भूकम्पबाट क्षति पुगेको त्रिवि केन्द्रीय पुस्तकालय निर्माण सुरू, लागत ३६ करोड ११ लाख (भिडिओ) – Nepal Press

भूकम्पबाट क्षति पुगेको त्रिवि केन्द्रीय पुस्तकालय निर्माण सुरू, लागत ३६ करोड ११ लाख (भिडिओ)

काठमाडौं । २०७२ वैशाख १२ को महाभूकम्पले क्षति पुगेको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण सुरू गरिएको छ । पुस्तकालयको भवन भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको हो ।

केन्द्रीय पुस्तकालयको नयाँ बन्ने आधुनिक भवनको शिक्षामन्त्री एवं सहकूलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरूपमा शिलान्यास गरे ।

नयाँ भवनको कूल अनुमानित लागत ३६ करोड ११ लाख ६६ हजार रहेको छ । उक्त भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सै घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्थाका साथै इ-लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रर्दशनी कक्ष पनि रहने बताइएको छ ।

शिलान्यास कार्यक्रममा शिक्षामन्त्री पौडेलले दक्ष र गुणस्तरीय जनशक्ति निर्माण गरी मुलुकको समृद्धि र विकासको नेतृत्व गर्नुपर्ने बताए । देशको शैक्षिक विकासका लागि शैक्षिक पूर्वाधार निर्माणमा भारत सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आइरहेको पौडेलको भनाइ थियो ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपाल भारत सम्बन्धलाई थप विश्वसनीय, दिगो र मजबुत बनाउन यस सहयोग महत्वपूर्ण रहेको बताए । विश्वविद्यालय परिसरमा रहेको गान्धी भवन, जाकिर हुसेन उद्यान र त्रिवि केन्द्रीय पुस्तकालय निर्माणमा भारतले सहयोग गर्न पाएकोमा दूतावास हर्षित भएको उनले सुनाए ।

पुस्तकालय भवन १५ महिनाभित्र निर्माण सक्ने योजनासहित काम थालिएको त्रिविले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर