई आँखाबाट ओझेल हुन दिने छैनौं: ओली (भिडिओ) – Nepal Press

निर्वाचन आयोग गठबन्धनसँग मिल्यो, मतपेटिकालाई आँखाबाट ओझेल हुन दिने छैनौं: ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताएका छन् । उनले स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त गरे ।

एमालेको अहिले सुरु भएको पोलिटब्युरो वैठकमा बोल्दै ओलीले यस्तो आशंका जनाएका हुन् । उनले निर्वाचन आयोगसमेत एमालेविरुद्ध लागेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आग्रह गरे ।

ओलीले भने, ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल गर्न मञ्जुल गर्दैनौं । किनभने हामी षडयन्त्रभित्र छौं । काउन्टिङ अन्त्य नभएसम्म अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ । विश्वास गर्नुस् भन्ने कुरा हुँदैन । विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?’

ओलीले स्थानीय तहको चुनावमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्ने भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोग गठवन्धनसँग मिलेको उनले दाबी गरे ।

ओलीले अहिले पनि निर्वाचन पर धकेल्ने षडयन्त्र गठवन्धन र आयोगबीच भइरहेको बताए । आयोगका ३ पदाधिकारी खाली गराएर त्यही बहानामा निर्वाचन रोक्ने विषयमा गठवन्धन र आयोगबीच कुरा भइरहेको उनको दावी छ ।

उनले थपे, ‘अझै पनि निर्वाचन टार्ने, नगराउने र पर धकेल्ने कलात्मक षडयन्त्र भित्रभित्र भइरहेको छ । सत्ता गठवन्धन र निर्वाचन आयोगबीच कतिपय संवैधानिक र कतिपय राजनीतिक कुरा भइरहेका छन् । अरु ३ जना आयुक्तको नियुक्ती बदर गरिदियो भने दुईजनाले मात्रै निर्वाचन गराउन सक्छ कि सक्दैन भन्ने ढंगले प्रश्न उठाउन खोजिएको छ । मुलतः हाम्रोविरुद्ध षडयन्त्र भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर