बैंकिङ कसुरको आरोपमा एक पक्राउ – Nepal Press

बैंकिङ कसुरको आरोपमा एक पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौंको काँडाघारीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्यूरोले जनाएको छ ।

पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय दाङमा गेहेन्द्रबहादुर बस्नेतको जाहेरी परेको थियो ।

उक्त मुद्दामा अनुसन्धानका लागि उच्च अदालत तुलसीपुरबाट यही फागुन २५ मा पक्राउ पूर्जी जारी भएकामा खोजतलासका क्रममा आज उनलाई काठमाडौं महानगरपालिका–३२ काँडाघारीबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

इञ्जिनीयरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालीबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले सानिमा बैंकको आफ्नो खातामा रकम नभएको जानीजानी जाहेरवाला बस्नेतको सवारी साधन प्रयोग गरी भाडाबापतको रकममध्ये रु एक करोड आठ लाख ५७ हजारको चेक दिएका थिए ।

उक्त चेक नसाटिएपछि बैंकिङ कसुर गरेको आरोपमा प्रहरीमा परेको जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले बस्नेतलाई भाडाबापत रु एक करोड ४४ लाख १७ हजार दिनुपर्ने जाहेरीमा उल्लेख छ ।

पाण्डेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाउने ब्युरोद्वारा आज जारी सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर