स्थानीय चुनावः धनगढीमा कांग्रेस विरासत भत्काउने रणनीतिमा एमाले – Nepal Press
लाग्यो चुनाव

स्थानीय चुनावः धनगढीमा कांग्रेस विरासत भत्काउने रणनीतिमा एमाले

कस्ता छन् अन्य दलबाट मेयरका आकांक्षी ?

कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । आउँदो ३० वैशाखमा घोषणा भएको स्थानीय तहको निर्वाचनका लागि अहिले विभिन्न दलहरूमा सम्भावित उम्मेदवारहरूले टिकटका लागि दौडधुप सुरु गरेका छन् । यसअघि धनगढीमा प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।

मेयरमा नृप वड र उपमेयरमा सुशीला भट्ट विजयी भएका थिए । मेयरमा विजयी वडले १४३२४ मत प्राप्त गरेका थिए । मतगणनाको सुरुवातमा अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाल २७९७ मतले पराजित भएका थिए । उपमेयरमा विजयी भट्टले १७४०८ मत पाएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवारले १२७६३ मत ल्याइन् ।

अहिले नेपाली काँग्रेसले पुनः जित्ने दाबीसहित सम्भावित उम्मेदवारहरू दौडधुपमा छन् । झिनो मतान्तरले पराजित भएका हमाल यसपटक त्यो अवस्था हुन नदिने दाबी गर्दै चुनावमा होमिएका छन् ।

मेयरमा विजयी भए कुनै पनि सेवा सुविधा नलिने घोषणासहित हमालले फागुन १९ गते नै उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीमा पनि सम्भावित उम्मेदवारको खोजी भइरहेको छ ।

एमालेमा जोशी र चन्दको चर्चा

नेकपा एमालेबाट कैलाली जिल्ला उपाध्यक्ष दुर्गा जोशी र नेता रणबहादुर चन्दलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । दुर्गा जोशी २०७४ सालको स्थानीय निर्वाचनमा मेयर पदमै पराजित भएका थिए । सो निर्वाचनमा जोशी करिब नौ हजार मत ल्याउँदै चौथो स्थानमा खुम्चिएका थिए । मेयरमा पराजित जोशीलाई सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनाइएको थियो । उनै जोशी धनगढीको मेयरमा पुनः उम्मेदवार बन्ने दौडधुप गरिरहेका एमाले निकट नेता बताउँछन् ।

एमालेबाट मेयरका अर्का सम्भावित उम्मेदवार रणबहादुर चन्द हुन् । एमाले कैलालीका सचिव हुँदै उपाध्यक्ष भएका चन्द पौष २७ गते अध्यक्षमा रतन थापासँग ४ मतले पराजित भएका थिए । पार्टीमा लामो समय सम्म योगदान दिएर पनि कुनै अवसर नपाएका कारण उनलाई यस पटक मेयरको सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ ।

कांग्रेसमा वडकै सम्भावना बढी

नेपाली कांग्रेसबाट मेयरका लागि वर्तमान मेयर नृपबहादुर वडको सम्भावना बढी रहेको छ । २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई दुई हजार ७०० मतले पराजित गर्दै नृपबहादुर वड मेयरमा विजयी भएका थिए ।

धनगढीमा मेयर दोहोरिन चाहे उनी नै सबैभन्दा बलियो उम्मेदवार रहेको काँग्रेस नेताहरू बताउँछन् । त्यसका अलवा उपमेयर सुशीला मिश्र भट्ट र नेता कृष्णबहादुर महराको चर्चा छ ।

माओवादीमा अधिकारी र ऐरको चर्चा

नेकपा माओवादी केन्द्रबाट शान्ति अधिकारी र बलबहादुर ऐरलाई मेयरको आकांक्षीका रूपमा चर्चा हुन थालेको छ ।
शान्ति अधिकारी गत स्थानीय निर्वाचनमा माओवादीबाट उपमेयर पदमा चुनाव लडेकी थिइन् । उनी पराजित भएकी थिइन् । यसै गरी ऐर धनगढी–३ का वडा अध्यक्ष हुन् ।

नेकपा एसभित्र रेग्मी र भण्डारीको दौडधुप

नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयर पदमा धनगढी नगर अध्यक्ष मदन रेग्मी र व्यवसायी राजेश भण्डारीको नाम समेत चर्चामा छ । लामो समय नेकपा एमालेमा राजनीति गरेका रेग्मी सामाजिक क्षेत्रमा परिचित व्यक्ति हुन् । उनी नेकपा एमाले निकट युवा संघको केन्द्रीय सचिव समेत भएका थिए ।

अहिले उनी नेकपा एसको नगर अध्यक्ष छन् । केही समय अघि मात्रै एमालेबाट नेकपा एसमा भित्रिएका भण्डारी पनि अहिले आन्तरिक तयारीमा रहेको बुझिएको छ । उनी एमालेमा हुँदा पनि मेयरको आकांक्षीको रूपमा बुझिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर