‘नाइटमेयर’ जस्तै निसासिने समयलाई पछाडि धकेलिरहेको बार्सिलोना – Nepal Press

‘नाइटमेयर’ जस्तै निसासिने समयलाई पछाडि धकेलिरहेको बार्सिलोना

काठमाडौं । बार्सिलोना र उसका समर्थकहरू गल्तीले पनि ती दिनहरू सम्झने छैनन् । त्यसो त उसको समय अहिले पनि बलियो कहाँ छ र ! तर भनिन्छ नि- रित्तिएपछि गुमाउनु केही हुँदैन ।

बार्सिलोना ‘नाइटमेयर’ जस्तै निसासिने समयभन्दा केही पाइला मात्र अगाडि बढ्दै छ । उसले यो सिजन अब गुमाउन बाँकी केही छैन । च्याम्पियन्स लिगमा समूहगत चरणबाटै बाहिरियो ।

कोपा डेल रेमा अन्तिम १६ बाटै बिदा भयो। स्पेनिस सुपर कपमा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेन । घरेलु लिगको उपाधि नजित्ने लगभग पक्का छ ।

उपाधि जित्न नसक्नुको पीडाले भन्दा बढी पिडादायी खराब प्रदर्शनले बनाउँछ, खराब प्रदर्शनको नतिजाले भविष्यलाई समेत प्रभाव पार्छ । बार्सिलोनाको चिन्ता पनि त्यही थियो ।

त्यसैले पछिल्लो अपराजित यात्राले बार्सिलोनालाई माथि उठ्ने साहस पक्कै दिइरहेको छ । बार्सिलोनाले १० खेलयता हार ब्यहोरेको छैन । यसबीचमा ७ जित र ३ बराबरीको नतिजा निकालेको छ ।

मेस्सीको बहिर्गमन र खराब सुरूआत

लियोनल मेस्सीका आलोचकहरूको टिप्पणी थियो, उनी बार्सिलोनाभन्दा बाहिर त्यसरी खेल्न सक्दैनन् जसरी स्पेनिस क्लबबाट खेलिरहेका थिए ।
मेस्सीका समर्थकहरू पनि भन्थे- यी अर्जेन्टिनी बाहिरिएपछि बार्सिलोनाले त्यसरी खेल्न सक्ने र नतिजा निकाल्न सक्ने छैन जसरी उनी हुँदा सक्थ्यो ।

यसै सिजनको सुरूआतमा मेस्सीले बार्सिलोना छाडेपछि यी दुवैलाई चुनौती बढेको थियो- एक अर्कासँग नजोडिकन आफुलाई प्रमाणित गर्ने । त्यसअघि दुवैले १७ वर्षको साथलाई स्वर्णिम बनाएका थिए ।

बार्सिलोनाले चार च्याम्पियन्स लिग र १० घरेलु लिग उपाधिसहित थुप्रै उपाधि जितेको थियो। मेस्सी पनि ७ पटक बेलोन डीअर जित्न सफल भएका थिए । ६ पटक फिफा वर्ष खेलाडी अवार्ड हात पारेका थिए ।

मेस्सी र बार्सिलोना दुवैका लागि यो सिजनको सुरूआत खराब रह्यो। मेस्सी सामान्य खेलाडीजस्ता देखिए । बार्सिलोना पनि रेलिगेसनमा पनि नपर्ने र उपाधि पनि जित्न नसक्ने मध्यम क्लबको छविमा देखिएको थियो ।

कुन टोलीसँग कस्तो नतिजा निकाल्छ, अनुमान नै गर्न नसकिने ! अवस्था यस्तो आयो की, विश्लेषकहरुले लेख्न सुरू गरिसकेका थिए- बार्सिलोनाले आगामी सिजन युरोपियन च्याम्पियन्स लिगमा स्थान बनाउन निकै गाह्रो छ ।

च्याम्पियन्स लिगमा स्थान बनाउन लिगको शीर्ष चार स्थानमा रहनुपर्थ्यो । नवौँ स्थानमा रहेकाले त्यस किसिमका टिप्पणीहरू अस्वाभाविक थिएनन् । पछिल्ला ६ खेलमा चौथोपटक पराजित भएपछि बार्सिलोना प्रशिक्षक रोनाल्डो कोयम्यानलाई हटाउने निर्णयमा पुग्यो । च्याम्पियन्स लिगमा छनोट हुन नसक्दा क्लबको भविष्यमा पर्न सक्ने असरहरुलाई बार्सिलोनाले राम्रोसँग बुझेको थियो ।

कोम्यानलाई हटाउन जति सजिलो थियो, त्यत्ति नै गाह्रो बार्सिलोनालाई उद्धार गर्न सक्ने नयाँ प्रशिक्षकको पहिचान गर्न । बार्साको नजर पुग्यो आफ्नै एकेडेमीका उत्पादन जाभीमाथी जो कतारी क्लबलाई प्रशिक्षण गर्दै थिए ।

बार्सिलोनाका महान् खेलाडीमध्येमा हैसियत बनाएका जाभी आफैंले पनि आफ्नो पूर्वक्लबलाई प्रशिक्षण गर्न इच्छा व्यक्त गरिरहेका थिए । दुई वर्षअघि मेस्सी आफैं पनि जाभीलाई प्रशिक्षक मान्न इच्छुक देखिन्थे । तर, जाभील‍े त्यतिबेला उत्तम समय ठानेनन् । यसपटक बार्सिलोनाको प्रस्ताव स्वीकार गर्दै चुनौती सामना गर्न तयार देखिए । सुरूआतमा जाभीले बार्सामा त्यस्तो कुनै जादु देखाउन सकेनन् । बरु खराब नतिजाका शिकार भए । बार्सिलोना फितलो प्रदर्शनपछि च्याम्पियन्स लिगको समूहगत चरणबाटै बाहिरियो ।

झन्डै दुई दशकमा पहिलोपटक नकआउट चरण पुग्न सकेन । स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल म्याड्रिडसँग पराजित भयो । कोपा डेल रेको अन्तिम-१६ मा एथलेटिको बिल्वाओले निराश बनायो । बार्सासामु दुई वटा प्रतियोगिता बाँकी थिए- युरोपा लिग र ला लिगा । युरोपा लिग बार्साको रोजाइको प्रतियोगिता नै होइन । उसलाई थाहा छ- यो जित्नु र हार्नुले उसको क्षमताको मुल्यांकन गर्नु व्यर्थ छ ।

बरु ला लिगामा अगाडि सर्दै शीर्ष-४ भित्र स्थान बनाउनु सक्नु उसको सफलता मानिनेवाला थियो । यतिबेला बार्सिलोना त्यही गरिरहेको छ । २७ खेलमा ५१ अंक जोडेको बार्सिलोना घरेलु लिगको अंक तालिकामा तेस्रो स्थानमा छ यतिबेला । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २७ खेलबाट ६३ अंक छ । दोस्रोमा रहेको सेभिलको २८ खेलबाट ५६ अंक छ । एट्लेटिको म्याड्रिडले २८ खेलबाट ५१ अंक जोडेको छ ।

भर्खरै बार्सिलोना भित्रिएका फेरान टोरेस र पायर एमरिक औबामेयाङल उच्च लयमा देखिएका छन् । यस्तो लाग्दै छ- बार्सिलोना नयाँ सुरूआतका लागि ‘सेट’ हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर