अझै अँध्यारोमा टाङ्गिया बस्ती, दुई महिनाभित्र बिजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको प्रतिबद्धता – Nepal Press

अझै अँध्यारोमा टाङ्गिया बस्ती, दुई महिनाभित्र बिजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको प्रतिबद्धता

बारा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताएकी छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि त्यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने कारण देखाउँदै टाङ्गिया बस्तीमा विद्युतीकरण हुनसकेको थिएन ।

विमानस्थल बन्ने अवस्थामा स्थानीय बासिन्दासँगै विद्युतीकरणका संरचना सार्ने गरी विद्युतीकरण गर्न लागिएको हो । वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता रहेका जनताले बिजुलीको उज्यालोमा बस्न पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री भुसालको भनाइ छ । नवलपुरको सबस्टेशन उद्घाटका लागि सर्लाही जाँदा मन्त्री भुसाल मङ्गलबार टाङ्गिया बस्तीमा समेत पुगेकी थिईन् । जनताका घरमा चाँडै बिजुलीको उज्याले पुग्ने प्रतिबद्धता व्यक्त गर्दै बिजुलीको उज्यालोमा बस्न पाउनु जनताको मौलिक अधिकार भएको मन्त्री भुसालको भनाइ थियो ।

टाङ्गिया बस्तीमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणले टेन्डर गरीसकेको जानकारी गराउँदै मन्त्री भुसालले यहाँका जनताले अब बढीमा दुई महिनाभित्र राष्ट्रिय प्रशारण लाइनको बिजुली बाल्न पाउने प्रतिबद्धता जनाईन् । आफ्नो अधिकार पाउनका लागि निरन्तर आवाज उठाउन सुझाव दिँदै जनताको आवश्यकतानुसार सबै क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध गराउने उनले बताइन् ।

टाङ्गिया बस्तीका करिब एक हजार ५०० घरधुरीको विद्युतीकरणका लागि रु दुई करोड ६० लाख बजेट विनियोजन गरिएको छ । मन्त्री भुसालले बजेट अपुग भएमा थप रकमको व्यवस्था गरेर भए पनि विद्युतीकरण कार्यक्रम पूरा गर्ने विश्वास दिलाईन् । त्यस अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले बिजुली बाल्नका लागि यहाँका जनता आतुर रहेको थाहा पाएर विद्युतीकरण कार्यलाई तीव्रता दिएको बताए । प्रस्तावित पूर्वाधार नबनेसम्म मानव बस्ती भएको स्थानमा राज्यले न्यूनतम सुविधाबाट नागरिकलाई बञ्चित गराउन हुँदैन, यसका लागि मन्त्रालयको निरन्तरतको प्रयासबाट यस बस्तीमा विद्युतीकरण गर्न सफल हुन लागेको उनको भनाइ थियो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टाङ्गिया बस्तीमा बत्ती पुर्याउन तीन वर्षअघि नै कोसिस गरिएको भए पनि सफल हुन नसकेको स्मरण गर्दै ऊर्जा मन्त्रालयबाट भएको निरन्तरको प्रयास र पहलबाट अहिले विद्युतीकरणका लागि गाँठो फुकेको बताए । १५ दिनको समय दिएर ठेक्का आह्वान गरिसकिएको र कुनै समस्या नआएमा दुई महिनाभित्र बस्तीमा राष्ट्रिय प्रसारण लाइनबाट बत्ती बाल्ने गरी काम भइरहेको उनले बताए ।

विसं २०३१ देखि टाङ्गिया बस्तीमा बस्दै आएभएका ६६ वर्षीय विष्णुबहादर मगरले हालसम्म पनि बिजुली बाल्न नपाएको यथार्थ सुनाउँदै अब छिट्टै आफ्ना घर उज्यालो हुने आशा व्यक्त गरे । यहाँका बासिन्दाले उज्यालोका लागि सोलार प्रयोग गर्दै आएका छन् । सोलारबाट विद्युतीय पङ्खा नचल्ने हुँदा तराईको अत्यधिक गर्मी सहेर यहाँका बासिन्दा बस्न बाध्य छन् । हुस्सु लागेको बेलामा सोलारले काम नगर्ने र हिउँदका तीन–चार महिना टुकी बालेर बस्नुपर्ने बाध्यता रहेको मगरले सुनाउनुभयो । निम्न माध्यमिक विद्यालयमा अध्ययनरत गङ्गा रानामगरले घाम नलागेका बेला सोलारको बत्ती मधुरो हुने भएकाले टुकीकै सहारामा पढ्नपर्ने बाध्यता रहेको सुनाए ।

यस बस्तीमा तामाङ, मगर, दलित र क्षेत्री–बाहुनको बसोबास छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र सुकुम्बासी बस्तीका नाममा यहाँ शिक्षा, खानेपानी, सडक, विद्युत्जस्ता आधारभूत पूर्वाधारको समेत विकास गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर