सद्भाव र आत्मियता साटासाट गर्दै यसरी मनाइयो तराईमा होली (भिडिओ) – Nepal Press

सद्भाव र आत्मियता साटासाट गर्दै यसरी मनाइयो तराईमा होली (भिडिओ)

रुपन्देही । रङहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै शुक्रबार तराई क्षेत्रमा मनाइएको छ ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईका जिल्लामा रंग अविर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ ।

उता, लुम्बिनी प्रदेशमा रहेका तराईका जिल्लाहरुमा भने दुई दिन नै होली पर्व मनाउने क्रम बढ्दै गएको छ ।

मिश्रित बसाई भएकाले दुवै दिन (पहाड र तराईका जिल्लामा मनाइने दिन) धुमधामकासाथ होली पर्व मनाइएको छ । पहाडी क्षेत्र नजिक पर्ने तराईका जिल्लामा भने दुवै दिन होली मनाउने गरिन्छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके, बर्दिया, दाङमा होली दुई दिन नै मनाउने प्रचलन बसिसकेको छ ।

फागु पूर्णिमाको पहिलो दिन पहाडबाट तराईमा बसाई सरेकाहरुले प्राथमिकताका साथ मनउने गर्दछन् भने दोस्रो दिन तराईमै बसोबास गर्नेहरुले मनाउँछन् । तर यी क्षेत्रहरुमा धेरैजसो दुवै क्षेत्रका नागरिकहरुको मिश्रित बसाई भएकाले दुई दिन नै मनाउन थालिएको संस्कृतविद् राजेन्द्रकुमार आचार्य बताउँछन् ।

होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । होली मनाइने तराईका जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिइएको थियो । लुम्बिनी ६ पहाडी जिल्लामा भने बिहीबार नै होली मनाइएको थियो ।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा तराईमा ६ जिल्ला रहेका छन् ।

फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रंग र रंगीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ । यस पर्वका लागि बजारमा फलफूल, मासु, रङ र अबिरको बिक्री बढेको पाइएको छ ।

एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।

होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुस्लिम समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको युवा नेता आलमले बताए । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने संस्कृतविद् आचार्यको भनाइ छ ।

कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) ले तराई र पहाडी क्षेत्रको भावना जोडेको विश्वास गरिन्छ छ ।

रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रंगमा रंगिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ ।

होली पर्वसँग त्रेतायुगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रल्हादलाई केही नभएको कथा जोडिन्छ ।

शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको खुशीयालीमा फागु खेल्ने परम्परा सुरु भएको मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर