आइसीसी विश्वकप लिग २: करन र सोमपालको पुनरागमनले आत्मविश्वासी नेपाल – Nepal Press

आइसीसी विश्वकप लिग २: करन र सोमपालको पुनरागमनले आत्मविश्वासी नेपाल

काठमाडौं । आईसिसी टी–२० विश्वकपअन्तर्गत विश्वस्तरको छनोटमा पाएको चोट आलै छँदा नेपालले एकदिवसीय विश्वकपको छनोट यात्रा बुधबार थाल्दै छ । आईसिसी विश्वकप लिग–२ अन्तर्गत तेस्रो त्रिकोणात्मक शृंखलामा नेपालले पहिलो खल पपुआ न्युगिनीसँग खेल्न लागेको हो ।

टी–२० विश्वकपको छनोटमा नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएर बाहिरिएको थियो । नेपाल ब्याटिङमा बारम्बार चुकेको थियो । प्रतियोगिताको पूर्वसन्ध्यामा दुई अनुभवी बलर करन केसी र सोमपाल कामी घाइते हुनु नेपालका लागि दुर्भाग्यपूर्ण रह्यो । यी दुई फास्ट बलरले ब्याटिङतर्फ पनि पटकपटक आफूलाई सावित गरेका छन् । त्यसैले उनीहरुको अनुपस्थिति खड्किएको थियो ।

अनुभवी ब्याट्सम्यानहरु चुकेको बेला सोमपाल र करणले तल्लो क्रममा धेरैपटक योगदान दिएका छन् । उनीहरु एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक छक्का प्रहार गर्ने शीर्ष दुई ब्याट्सम्यान पनि हुन् । करणले ७ र सोमपालले ६ छक्का प्रहार गरेका छन् । बलिङतर्फ करन नेपालका लागि ओडीआइमा दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । उनले १४ खेलमा २१ विकेट लिएका छन् । सोमपालले १२ खेलमा १५ विकेट लिएका छन् ।

नेपाली टोलीमा आशा थपेका अर्का खेलाडी हुन् रोहित पौडेल । उनी माथिल्लो र मध्यक्रम दुवैबाट परिपक्व ब्याटिङ गर्नसक्ने क्षमता राख्छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि तेस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले ११ खेलमा ३ सय ३ रन जोडेका छन् ।

ज्ञानेन्द्र मल्लको नाममा १६ खेलमा सर्वाधिक ४ सय १८ रन रहेको छ । १० खेलमा तीन सय १५ रन बनाएका पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । रोहितले तीनवटा अर्धसतक बनाएका छन् र उनी दोस्रो धेरै ओडीआइ अर्धसतक बनाउने ब्याट्सम्यान हुन् । ज्ञानेन्द्र मल्लको नाममा ४ अर्धसतक रहेको छ ।

रोहितले गत सेप्टेम्बरमा ओमानमा भएको पछिल्लो त्रिकोणात्मक एकदिवसीय शृंखलामा पपुआ न्युगिनीविरुद्ध ८६ र अमेरिकाविरुद्ध ६२ रनको उत्कृष्ट पारी खेलेका थिए । रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ६ छक्का प्रहार गरेका छन् । छोटो समयमै उनले नेपाली टोलीमा बलियो प्रभाव बनाएका छन् ।

लयमा सन्दीप, कुशल र दीपेन्द्र

पछिल्ला प्रतियोगिताहरुमा जस्तै यसपटक पनि नेपाली टोलीले बढी अपेक्षा गरेका खेलाडी हुन् सन्दीप लामिछाने, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी । टी–२० विश्वकपको विश्वस्तरको छनोटका लागि भएको ओमान भ्रमणका बेला दीपेन्द्र लगातार लयमा थिए । उनले भर्खरै श्रीलंकामा भएको अभ्यास खेलमा पनि बेजोड प्रदर्शन गरेका थिए।

प्रारम्भिक ब्याट्सम्यानका रुपमा कुशलले पनि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । उनी टी–२० विश्वकपको विश्वस्तरको छनोटमा नेपालका लागि सर्वाधिक रन जोड्ने ब्याट्सम्यान रहेका थिए । उनले पाँच खेलमा एक सतक र एक अर्धसतकसहित २ सय ५ रन जोडेका थिए ।

कप्तानसमेत रहेका सन्दीपसामु एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गर्ने अवसर छ । उनले १६ खेलमा ४१ विकेट लिएका छन् । सन्दीप नेपाली टोलीका सबै स्वरुपका अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६२ विकेट लिएका छन् ।

सन्दीपले गत सेप्टेम्बरमा भएको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुआ न्युगिनीसँग भएको खेलमा ११ रन खर्चिएर ६ विकेट लिएका थिए । दुई वर्षअघि नेपालमै आयोजित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत अमेरिकासँग भएको खेलमा पनि उनले १६ रन खर्चिएर ६ विकेट हात पारेका थिए ।

सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ६ पटक कम्तिमा ४ विकेट लिएका छन् । यस्तो सफलता करणले तीनपटक हात पारेका छन् । अन्य बलरले एकपटकभन्दा अनुभव गर्न पाएका छैनन् । यतिबेला अनुभवी ब्याट्सम्यानका रुपमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी पनि टोलीमा छन् । टोलीमा पुनरागमन गरेका विनोदले आसिफ शेखको स्थान लिनेछन् वा दुवैलाई खेलाइने छ, त्यो स्पष्ट छैन । तर उनीहरु दुवैको फर्म सन्तोषजनक देखिँदैन।

पारसपछि कसले बनाउला अर्को सतक ?

गत वर्ष नेपालमा आयोजित त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले एकै खेलमा २ सय ३८ रनसम्म जोडेको थियो । त्यतिबेला लगातार तीन खेलमा दुई सयभन्दा बढी रन बनाएको थियो । तर ५० ओभरको क्रिकेटमा भने नेपाली टोलीले विशाल पारी खेल्न सकेको छैन ।

सन् २०१९ को जनवरीमा यूएईविरुद्ध बनाएको २ सय ५५ रन नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उच्च योगफल रहेको छ । त्यतिबेला नेपालले लक्ष्य पूरा गर्दै उक्त रन जोडेको थियो । सन् २०२० को फेब्रुअरीमा नेपालले घरेलु मैदानमा ओमानविरुद्ध पनि २ सय ४९ रनको पाली खेलेको थियो ।

नेपाली टोलीबाट शतकीय पाली खेल्ने ब्याट्सम्यान पारस खड्का मात्र रहेका छन् । उनले सन् २०१९ को जनवरीमा यूएईविरुद्ध एक सय १५ रन जोडेका थिए । आसिफ शेख, कुशल भुर्तेल र रोहित पौडेल सतकनजिक पुगे पनि सफल हुन सकेनन्।

आसिफले गत सेप्टेम्बरमा भएको ओमान भ्रमणका बेला घरेलु टोलीविरुद्ध ९० रन, रोहितले सोही भ्रमणमा पपुआ न्युगिनीविरुद्ध ८६ रन जोडेका थिए । रोहितले पनि त्यतिबेला अमेरिकाविरुद्ध ८४ रन बनाएका थिए । टी–२० र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट दुवैमा सतक बनाउने पारस एक्ला नेपाली ब्याट्सम्यान हुन् । टी–२० अन्तर्राष्ट्रियमा मात्र ज्ञानेन्द्र र कुशलले पनि सतक बनाएका छन् । त्यसैले उनिहरु सामू पारसको सफलता पछ्याउने अवसर रहेको छ ।

यूएई भ्रमण सकिएलगत्तै नेपालले घरेलु मैदानमा पपुआ न्युगिनीसँग दुई खेलको शृंखला र विश्वकप लिग–२ कै अर्को त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएकाले नेपाली टोलीका लागि अबको तीन साता निकै महत्वपूर्ण रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर