श्रेस्तेदारको भ्रमणले झापा जिल्ला अदालत अस्तव्यस्त – Nepal Press

श्रेस्तेदारको भ्रमणले झापा जिल्ला अदालत अस्तव्यस्त

झापा । प्रशासनिक नेतृत्व सम्हालेका श्रेस्तेदार कार्यालयमा उपस्थित नहुँदा झापा जिल्ला अदालत अस्तव्यस्त बनेको छ ।

जिल्ला अदालत झापाका श्रेस्तेदार वीरेन्द्र बस्नेत कार्यालय नआउँदा महत्त्वपूर्ण कामकाज अलपत्र परेका छन् । सामान्यतया जिल्ला अदालतको श्रेस्तेदारमा पेशी व्यवस्थापनदेखि दैनिक प्रशासनको महत्त्वपूर्ण कार्यभारको क्षेत्राधिकार रहन्छ ।

सात जना जिल्ला न्यायाधीश रहेको झापा जिल्ला अदालतमा दैनिक पेशी व्यवस्थापन गर्ने गोला प्रणालीमा समेत शाखा अधिकृतको नेतृत्व देखेपछि न्यायाधीशहरुले १ नम्बरमा रहेका न्यायाधीश गिरीराज गौतमको ध्यानाकर्षण गराएको एक न्यायाधीशले जानकारी दिए ।

झापा जिल्ला अदालत काठमाडौं उपत्यकाका जिल्ला अदालतहरूपछि सबैभन्दा बढी मुद्दा रहेका अदालत मध्येको एक हो ।

श्रेस्तेदारलाई क्षेत्राधिकार हेरेर मुद्दा दर्ता गर्ने, कर्मचारी व्यवस्थापन गर्ने, खटनपटन गराउने र न्याय सम्पादनलाई सहयोग र समन्वयकारी भूमिका रहन्छ ।

तर आवश्यक समयमा श्रेस्तेदार नभएर शाखा अधिकृत कार्यवाहकको रूपमा आउने गरेको ती न्यायाधीशले नेपाल प्रेसलाई बताएका छन् ।

झापा जिल्ला अदालतमा उपरजिष्ट्रार सरहको दरबन्दी छ । जुनियर उपसचिव भए पनि तीन महिना अगाडी सर्वोच्च अदालत प्रशासनले बस्नेतलाई झापा जिल्ला अदालतमा पठाएको थियो ।

बस्नेत मुद्दाका हिसाबले सबैभन्दा धरै कामको चाप भएको झापा जिल्ला अदालतमा पहुँचकै भरमा पुगेका थिए ।

सर्वोच्च अदालत प्रशासनलाई दबाबमै राखेर झापा पुगेपछि बस्नेत महिनामा मुस्किलले १ हप्ता मात्रै कार्यक्षेत्रमा बस्ने गरेको झापा जिल्ला अदालत स्रोतले बताएको छ । यद्यपि नेपाल प्रेससँगको सम्पर्कमा आएका बस्नेतले भने झापामा जाने आफ्नो रुचि नभएको बताए ।

मुद्दामा धेरै चाप भएको झापा जिल्ला अदालतमा गत आर्थिक वर्षको तथ्याङ्लाई हेर्ने हो भने करिब ४१ सय मुद्दाको लगत देखिन्छ । यसमा जम्मा साढे १६ सय मुद्दाको फर्छ्यौट भएको छ । यो जम्मा लगतको ४० प्रतिशत मात्रै हो । यसमा पनि महत्त्वपूर्ण मुद्दाको चाप भएको झापा जिल्ला अदालतमा स्रेस्तेदारको मनोमानी काठमाडौ भ्रमणले अस्तव्यस्त छ । यस विषयमा जानकारी लिँदा झापा जिल्ला अदालतका तहसिलदार गणेश पाण्डेले दाँतको उपचार गर्न काठमाडौ गएको जानकारी दिए ।

१ नम्बर न्यायाधीश गिरीराज गौतमलाई यो विषयमा जानकारी भए पनि अधिकांश समय बिना काम काठमाडौमा पठाउने गरेको बुझिएको छ । सामान्यतया १ हप्ताभन्दा बढी बिदा बस्न नपाइने भए पनि स्वास्थ्यको कारण देखाएर बस्नेत सर्वोच्च अदालतमै उपस्थित हुने गरेको अदालतका एक कर्मचारीले जानकारी दिए ।

यसैबिच विगत ६ महिनादेखि झापा जिल्ला अदालतमा बिचौलियाको बिगबिगी बढेको भन्दै केही न्यायाधीशहरुले असन्तुष्टि जनाएका छन् । ती न्यायाधीशहरुले अदालतमा अनियमितता बढेको भन्दै यसलाई रोक्न पहल गरिदिन नेपाल बार एशोसिएशन झापालाई आग्रह समेत गरेका थिए ।

यस विषयमा बारमा छलफल भए पनि यसलाई रोक्न पहल गर्ने जिल्ला अदालत बार एशोसिएशनले नै श्रेस्तेदारलाई भेट्न नपाएको बारकै एक पदाधिकारीले बताए ।

यस विषयमा बार र अदालतबिच विगत लामो समयदेखि नै छलफल हुने गरेको भए पनि अदालत प्रशासनबाटै यसको निराकरणका लागि पहलकदमी लिनुपर्ने ती पदाधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर