चुनौतीबीच बाँकेमा हात्तीपाईले विरुद्धको आमऔषधि खुवाइँदै – Nepal Press

चुनौतीबीच बाँकेमा हात्तीपाईले विरुद्धको आमऔषधि खुवाइँदै

बाँके । बाँकेमा फागुन २८ गतेदेखि सुरु भएको हात्तीपाईले  विरुद्धको आमऔषधि सेवन अभियानमा केही शिक्षित परिवारले हात्तीपाईलेको औषधि सेवन नगरिदिँदा स्वास्थ्यकर्मीहरुलाई चुनौती थपिदिएको छ ।

खासगरी मुस्लिम र मधेसी समुदायमा हात्तीपाईलेको औषधि प्रतिको अन्धविश्वास र नकारात्मक धारणाले औषधि सेवन गर्न नमान्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाई  छ ।

हात्तीपाईले निवारणको निर्धारित समयको दोब्बर पटक औषधि खुवाउँदा पनि बाँकेमा हात्तीपाइले निवारण हुन नसकेपछि १२ औं पटक आम औषधि खुवाउने अभियान सुरु गरिएको हो ।

हात्तीपाईले बिरुद्धको औषधि शिक्षित वर्गले नै खान नमानेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नेपालगंज ११ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रले टंटलापुर घाममा समेत घरदैलो गरेर एक एक व्यक्तिलाई परामर्श गरेर औषधि खुवाउने गरे पनि समाजका केही मानिसहरुमा भ्रमपूर्ण अन्धविश्वास रहेकोले पनि औषधि नखाईदिने समस्या रहेको केन्द्रका इन्चार्ज कबिता लामिछानेले बताइन् ।

धार्मिक र राजनितिक स्तरबाट पहल नभए सम्म समूदायमा फैलिएको भ्रम यथावत रहने भएकोले समयमा नै सबैले समुदायमा रहेका यस्ता भ्रमलाई चिर्नका लागि भूमिका निर्वाह गर्न उनले आग्रह गरिन् ।

नेपालगंज ११ को आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज लामिछानेको नेतृत्व रहेको स्वास्थ्यकर्मी र महिला स्वयसेवीकाको टोलीले मदरसा बरकातीया र जिभिएन कलेजमा पुगेर शिक्षकहरुको समन्वयमा १ सय ७० जना विद्यार्थीहरुलाई औषधि सेवन गराएको केन्द्रले जनाएको छ ।

आईतबार नेपालगंजकाे वडा नं २ मा १३६, वडा नं ४ मा २७०, वडा नं ५ मा ३२२,वडा नं ६ मा २४७,  वडा नं ७ मा ८१, वडा नं ८ मा ४७९, वडा नं ९ मा २२३, वडा नं १० मा ८७, वडा नं  ११ मा १७०, वडा नं १२ मा १३१, वडा नं १५ मा १९५, वडा नं  १६ मा ६०, वडा नं १८ मा १३१७, वडा नं २० मा ७२०,वडा नं  २१ मा २२५ र वडा नं २२ मा १२६ जनाले औषधी सेवन गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान बाँके जिल्लामा १२ औं पटकको अभियानमा रहेको स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतमले जानकारी दिए । समुदायमा अनुगमनका क्रममा हात्तीपाईलेको संक्रमण जाँच गर्दा अझैपनि देखिएपछि खासगरी मुस्लिम र मधेशी समुदायमा औषधि सेवन नगरेकै कारण यस्तो अवस्था आएकाले अब धर्मगुरु मौलाना लगायत सम्बन्धित पालिकाका जनप्रतिनिधिले भ्रमलाई चिर्न सके औषधि सेवन गर्नमा मद्दत पुग्ने उनको भनाइ छ ।

नेपाल सरकारले सन् २०३० भित्र नेपालवाट हात्तीपाईले (फाईलेरिया) रोगको निवारण गर्ने लक्ष्य लिएको छ । जसअनुरुप बाँके जिल्लामा बाह्रौ पटक औषधि खुवाउने अभियान अहिले चलीरहेको छ । यस पटकको यो अभियानमा बाँकेका ८ वटै स्थानीय तहका ५ लाख ६८ हजार मानिसलाई हात्तीपाईले बिरुद्धको औषधि खुवाउन ७ सय ८१ स्वयं सेबिका र झण्डै ४ सय कर्मचारी गरिचालन गरिएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर