गण्डकी कांग्रेस चुनाव केन्द्रित हुँदै, प्रदेशले खटायो निर्वाचन प्रतिनिधि – Nepal Press

गण्डकी कांग्रेस चुनाव केन्द्रित हुँदै, प्रदेशले खटायो निर्वाचन प्रतिनिधि

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेस स्थानीय निर्वाचन केन्द्रित हुँदै ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत निर्वाचन क्षेत्र स्तरमा प्रतिनिधि खटाएको छ । गण्डकीका ११ वटै जिल्लाका ३६ निर्वाचन क्षेत्रमा कांग्रेसले प्रतिनिधि खटाएको हो ।

भुगोलमा जाने प्रतिनिधिलाई प्रशिक्षण र सामग्रीसमेत दिएर पठाईएको गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा २ जनाका दरले प्रतिनिधि पठाएको उनको भनाइ छ । प्रतिनिधिले चैत ५ देखि १५ सम्म आफ्नो क्षेत्रमा पुगेर निर्वाचन केन्द्रित प्रतिवेदन बुझाउनु पर्ने छ । प्रदेश समितिका सदस्यहरुलाई जिम्मेवारी दिएर पठाईएको हो ।

शर्माले पार्टीको सिद्धान्त, नीति र विचारलाई पार्टीको तल्लो तहसम्म पुर्‍याउन प्रतिनिधि खटाईएको बताए । ‘जनस्तरमा परिवर्तित कांग्रेसलाई पुर्‍याउनु छ । प्रतिनिधिहरुले नागरिकलाई प्रत्यक्ष भेटेर कांग्रेसका बारेमा भन्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि तयार भएको प्रतिवेदनका आधारमा कांग्रेसले अगाडीको रणनीति तयार गर्छौं ।’

प्रतिनिधिहरुले एमसीसीबारे भ्रम चिर्ने महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । ‘एमसीसी नेकपा एमालेका पालामा दर्ता भएको हो । कांग्रेस सत्तामा हुँदा वा नहुँदा जनतामाझ एउटै कुरा गर्छ । कम्युनिष्टका जस्तो रंग फेर्दैन,’ उनले भने, ‘राष्ट्रहितका पक्षमा भएकाले विरोधमा उत्रेकालाई पनि साथ लिएर पास गरेको हो । संसदमा छिराएपछि त्यहीँबाट टुंगो लगाउनुपर्थ्यो । अन्तत लगायो ।’ जनमानसमा परेको भ्रमबारे प्रतिनिधिले स्पष्ट पार्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर