बागलुङको निसीखोला गाउँपालिका आलु र मकैकाे पकेट क्षेत्र – Nepal Press

बागलुङको निसीखोला गाउँपालिका आलु र मकैकाे पकेट क्षेत्र

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो ।

गाउँपालिकाको वडा नं २ आलु र मकै तथा वडा नं ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र बनाएको कृषि शाखा प्रमुख ताराबहादुर परियारले जानकारी दिए । गाउँपालिकाले गत वर्ष सात वटै वडामा विभिन्न फलफूल तथा खाद्यबाली पकेट क्षेत्र घोषणा गरेकामा यस वर्ष चार वडालाई आलु तथा मकैको पकेट क्षेत्र घोषणा गरिएको उनको छ । शाखा प्रमुख परियारले पकेट क्षेत्रमा उपभोक्ता समिति निर्माण गरी सम्झौतासमेत भइसकेकाले अब काम अगाडि बढ्ने बताए ।

गाउँपालिकाको वडा नं ५ र ६ आलु उत्पादनका लागि अत्यन्तै उर्वर भूमि मानिन्छ । स्थानीयले वर्षौंदेखि आलु उत्पादन गरी यसैबाट जीविकोपार्जनसमेत गर्दै आइरहेका छन् । निसेलढोर स्याउ र आलु उत्पादनका लागि बढी उर्वर भएपनि गाउँपालिकाले त्यहाँ कृषिका लागि बजेटको व्यवस्था गर्न नसकेको स्थानीयको गुनासो रहेको छ ।

ढोरपाटन सिकार आरक्षसमेत पर्ने निसेलढोरमा हरेक वर्ष स्थानीयवासीले लाखौँका स्याउ, आलु र सिमी उत्पादन गर्दै आएका छन् । त्यस क्षेत्रमा उत्पादन बढाउन गाउँपालिकाको ध्यान पुगेको थिएन । गाउँपालिकाले कृषिका लागि यस वर्ष ४० लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै शाखाप्रमुख परियारले यसबाट कृषकलाई उन्नत जातका बीउबिजन वितरण र माटो शिविर सञ्चालन गरिने बताए ।

कृषकलाई समय–समयमा कृषि परामर्श तथा तालिमसमेत दिँदै आएको र अब केही अनुदानका कार्यक्रम पनि सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । यहाँका कृषकले अझै पनि परम्परागत खेती प्रणाली अपनाउँदै आएकाले अब आधुनिक प्रविधिको प्रयोग गर्न गाउँपालिकाले जोड दिँदै आएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर