आँपको रुखका पात ढाक्नेगरी मन्जरी लागेपछि मधेसका किसान दंग – Nepal Press

आँपको रुखका पात ढाक्नेगरी मन्जरी लागेपछि मधेसका किसान दंग

जनकपुरधाम । मधेसका जिल्लाहरुमा यसवर्ष आँपको उत्पादन बढ्ने देखिएको छ । आँपको बोटमा लागेको मन्जरी (फूल) देखेर किसानहरु गद्गद् भएका छन् ।

आँप खेतीका लागि धनुषा, सिरहा, सप्तरी लगायत मधेसका जिल्ला प्रख्यात छन् । आँप एकवर्ष विराएर फल्ने गर्छ । गतवर्ष कम फलेको थियो । तर यसवर्ष रुखको पात ढाक्नेगरी मन्जरी लागेपछि आँप उत्पादन बढ्ने किसानहरुको अनुमान छ ।

‘आँपको रुखमा पात कतै पनि देखिँदैन’, कमला नगरपालिका ४, धनुषाका महेश मण्डल भन्छन्, ‘आँपको बोट मन्जरीले ढाँकेको छ । यस वर्ष किरा लागेन भने आँपको उत्पादन निकै बढ्छ ।’

यसवर्ष मन्जरी लाग्नुअघि वर्षा भएका कारण किरा नलाग्ने उनको विश्वास छ ।

मन्जरीमा मधुवा किरा लाग्ने गर्छ । ‘कुनै कुनै वर्ष त किराले फल दिनु अगाडी नै मन्जरी सखाप पार्छ’, उनले भने, ‘तर यसवर्ष अहिलेसम्म त किरा लागेको छैन । भोली के हुन्छ भन्न सकिदैन ।’

उनका अनुसार किरा लाग्न नदिन अहिलेदेखि नै किसानहरुले औषधी छर्किन सुरु गरिसकेका छन् । उनी मुस्कुराउँदै भने– मन्जरी सप्रियो भने त हाँगाहरुले आँपको भार थाम्न सक्दैन । आधा मन्जरी खसेर आधामा मात्र फल लाग्यो भने मधेसका किसानहरु मालामाल हुन्छन् ।

धनुषामा करिब २५ सय हेक्टर क्षेत्रफलमा आँप खेती हुने गर्छ । आँप खेतीका लागि राजधानी भनेर चिनिने सिरहा र सप्तरीमा त झन बढी क्षेत्रफलमा किसानहरुले आँप लगाएका छन् ।

सिरहा र सप्तरीका उत्तरी क्षेत्रका हजारौं किसान व्यावसायीक रुपमा आँप खेती गर्छन् । त्यहाँ झन बढी आँप उत्पादन हुने गरेको कृषि अधिकारीहरु बताउँछन् ।

हावाहुरीले पनि आँपको मन्जरीमा क्षति पुर्याउछ । यसवर्ष अहिलेसम्म ठूलो हावाहुरी चलेकै छैन । अगामी वैशाख, जेठभित्र मन्जरीमा फल लागिसक्छ । त्यतिबेला हावाहुरीले केहि क्षति पुर्याए पनि यसवर्ष अन्य वर्षको तुलनामा बढी उत्पादन हुने शहिदनगरका सहदेव यादवले विश्वास व्यक्त गरे ।

सिरहा, धनुषा, महोत्तरी लगायत मधेसका जिल्लाबाट आँप अन्य ठूला शहरमा निर्यात हुने गर्छ । सबैभन्दा बढी राजधानी काठमाडाँै र भारतको विहार जाने गर्छ भने विराटनगर, पोखरा, वीरगन्ज, बुटवललगायत देशको अन्य सहरमा यहाँको आँप पुग्ने गरेको किसान यादवको भनाई छ ।

नयाँ जातका आँपमध्ये यस क्षेत्रको माटोमा उत्पादन हुने दसहरी, सपेता र मालदह आँपको राम्रो स्वाद भएको, धेरै उत्पादन दिने र पाकेको फल धेरै समयसम्म नकुहिने गुण भएकाले यी जातका आँप विदेश समेत निर्यात हुने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *