निर्वाचन आचारसंहिताः पच्चीस हजारभन्दा बढी सहयोग प्राप्त गर्दा बैंकमार्फत गर्नुपर्ने – Nepal Press

निर्वाचन आचारसंहिताः पच्चीस हजारभन्दा बढी सहयोग प्राप्त गर्दा बैंकमार्फत गर्नुपर्ने

काठमाडौं । आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले खर्च गर्दा बैंकमा खाता खोलेर गर्नुपर्ने भएको छ । बिहीबार निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो ।

आचारसंहितको बुदाँ नम्बर १५ मा भनिएको छ, ‘उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने, उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, त्यस बमोजिम तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने ।’

यस्तै राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नुपर्नेछ । जसमा पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्नेछ ।

थप भनिएको छ, ‘व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाई राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानून बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने, आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने ।’

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नु पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर