कानूनमन्त्री बडूबाटै कानूनको उलंघन, प्रशासकीय अधिकृतलाई हाजिर भएको ७ घण्टामै गरियो सरुवा – Nepal Press

कानूनमन्त्री बडूबाटै कानूनको उलंघन, प्रशासकीय अधिकृतलाई हाजिर भएको ७ घण्टामै गरियो सरुवा

दार्चुला । संघीय सरकारका कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले कानूनविपरित पालिकाका प्रशासकीय अधिृकतको सरुवा गरेका छन् ।

दार्चुलाको लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्नाको कार्यालयमा हाजिर भएको सात घण्टामा नै सरुवा गरिएको हो ।

पदस्थापन भएको तीन दिन र कार्यालयमा हाजिर भएको सात घण्टामै कानूनमन्त्री बडूको दबावमा अधिकृत ठगुन्नाको जिल्ला समन्वय समिति दार्चुलामा सरुवा गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को (४) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा दरबन्दी कायम राख्दै शाखा अधिकृत ठगुन्नालाई कामकाजका लागि चैत १ गते लेकम गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा पठाइएको थियो । सो पदस्थापन पत्रमा पत्रमा शाखा अधिकृत विवेक बिडारीको हस्ताक्षर रहेको छ ।

अधिकृत ठगुन्नालाई यहि चैत १ गते मन्त्रायलले दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सहित नियुक्ती प्रदान गरेको छ ।

मन्त्रालयबाट पदस्थापन हुँदा पठाइएकाे पत्र

पदस्थापन भएको तीन दिनपश्चात चैत ४ गते बिहान १० बजे अधिकृत ठगुन्ना लेकम गाउँपालिकामा हाजिर भइ सोको जानकारी दिउँसो नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाइएको छ ।

तर दार्चुला स्थायी घर नेपाली कांग्रेस केन्द्री सदस्य एवं नेपाल सरकारका कानूनमन्त्री बडूको सक्रियतामा हाजिर भएकै दिन अधिकृत ठगुन्नाको सरुवा गरिएको हो ।

मन्त्रालयको चलानी नम्बर ९९७ मिति २०७८ साल चैत ४ गतेको पत्रबाट अधिकृत ठगुन्नाको सरुवा संशोधनगरि जिल्ला समन्वय समिति दार्चुलामा कायम गरिएको छ ।

उक्त सरुवा पत्र शुक्रबार बेलुकी कार्यालय समय सकिएपपछि ४ बजेर ३२ मिनेटको समयमा कानूनमन्त्री दिलेन्द्र बडूको सचिवालयबाट लेकम गाउँपालिका कार्यालयको इमेलमा आएको छ ।

कानूनमन्त्री बडूकाे सचिवालयबाट लेकम पालिकाकाे इमेलमा पठाएकाे पत्र

संघीय मामिलाले गर्ने सरुवा कार्यको पत्र मन्त्री बडूको सचिवालयबाट लेकम गाउँपालिकामा आएपछि मन्त्री बडूको सक्रियता र दबावमा अधिकृत ठगुन्नाको सरुवा बुझिन्छ ।

निजामती सेवा ऐन को दफा १८ को ३ मा कर्मचारीको चाहाना विपरीत कम्तिमा डेढ बर्षसम्म सरुवा गर्न नपाउने व्यवस्थाको स्वयम कानून मन्त्रीबाटै उल्लंघन भएको भन्दै चर्को आलोचना भइरहेको छ ।

कानून मन्त्रीको सचिवालयबाट प्रमुख प्रशासकिय अधिकृतको सरुवापत्र बाँडिएको विषय सामान्य नभएको र यसले मन्त्रीहरुनै भ्रष्टाचार र अस्थिरतालाई प्रशय दिने काममा हात घसेर लागेको स्पष्ट हुने अधिवक्ता किरन केशीले बताए ।

लेकम गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा विगत केही महिना यता अधिकृत छैटौँ नारायणदत्त भटट्लाई निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

पालिकामा हाजिर भएकाे पत्र

प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा आउनुभएका ठगुन्नाले शुक्रबार कार्यालयमा पुगेर हाजिर लगाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा प्रशासनिक र आर्थिक कामकाज प्रभावित हुँदै आएको छ । अहिले पनि ठगुन्नाको ठाउँमा प्रमुख प्रशासकिय अधिकृत नपठाइकनै मन्त्री बडूको सक्रियतामा लेकमबाट अधिकृत सरुवा गर्ने काम भएको जानकारहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर