प्रचण्डलाई आफ्नै वडामा आपत्, टोलटोलबाट कांग्रेसीले भने- रुखबाहेक अन्त भोट हाल्दैनौं – Nepal Press

प्रचण्डलाई आफ्नै वडामा आपत्, टोलटोलबाट कांग्रेसीले भने- रुखबाहेक अन्त भोट हाल्दैनौं

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आसन्न तीनवटै तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुनुपर्ने पक्षमा छन् ।

प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसलाई चुनावी तालमेलको पक्षमा उभिन प्रचण्डले दवाव बढाउँदै लगेका छन् । ‘कांग्रेस तालमेलका लागि तयार नभए एमालेसँग संवाद गर्ने’ अभिव्यक्तिमार्फत उनले कांग्रेसलाई मनोवैज्ञानिक दवाव बढाएकै छन् ।

अघिल्लो संसदीय निर्वाचनमा वाम गठबन्धनको उम्मेदवारका रुपमा नेकपा एमालेको साथ लिएर चितवन क्षेत्र नम्बर ३ बाट प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले सोही क्षेत्रबाट संघीय निर्वाचन लड्न प्रचण्डले कम्मर कसेका छन् तर चुनावी तालमेल नभएमा प्रचण्डलाई निर्वाचन जित्न निकै कठिन हुने देखिन्छ ।

प्रचण्डको वडामा कांग्रेसको बाहुल्य

प्रचण्ड चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ का मतदाता हुन् र सो वडामा नेपाली कांग्रेसले अध्यक्षसहित सबै सदस्य जितेको थियो । अघिल्लो स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयर माओवादीले र उपमेयर कांग्रेसले लिएपनि वडा तहमा चुनावी तालमेल भएको थिएन । यहीकारण प्रचण्डको वडामा कांग्रेस उम्मेदवार ओमप्रकाश पोखरेल १ हजार ५ सय ५२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रचण्डको वडामा माओवादी उम्मेदवार खिमलाल भट्टले १ हजार १ सय १६ मत ल्याएपनि ४ सय ३६ मतले पराजित भएका थिए । तेस्रो बनेका एमाले उम्मेदवार हरिकृष्ण गुरुङले माओवादी उम्मेदवारभन्दा ११ मत कम अर्थात १ हजार १ सय ५ मत ल्याएका थिए ।

अघिल्लो निर्वाचनको परिणाम हेर्दा प्रचण्डको वडामा कांग्रेस सबैभन्दा बलियो शक्तिका रुपमा रहेको छ । आफ्नै वडामा दोस्रो हैसियतामा रहेका प्रचण्ड चुनावी तालमेलमार्फत संसदीय निर्वाचन जित्न चाहन्छन् तर त्यसका लागि कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरु तयार छैनन् ।

तस्विर : प्रचण्ड मतदाता रहेको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा कांग्रेसको अभियान ।

कांग्रेस कार्यकर्ताले भने– रुखबाहेक अन्त भोट दिदैंनौ

कांग्रेस यतिबेला घरघर जाऔं कांग्रेस जिताऔं अभियानमा सक्रिय रहेको छ । अभियान अन्तर्गत प्रचण्डको वडामै कांग्रेसले टोल समितिहरु गठनलाई तीव्रता दिएको छ । भरतपुर महानगर १४ का कांग्रेस वडा सभापति राजेन्द्र साँखीका अनुसार वडाभित्र २५ वटासम्म टोल समिति बनाउने कांग्रेसको योजना छ । हालसम्म शिवनगर, शिवकाली र नमस्ते टोलमा कांग्रेसले समिति बनाएको छ । अभियान लिएर टोल–टोल पुगेका कांग्रेस नेताहरुलाई मतदाताले ‘फेरी पनि हसियाँ हथौडामै हाल्दिनुपर्ने होकि रुखमै भोट हाल्न पाइन्छ ?’ भनी प्रश्न गरेका छन् ।

कांग्रेसका वडा सभापति साँखी शुभचिन्तकहरुले कांग्रेसलाई निरन्तर प्रश्नको घेरामा राखेको बताउँछन् । ‘हामी टोलमा जुनसुकै कार्यक्रम लिएर गएपनि वडाबासीको एउटै प्रश्न छ, रुखमा भोट हाल्न दिन्छौ कि दिदैनौ ? यसको अर्थ कांग्रेसको ग्राउण्ड चुनावी तालमेलको पक्षमा छैन भन्ने नै हो’, साँखीले नेपाल प्रेससँग भने ।

सो वडाका कांग्रेस कार्यकर्ताहरुले गत स्थानीय निर्वाचनमा भरतरपुरको मेयरका लागि माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हसियाँ हथौडामा भोट हाल्न बाध्य भएका थिए ।

त्यस्तै संसदीय निर्वाचनमा माओवादीले एमालेसँग तालमेल गर्दा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई समर्थन जनाएको थियो । सोही कारण कांग्रेस कार्यकर्ताहरु संघीय निर्वाचनमा आयातकार भित्रको हलोमा भोट हाल्न बाध्य भए । यसपटक भने रुख बाहेक अन्यत्र भोट नहाल्ने कांग्रेस कार्यकर्ताहरुको अडान छ ।

‘राष्ट्रिय राजनीतिमा चुनावी तालमेलको आवश्यकता हुनसक्छ तर यसपटक चितवन क्षेत्र नम्बर ३ का जनताले रुखमै भोट हाल्न पाउनुपर्छ भन्ने सबैजसोको भनाई छ ।

यसबारे नेतृत्वले सोचोस्’, सभापति साँखी बताउँछन् । चितवनमा हालै सम्पन्न कांग्रेस जिल्ला अधिवेशनका दौरान सबैजसो उम्मेदवारले चुनावी तालमेलका नाममा रुखबाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था अन्त्य गर्ने बताएका थिए ।

तस्विर : प्रचण्ड मतदाता रहेको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा कांग्रेसको अभियान ।

के प्रचण्डलाई जिताउन देउवा तयार छन् ?

हालै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनविरुद्ध अभिव्यक्ति नदिन पार्टीका नेताहरुलाई निर्देशन दिएका थिए ।

सत्ता गठबन्धनमा समस्या आउन नदिन र पुनः वाम गठबन्धन हुन नदिन माओवादीसँग सहकार्य गरेरै जाने देउवाको नीति छ । आफ्ना निकटस्थहरुसँग देउवाले गठबन्धन जोगाएर लैजानुपर्ने बाध्यता रहेको बताउने गरेका छन् ।

‘गठबन्धनलाई चुनावसम्म नजोगाउने हो भने फेरी वामगठबन्धन बन्ने र कांग्रेस हार्ने डर सभापतिजीलाई छ । गठबन्धन गरेरै भएपनि एकपटक कांग्रेसलाई पहिलो बनाउने चाहनाका कारण कुनै न कुनै प्रकारको तालमेलका लागि उहाँ तयार हुनुुहुन्छ’, सभापति देउवा निकट एक नेताको भनाई छ ।

तस्विर : प्रचण्ड मतदाता रहेको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा कांग्रेसको अभियान ।

चितवनमा चुनावी तालमेलविरुद्ध कांग्रेस कार्यकर्ताको बढ्दो आक्रोश समाधानका लागि उपायहरुको खोजी पनि जारी छ ।

गठबन्धन पक्षधर कांग्रेस-माओवादी नेताहरुले स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर कांग्रेसलाई दिएर संघीय निर्वाचनमा क्षेत्र नम्बर ३ मा प्रचण्डलाई कांग्रेसले सघाउनेबारे छलफल भइरहेको बताउँछन् ।

‘भरतपुरको मेयरमा कांग्रेसलाई जिताएर कांग्रेस कार्यकर्तालाई सफ्ट बनाएपछि संसदीय चुनावसम्म आफ्नो लागि माहोल बनाउन सकिन्छ भन्ने प्रचण्डको बुझाई छ’, स्थानीय माओवादी नेताको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर