रोनाल्डोको ८ सय ७ गोललाई फिफाले किन विश्व कीर्तिमान भनेन ? – Nepal Press

रोनाल्डोको ८ सय ७ गोललाई फिफाले किन विश्व कीर्तिमान भनेन ?

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहामलाई ३-२ गोलले हरायो ।

म्यानचेस्टर सिटीसँग ४- १ गोलले पराजित भएलगत्तै म्यान युनाइटेडले बलियो टोलीमाथी प्राप्त गरेको यो जितको चर्चा जति भयो, त्यसभन्दा बढी चर्चा उक्त खेलमा तीनवटै गोल गरेका क्रिस्टियानो रोनाल्डोको भइरहेको छ । त्यसको धेरै कारण छन् ।

रोनाल्डोले सन् २००८ पछि पहिलोपटक म्यानचेस्टर युनाइटेडका लागि ह्याट्रिक गरेका हुन् । सन् २००९ मा म्यान युनाइटेड छाडेर स्पेनिस क्लब रियल म्याड्रिड पुगेका रोनाल्डो यसै सिजन मात्र इङ्लिस क्लबमा फेरी फर्किएका हुन् । उनी यो सिजन घरेलु लिगमा १२ गोल गर्दै म्यान युनाइटेडका सर्वाधिक गोलकर्ता रहेका छन् ।

दोस्रो, रोनाल्डो इङ्लिस प्रिमियर लिगमा ह्याट्रिक गर्ने दोस्रो सर्वाधिक पाका खेलाडी बनेका छन् । ३७ वर्षका रोनाल्डोको क्लब करियरमा यो ४९ औँ ह्याट्रिक हो ।

तेस्रो, क्लब तथा राष्ट्रिय टोलीका लागि उनको गोल संख्या ८ सय ७ गोल पुगेको छ । उनले क्लबका लागि ६ सय ९२ र सिनियर राष्ट्रिय टोलीका लागि एक सय १५ गोल गरेका छन् ।

केही अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले रोनाल्डोले विश्व फुटबल महासंघ- फिफाद्धारा मान्यताप्राप्त खेल-क्लब र सिनियर राष्ट्रिय टोलीमा सर्वकालिन सर्वाधिक गोलकर्ता बनेको उल्लेख गरेका छन् । उनले चेक गणतन्त्रका जोसेफ बिकानको नाममा रहेको ८ सय ५ गोलको कीर्तमान तोडेको लेखेका छन् ।

फिफा आफै भने यो विषयमा मौन छ । रोनाल्डोको पछिल्लो ह्याट्रिकपछि ट्वीटरमा फिफाले उनको फोटो पोष्ट गर्दै ३७ वर्ष, क्लब करियरको ४९ औँ ह्याट्रिक मात्र लेखेको छ। फिफाले एक प्रंसगमा बिकानले करिब ८ सय ५ गोल गरेको उल्लेख गरेको थियो ।

तर त्यसलाई विश्व कीर्तिमान भनेर चर्चा गरेको थियो । बिकानको सन् २००१ मा मृत्यु भएको थियो । चेक गणतन्त्रले बिकानले ८ सय २१ गोल गरेको दावी गर्दै आएको छ ।

विश्व फुटबलको तथ्यांक राख्ने गरेको आरएसएसएफले केही पहिलासम्म बिकानले ८ सय ५ गोल गरेको बताएको भएपनि पछिल्ला दिनहरुमा ९ सय ५० भन्दा बढी गोलको आँकडा देखाउँदै आएको छ ।

९ सय भन्दा बढी गोल गर्नेहरु धेरै रहेको बताइन्छ । ब्राजिलका पेले र रोमारियो तथा हंगेरीका फेरेन्क पुस्कासको पनि उनिहरुको नाममा रहँदै आएको भन्दा बढी गोल रहेकोमा विवाद रहँदै आएको छ ।

उनीहरुको गोल संख्या सात सयदेखि ८ सयको बीचमा रहेको छ । सिनियर राष्ट्रिय टोलीबाट खेलेका खेलहरुको तथ्यांक राख्न सजिलो र भेट्न पनि सजिलो हुने गरेपनि केही पहिलासम्म क्लब फुटबलका तथ्यांकहरु राख्न थिएन । यहि कारण सिनियर राष्ट्रिय टोलीबाट भएका गोल संख्यामा कुनै विवाद छैन ।

तर क्लबका गोल संख्यामा भने विवाद रहँदै आएको छ । समकालिन खेलाडीमा रोनाल्डोभन्दा पछाडि सर्वाधिक गोल गर्ने खेलाडीमा लियोनल मेस्सी रहेका छन् । उनले क्लब र सिनियर राष्ट्रिय टोलीका लागि ७ सय ५९ गोल गरेका छन् । शनिबार राती टोट्टनहामलाई पराजित गरेपछि रोनाल्डोले ह्याट्रिकप्रति खुसि व्यक्त गरेका छन् ।

उनले त्यस्तो कुनै कीर्तिमानबारे केही उल्लेख गरेका छैनन् । ‘ओल्ड ट्राफोर्ड फर्किएयता पहिलो ह्याट्रिक गर्न सकेकामा निकै खुसी छुु, रोनाल्डोले भनेका छन्, ‘मैदानमा फर्किएर गोल गर्नु र टोलीलाई जिताउनुको अनुभवभन्दा ठुलो चिज केही छैन ।’ म्यानचेस्टर सिटीविरुद्ध गत साता भएको खेलमा रोनाल्डो चोटका कारण मैदानबाहिर थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर