प्रश्नपत्रसमेत छाप्न नसक्ने गरी श्रीलंकामा कसरी चुलियो संकट ? बुझौं ८ प्रश्नोत्तरमा – Nepal Press

प्रश्नपत्रसमेत छाप्न नसक्ने गरी श्रीलंकामा कसरी चुलियो संकट ? बुझौं ८ प्रश्नोत्तरमा

इटहरी । प्रश्नपत्र छाप्ने कागज खरिद गर्न नसकेर दक्षिण एसियाली मुलुक श्रीलंकाले शनिबार विभिन्न परीक्षा स्थगन गरेको समाचारले अन्तर्रााष्ट्रिय समुदाय नै तरंगित बनेको छ । श्रीलंकाका शिक्षा अधिकारीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले सोमबारबाट हुने परीक्षा अनिश्चितकालका लागि स्थगन भएको समाचार प्रकाशित गरेको थियो ।

प्रश्नपत्र छाप्ने कागजदेखि लेख्ने मसीसम्म खरिद गर्न आवश्यक रकम नभएको भन्दै परीक्षा स्थगनको सनसनीपूर्ण खबर विश्वभर फैलियो । आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाको दुरावस्था झल्काउने खबर यो मात्र होइन । पेट्रोलियम पदार्थको लाइनमा बस्दा आइतबार दुई नागरिकको मृत्यु भएको छ । पेट्रोलियम पदार्थका लागि लामो लाइनमा उभिने क्रममा सत्तरी वर्ष उमेर समूहका दुईजनाको ज्यान गएको श्रीलंकाली प्रहरीलाई उद्धृत गर्दै भारतीय च्यानल एनडीटीभीले उल्लेख गरेको छ ।

सन् २०२१ अगष्ट ३० बाट श्रीलंकामा खाद्य संकट घोषणा भएको थियो । खानेकुरामा कोटा निर्धारण गरिएको थियो । हालसालै सीएनबीसीसँग बोलेकी एक श्रीलंकाली आमाले पहिले एक किलो दूध किन्न पाइनेमा अहिले ४०० ग्राममा झरेको बताएकी थिइन् ।

खाद्यान्नदेखि पेट्रोलियम पदार्थ किन्नसमेत श्रीलंकालाई हम्मेहम्मे परेको समाचार धेरै अगाडि आएको थियो । राष्ट्रपति गोताबाया राजापाक्षेले खाद्य संकटकाल घोषणा गरेकै बेला मेजर जनरल एनडीएसपी निउनहेल्लालाई आपत्‌कालीन खाद्य खामग्री दिने निकायको अख्तियारी दिएका थिए ।

कत्तिसम्म भने श्रीलंकाले डलर अभावमा इरानसँग चियामा तेल साट्ने समझदारी गरेको थियो । सन् २०२१ डिसेम्बर २१ मा २५ करोड १० लाख अमेरिकी डलरको तेलको बाँकी रकम चिया दिएर साट्ने सम्झौता भएको थियो ।

सन् २०२१ डिसेम्बर २७ मा श्रीलंका सरकारले डिसेम्बर ३१ भित्र लागू हुनेगरी नाइजेरियाको अबुजा, जर्मनीको फ्राङ्कफर्ट र साइप्रसको निकोसियामा रहेका कूटनीतिक नियोगहरू बन्द गरेको घोषणा गर्‍यो । घोषणाको मुख्य कारण आर्थिक संकट नै भएको बिजनेस स्ट्यान्डर्डले लेखेको छ ।

आर्थिक संकटको अझ जटिल उदाहरण त हालसालै रुस-युक्रेन युद्धका कूटनीतिक कदममा समेत देखिएको थियो । गत मार्च २ मा विश्वका १४१ देशले रुसले युक्रेनमा गरेको सैन्य हमलाको विपक्षमा मत दिएर संयुक्त राष्ट्रसंघको संकल्प प्रस्तावलाई साथ दिए । त्यो क्रममा संकल्प प्रस्तावमा सहभागी नहुने ३५ देशहरूमा श्रीलंका पनि एक थियो । नेपालदेखि भुटानले रुसको विरोध गरेकोमा श्रीलंकाको प्रस्तावमा सहभागी नहुने कारण मतदान सकिएको तीन दिनपछि खुल्यो ।

श्रीलंकाले रुससँग श्रीलंकाको लागि अत्यावश्यक समान किन्न ३० करोड अमेरिकी डलर मागेको थियो । श्रीलंकाकी मस्कोस्थित राजदूत प्राध्यापक जनिथा लियानागेले मार्च ४ मा उक्त कुरा खुलासा गरेको श्रीलंकाली मिडिया डेल्ली न्यूजले उल्लेख गरेको छ । राजदूत लियानागेले कच्चा तेल, ग्याँस र कोइला किन्न उक्त रकम प्रयोग हुने बताएकी थिइन् ।

प्रश्नपत्र छपाइमा समस्यादेखि आफैं समस्यामा रहेको रुससँग पैसा माग्ने अवस्थामा पुगेको श्रीलंकाको आर्थिक संकटको गहिराइ बुझौँ ८ प्रश्नोत्तरमा ।

१. आर्थिक संकटको सुरू कहिलेबाट भयो ?

श्रीलंकाको आर्थिक संकटको सुरूआत कोभिड-१९ सँगै भएको भन्दा हुन्छ । सन् २०१९ मा चीनमा देखिएर सन् २०२० मा विश्वभर फैलिएको कोरोनासँगै श्रीलंकामा आर्थिक समस्या देखिएको थियो । दुरावस्था सुरू भएको तीन वर्ष पुग्न लागेको छ ।

श्रीलंकाले आर्थिक संकटकालको औपचारिक घोषणा भने सन् २०२१ अगष्ट ३० मा गरेको थियो । संकटकालको समयमा श्रीलंकाली रूपैयाँ अमेरिकी डलरसँग २० प्रतिशत कमजोर भएको द हिन्दूले उल्लेख गरेको छ । यस्तै, श्रीलंकाको केन्द्रीय बैंकले आर्थिक संकटकालको चित्र देखाउँदै वैदेशिक मुद्रा सञ्चिति सन् २०१९ को नोभेम्बरताका साढे ७ अर्ब डलरबाट घटेर सन् २०२० को जुलाइमै २ अर्ब ८० करोडमा झरेको तथ्यांक दिएको थियो ।

२. आर्थिक संकटका प्रमुख कारणहरू के-के हुन् ?

श्रीलंकाको आर्थिक संकटको मुख्य जड वैदेशिक मुद्राको सञ्चिति शक्तिशाली नहुनु नै भएको अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेका छन् । वैदेशिक सञ्चिति स्वाट्टै घट्नुमा मुख्यतया तीन कारणको चर्चा गरिएको छ । पहिलो, पर्यटन आम्दानीमा गिरावट । दोस्रो, अर्गानिक खेतीको समस्याग्रस्त तयारी । तेस्रो, वैदेशिक ऋण ।

श्रीलंकाको अर्थतन्त्रको एक प्रमुख हिस्सा पर्यटन क्षेत्र हो । अर्थतन्त्रको १० प्रतिशत कुल गार्हस्थ उत्पादनको हिस्सा पर्यटन क्षेत्रको छ । तर, सन् २०१९ को अन्तिमबाट कोभिड-१९ आतंक सुरू भएसँगै श्रीलंकाको यो महत्वपूर्ण आर्थिक क्षेत्र ठप्प भयो ।

नेपालजस्तै श्रीलंकाले भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । सन् २०१९ मा लोन्ली प्लानेटले श्रीलंकालाई विश्वको सबैभन्दा उत्कृष्ट गन्तव्य घोषणा गरेका थिए । श्रीलंका पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०१९ मा १९ लाख १३ हजार ७ सय २ पर्यटक श्रीलंका आएका थिए । सन् २०२० को भ्रमण वर्षमा श्रीलंकाले कोभिडको कारण ५ लाख ७ हजार ७ सय ४ मा झर्‍यो । वैदेशिक मुद्रा आर्जनको एक मुख्य स्रोत कोभिड-१९ ले थलिएपछि श्रीलंकालाई आर्थिक भार बढ्यो ।

अर्गानिक खेतीको समस्याग्रस्त तयारी श्रीलंकाको अहिलेको आर्थिक संकटको अर्को कारण मानिन्छ । कुनै योजनाबद्ध तयारी नगरिकन घोषणा भएको अर्गानिक देश बनाउने सरकारी योजनाको कारण उत्पादनमा वृद्धि नभएर समस्या थपिएको विभिन्न संचारमाध्यमहरूले लेखेका छन् ।

द हिन्दूले अर्गानिक कृषिको घोषणालाई पनि श्रीलंकाली आर्थिक संकटको एक कारण मानेको छ । सन् २०२१ मे ६ मा श्रीलंकाले किटनाशक औषधि तथा रसायानिक मल आयातमा निषेध गरेको थियो । यसलाई धेरैले अर्गानिक देश बनाउने कार्यक्रमका रूपमा लिएका थिए । तर, उक्त महत्वाकांक्षी घोषणाको प्रभाव नकारात्मक मात्रै आयो । श्रीलंका सरकार यो निर्णयमा अडिग हुन सकेन । श्रीलंकाको आर्गानिक अभियान असफल भएपछि श्रीलंका सरकारले २०२२ जनवरी २५ मा देशका १० लाखभन्दा बढी कृषकलाई २० करोड अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेको अलजजिराले उल्लेख गरेको छ ।

श्रीलंकाले लिएको वैदेशिक ऋण आर्थिक संकटको अर्को प्रमुख कारण भनिएको छ । द गार्जियनका अनुसार सन् २०२१ अप्रिल सम्ममा श्रीलंकाको वैदेशिक ऋण ३५ अर्ब अमेरिकी डलर छ, जसमा यो वर्ष मात्रै ६ अर्ब ९० करोड डलर तिर्नुपर्ने दायित्व छ । तर, फेब्रुअरी अन्तिमसम्मको श्रीलंकाको वैदेशिक मुद्रा सञ्चिति २ अर्ब ३० करोड मात्रै भएको द गार्जियनले उल्लेख गरेको छ । विभिन्न देश तथा दातृ निकायहरूसँग श्रीलंकाले ऋण लिएको छ ।

३. श्रीलंकाको वैदेशिक ऋणमा चिनियाँ हिस्सा कत्ति छ ?

श्रीलंकाले चीनबाट आफ्नो कुल वैदेशिक ऋणको १० प्रतिशत जति चीनसँगलिएको द गार्जियनले लेखेको छ ।

४. श्रीलंकाको वैदेशिक ऋण कुल ग्राहस्थ उत्पादनको कत्ति प्रतिशत छ ?

सीएनबीसीले उद्धृत गरेको एक अध्ययनअनुसार श्रीलंकाको सन् २०१९ मा कुल गार्हस्थ उत्पादनको ९४ प्रतिशत वैदेशिक ऋण थियो भने सन् २०२१ मा आइपुग्दा बढेर ११९ प्रतिशत पुगेको छ । आर्थिक संकट चुलिएमा यसको मात्रा झनै बढ्दै जाने अनुमान धेरैको छ ।

५. श्रीलंकाली आर्थिक संकट टार्न भारतीय र चिनियाँ सहयोग सहयोग कत्ति प्रभावकारी ?

श्रीलंकाको आर्थिक संकट समाधान गर्न भारतले यही मार्च १७ मा एक अर्ब अमेरिकी डलर ऋण दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले आफ्नो ट्वीटमार्फत् उक्त घोषणा सार्वजनिक गरेका थिए । यसमध्ये ५० करोड अमेरिकी डलर इन्धन किन्न प्रयोग हुनेछ ।

श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेले सन् २०२२ जनवरी ९ मा श्रीलंका भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रीलाई ऋण तिर्ने प्रावधान पुनःसंरचना गर्न आग्रह गरेका थिए । चीनले भारतले जस्तो श्रीलंकालाई ठूलो मात्राको ऋण दिएको कुनै सार्वजनिक जानकारी छैन । भारतको ऋणले मात्रै श्रीलंकाली आर्थिक संकट टार्न पुग्दैन ।

६. अन्तर्राष्ट्रिय मुद्रा कोषसँग किन लत्रियो श्रीलंकाली सरकार ?

श्रीलंकाले भोगिरहेको आर्थिक संकट समाधानमा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग नलिने बताएको थियो । तर, सबैतिरबाट समस्यामा परेपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसमेत गुहार्न बाध्य भएको छ ।

यही बुधबार श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेले गरेको आग्रहलाई शुक्रबार कोषले बेलआउट दिनेबारेमा विचारमा गर्ने प्रतिक्रिया दिएको द गार्जियनले लेखेको छ ।

७. के श्रीलंकाले एमसीसी पारित गरेको भए त्यसको पैसाले आर्थिक संकट टर्ने थियो ?

नेपालमा सामाजिक सञ्जालतिर धेरैले नेपालले जस्तै श्रीलंकाले एमसीसी पारित गरेको भए आर्थिक संकट टर्ने तर्क गर्दै आएका छन् । यो तर्कमा खासै दम छैन । एमसीसीको रकम पूर्वाधार परियोजनाको हो । श्रीलंकाको ऋण यसबाट चुक्ता गर्न मिल्दैन ।

श्रीलंकाले एमसीसी पास गर्दा पाउने रकम ४८ करोड अमेरिकी डलर मात्रै हो । तर, श्रीलंकाको वैदेशिक ऋण द गार्जियनले २०२२ को जनवरी ९ मा लेखेअनुसार ३५ अर्ब डलरको छ ।

८. आर्थिक संकटमा श्रीलंकाका राजनीतिक प्रतिक्रिया कस्तो छ ?

श्रीलंकाको आर्थिक संकटको समाधानका लागि दबाब दिन राजनीतिक दलहरू सडकमा छन् । यसको मुख्य नेतृत्व एकीकृत जनशक्ति नामक दलले गरिरहेको छ ।

गत मंगलबार राष्ट्रपति भवनबाहिर दसौँ हजार प्रदर्शनकारीहरू भेला भएर विरोध गरेका थिए । प्रतिपक्षी नेता तथा एकीकृत जनशक्ति पार्टीका नेता साजिथ प्रेमादशाले विगत दुई वर्षबाट आर्थिक संकटबाट गुज्रिनु परेको भन्दै श्रीलंकाली सरकारलाई दैत्यको संज्ञा दिएर कटाक्ष गरेको अलजजिराले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर