एमालेलाई ‘क्लीन स्वीप’ गर्ने उद्घोषसहित अर्घाखाँचीमा गठबन्धनबीच चुनावी तालमेलको घोषणा – Nepal Press

एमालेलाई ‘क्लीन स्वीप’ गर्ने उद्घोषसहित अर्घाखाँचीमा गठबन्धनबीच चुनावी तालमेलको घोषणा

रुपन्देही । अर्घाखाँचीमा तीनै तहका निर्वाचनमा नेकपा एमालेलाई ‘क्लीन स्वीप’ पार्ने दाबीसहित सत्ता साझेदार दलले गठबन्धनको औपचारिक घोषणा गरेका छन् ।

सोमबार सन्धीखर्कमा पत्रकार सम्मेलन गरी गठबन्धनमा आबद्ध दलले वडादेखि केन्द्रसम्मका सबै निर्वाचनमा एक भएर जाने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले भने, ‘प्रतिगमनलाई गठबन्धनले परास्त गरी जनताको सरकार बनेको निष्कर्षका साथ गरी आगामी तीनै तहका निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका छौं ।’

‘लोकतन्त्र, संविधानभन्दा माथि गएर जनतामाथि कुठराघात गरेकोले जिल्लामा अब नेकपा एमालेलाई बहिष्कार गर्ने तरिकाले साझा गठबन्धन बनेको हो,’ श्रेष्ठको टिप्पणी छ ।

नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी अलोकतान्त्रिक गैरसंवैधानिक गतिविधिविरुद्ध विगत लामो समयदेखि आन्दोलन गरेकोले अब आउने सामाजिक राजनीतिक क्षेत्रका जुनसुकै संस्थामा गठबन्धन क्रियाशील रही आसन्न स्थानीय, संघीय, प्रदेशका सबै निर्वाचनसम्म जाने सहमति भएको बताइन् ।

राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसीले मुलुक र देशप्रति आफूहरू प्रतिबद्ध रहेको र जनतामाथि हुने जुनसुकै किसिमका कुठराघातविरुद्ध आसन्न निर्वाचनमा मिलेर निर्वाचनमा जाने निर्णय भएको बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहानले निर्वाचनसम्म गठबन्धन क्रियाशील रहने र जिल्लामा एमालेशून्य बनाउने दाबी गरे । जनता समाजवादी पार्टीका अध्यक्ष जिन्दग खड्काले सहमति कार्यान्वनयमा आफूहरू प्रतिबद्ध रहेको बताए ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले लगातार निर्वाचन जित्दै आएको यो जिल्लामा अहिले एक निर्वाचन क्षेत्र रहेको छ । कांग्रेस सचेतक पुष्पा भुसाल, मानबहादुर विश्वकर्मा, रेवती भुसाल, डाक्टर रामबहादुर विसीलगायतका प्रभावशाली नेताहरू भए पनि रायमाझी एमालेमा लागेपछि गठबन्धनबिना निर्वाचन जित्न नसकिने निष्कर्षमा पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर