तिलप्रसाद सर्वोच्चको न्यायाधीशमा सिफारिस, मुख्य रजिष्टारमाथि कामु प्रधान न्यायाधीशको प्रतिशोध – Nepal Press

तिलप्रसाद सर्वोच्चको न्यायाधीशमा सिफारिस, मुख्य रजिष्टारमाथि कामु प्रधान न्यायाधीशको प्रतिशोध

काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ । कामु प्रधान न्यायाधीश दिपक कुमार कार्कीले न्यायपरिषद बैठक राखेर श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेका हुन् ।

त्यस्तै आफ्नो नेतृत्वको हड्तालका बेला सहयोग नगरेको भनेर प्रतिशोध लिएका कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाएर सर्वोच्च प्रशासनबाट धपाएका छन् ।

यसअघि मुख्य रजिष्टार उच्च अदालतको मुख्य न्यायाधीश हुने गरेकोमा कार्कीले कुँवरमाथि प्रतिशोध लिएको सर्वोच्चका उच्च अधिकारीहरुले बताएका छन् ।

यसअघिका मुख्य रजिष्टार नहकुल सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश भइसकेका छन् भने नृपध्वज निरौला पनि मुख्य रजिष्टारबाट हाल पाटन उच्च अदालतको मुख्य न्यायाधीश छन् । तर कुँवरमाथि भने कामु प्रधान न्यायाधीश कार्कीले प्रतिशोध लिएर उच्च अदालतको न्यायाधीश बनाएर पठाएका हुन् ।

अदालतमा हड्तालको बेला आफ्नो पक्षमा नलागेका तथा दुवैतिर नलागी तटस्थ बसेका कर्मचारीलाई कामु प्रधान न्यायाधीश कार्कीले कारवाहीको निशाना बनाएका छन् ।

न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौलालाई काज फिर्ता गरेर दिपायल पठाउने निर्णय गरेको छ ।
यसैबीच कामु प्रधान न्यायाधीश कार्कीले भने न्यायाधीश नभएका व्यक्तिलाई मुख्य न्यायाधीश नबनाउने आफ्नो पूरानै अडानमा कायम रहेर कुँवरलाई न्यायाधीश बनाउन बैठकमा प्रस्ताव गरेको एक सदस्यले बताए । उनले निरौलालाई मुख्य न्यायाधीश नियुक्त गर्दा पनि नोट अफ डिसेन्ट लेखेका थिए ।


प्रतिक्रिया

2 thoughts on “तिलप्रसाद सर्वोच्चको न्यायाधीशमा सिफारिस, मुख्य रजिष्टारमाथि कामु प्रधान न्यायाधीशको प्रतिशोध

  1. गठबन्धनकाे आदेशपालक । महाअभियाेग शुरू गराैं ।

  2. एक्दम राम्रो काम भयो | निरौलाला र लालबहादुर कुँवरलाई कार्बही गर्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *