नेपाल प्रेसकर्मी भुलसहित चारजनालाई ‘युवा पत्रकारिता पुरस्कार’, १२ जना राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित (भिडियाे) – Nepal Press

नेपाल प्रेसकर्मी भुलसहित चारजनालाई ‘युवा पत्रकारिता पुरस्कार’, १२ जना राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित (भिडियाे)

काठमाडौं । नेपाल प्रेसका वरिष्ठ सम्वाददाता केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आइतबार मन्त्रालयका आयोजित एक कार्यक्रमकाबीच उनलाई पुरस्कार प्रदान गरेको हो ।

भुल पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कारका लागि छनौट भएका थिए । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले भुल सहित चार जना पत्रकारलाई आर्थिक वर्ष २०७८/७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुनेमा अन्य पत्रकारमा पुर्ण बहादुर खड्का, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन् । उनीहरु सबै जनालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन् ।

युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेको छ । २०७५ सालदेखि युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउदैँ आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ । यस पटक पुरस्कार प्राप्त गर्नका लागि गत पुष १४ गते सूचना प्रकाशित गरेको थियो ।

यस्तै मन्त्रालयले १२ जना युवालाई राष्ट्रिय युवा प्रतिभाबाट सम्मान गरेको छ । जसमा विरेन्द्रनगर १२ सुर्खेतका हिमकुमारी उपाध्याय, बारपाक सुलिकोट ६ गोरखाका धिर्जबहादुर उपरकोटी, नरहरीनाथ एक कालिकाकोटका मंगल बहादुर विष्ट, भरतपुर १३ चितवनका सन्तोष वोटे, सुन्दरबहजार ६ लमजुङका कुसुम केसी रहेका छन् ।

यस्तै बकैया ४ मकवानपुरका सुमित्रा घिमिरे, देवचुली १६ नवलपरासी बर्दघाट सुस्ता पूर्वका राजन गौतम, विरेन्द्रनगर १ सुर्खेतका राज कुमारी पौडेल, शिवपुरी ४ नुवाकोटका राजाराम गुरुङ, रत्ननगर १५ चितवनका अशोक शर्मा र मालारानी ८ अर्घाखाँचीका खिम प्रसाद पन्थी रहेका छन् ।

संस्थातर्फ भने भानु १२ तनहुँको मिर्लुङ बहुउद्देशीय कृषि फर्म प्रालीे सम्मान प्राप्त गरेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मानको राशी भने एक लाख रुपैयाँ रहेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मान पनि युवा तथा खेलकुदमन्त्री गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले नै दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले सम्मानित व्यक्तित्वको समाज र देशप्रतिको दायित्व बढेको बताए । राज्यले गरेको सम्मानलाई बचाइराख्ने चुनौती थपिएको भन्दै उनले आगामी दिनमा थप युवाको पक्षमा उदाहरणीय काम सञ्चारकर्मीबाट हुनेमा विश्वास व्यक्त गरे ।

पुरस्कृत सञ्चारकर्मी केशव भुलले मन्त्रालयले दिएको सम्मानबाट आफुहरुलाई थप हौसला मिलेको बताए । उनले युवाको क्षेत्रमा अझै धेरै लेख्नका लागि चुनौती थपिएको पनि बताए । मन्त्रालयले सम्मानका लागि सही व्यक्ति छानेको आभाष दिलाउने गरी आगामी दिनमा पनि युवाको क्षेत्रमा कलम चलाइरहने भुले प्रतिवद्धता जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *